सामुदायिक वनमा जंगली जनावरको रजगज

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी ।  म्याग्दीमा वन फँडानी रोकिएपछि सामुदायिक वन र खोरियाहरु घना जंगल बन्दै जाँदा जंगली जनावरहरुको रजगज बढ्दै गएको छ । समुदायको जिम्मामा रहेका सामुदायिक वनमा काठ, दाउरा, घाँस र स्याउला फडाँनी रोकिएपछि म्याग्दीका सामुदायिक वन हराभरा भएका छन् ।

वन क्षेत्र हराभरा र घना बन्दै गएपछि जंगली जनावरहरुको वृद्धि भएको र पछिल्लो समय ती जंगली जनावरहरु गाउँ वस्तीमा नै प्रवेश गर्न थालेका म्याग्दीको मालिका गाउँपालिका १ निस्कोटका टकबहादुर विकले बताउनुभयो । म्याग्दीको रुम,निस्कोट,ओखरबोट, देविस्थान, बगरफाँट सामुदायिक वन, गौश्वारा सामुदायिक वन, भकिम्ली, अर्मन, बरङ्जालगायत ७३ वटा सामुदायिक वन अहिले घना जंगलमा परिणत भैसकेका जिल्ला वन डिभिजन कार्यालय म्याग्दीले जनाएको छ ।

वन घना बन्दै गएपछि अहिले ती जंगलहरुमा जंगली जनावरहरुको बृद्धि भएको र जंगली जनावरहरु गाउँवस्तीमा नै प्रवेश गरेर खेतीपाती नष्ट गर्नुका साथै मानिसहरुलाई दुःख दिन थालेका स्थानीयले बताएका छन् ।

२०५१ सालदेखि सुरु भएको सामुदायिक वनको अवधारणा अनुरुप समुदायस्तरबाट वनको संरक्षण थालिएपछि वनजङ्गलमा वृद्धि हुनुका साथै ग्रामीण रोजगारी र विपन्न समुदायको उत्थानमा सामुदायिक वन उपभोक्ता समूहहरूले महत्वपूर्ण योगदान गर्दै आएको सामुदायिक वन उपभोक्ता महासङघ म्याग्दीले जनाएको छ । डेढ दशक अघिसम्म नाङ्गा डाँडा, खोला बगर, सार्वजनिक जग्गा अहिले बाक्लो वनका रुपमा परिणत भएको मालिका गाउँपालिका ६ का तीर्थ बहादुर सिउथानीले बताउनुभयो ।

‘पहिले गाईवस्तु चराउने रित्ता पाखा अहिले घना जंगलमा परिणत भएका छन्’ सिउथानीले भन्नुभया, ‘पहिला पहिला सबै वनमा नै निर्भर रहन्थे, घाँस, दाउरा, स्याउला, काठ सबै वनबाट नै ल्याउनुपर्ने हुन्थ्यो, त्यसैले पहिला पातलिएको वन अहिले गाउँलेले फँडानी रोकेपछि मौलाएको हो ।’

वन जंगलमा अहिले कुकाठ मात्रै होइन सुकाठ (दार र फर्निचरका लागि काम लाग्ने काठ) पनि कसैले काट्न नचाहने भएकोले जंगली क्षेत्र विस्तार भएको निस्कोट सामुदायिक वन उपभोक्ता समितिका सदस्य रणवहादुर विकले बताउनुभयो ।

‘पहिला पहिला रातारात फँडानी हुने वन अहिले हराभरा भएको छ । वनभित्र जङ्गली जनावरको रजगज छ । मानिस वनमा पस्नै डराउने गरेका छन्’ विकले भन्नुभया, ‘सामुदायिक वनले चरिचरनमा रोक लगाएका छन् । चरिचरन रोकिनुका साथै घाँस दाउरा गर्न गाउँले जङ्गल पस्न छोडेपछि प्राकृतिक रुपमा नै वन जङ्गल हराभरा हुन थालेका हुन् ।’

सामुदायिक वन उपभोक्ता महासङ्घ म्याग्दीका अनुसार जिल्लाका ३५० बढी सामुदायिक वनको अवस्था अहिले सुधार हुँदै गएको छ । सामुदायिक वनको आम्दानीले सामाजिक उत्तरदायित्वमा महत्वपूर्ण भूमिका खेल्दै आएको जिल्ला वन डिभिजन कार्यालय म्याग्दीका चन्द्रमणि सापकोटाले बताउनुभयो ।

‘समुदायमा हस्तान्तरण भएपछि सामुदायिक वनहरू समृद्धिको आधारका रूपमा अघि बढिरहेका छन्,’ उहाँले भन्नुभयो ‘समुदायले संरक्षण गर्न थालेपछि वन क्षेत्र वृद्धि भएको छ, वातावरणीय सन्तुलन गर्न योगदान गरेको छ, गरिबी निवारण, आयआर्जन, नेतृत्व तथा क्षमता विकास, सामाजिक विकास, समावेशी संरचनाजस्ता नमुना कार्यले सामुदायिक वन क्षेत्र समृद्धिको बलियो आधारका रूपमा स्थापित भइरहेका छन् ।’

जिल्लामा रहेका सामुदायिक वन उपभोक्ता समूहले वनको नजिक र टाढा रहेका सबै उपभोक्तालाई समेट्दै प्राकृतिक स्रोतको समुचित उपयोगमा जोड दिंदै आएको महासङ्घले जनाएको छ । महासङ्घ तथा उपभोक्ता समूहको निर्णायक पदमा महिला, गरिब, विपन्न, आदिवासी जनजाति, अल्पसङ्ख्यक समुदायलाई ५० प्रतिशत सहभागिता सुनिश्चित गरी नेतृत्वमा ल्याउने काम सामुदायिक वनको उत्कृष्ट र सफल अभ्यास रहेको सामुदायिक वन उपभोक्तामहासंघ म्याग्दीका भूतपूर्व अध्यक्ष देववहादुर घलेले बताउनुभयो ।

सामुदायिक वन ग्रामीण महिला तथा विपन्न समुदायका लागि आयआर्जनको माध्यम बनिरहेको छ । वनमा आधारित जडिबुटी तथा वनपैदावर विपन्न समुदायको आम्दानीको प्रमुख स्रोत बनेको छ । जिल्लाका अधिकांश सामुदायिक वनमा जडिबुटी र घाँस खेती हुने गरेकाले विशेषगरी महिलाहरूलाई आत्मनिर्भर बनाउन सहज भएको भूतपूर्व अध्यक्ष घलेको भनाइरहेको छ ।

हालसम्म सरकारले सातवटै प्रदेशमा २२ हजार दुई सय २२ वन समूहलाई हस्तान्तरण गरिसकेको छ । देशका कूल सामुदायिक वन समूहमध्ये लगभग ३० प्रतिशत आर्थिक रुपमा कमजोर छन् । कूल वन क्षेत्रको १७ प्रतिशत संरक्षण क्षेत्र बनाउने अन्तर्राष्ट्रिय अभ्यास रहे पनि नेपालमा करिब ४० प्रतिशत वन संरक्षण क्षेत्रको रुपमा छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?