
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को प्रथम चार महिना अर्थात् साउनदेखि कात्तिकसम्म नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.२ प्रतिशतले घटेर छ खर्ब ५३ अर्ब सात करोडमा सीमित हुन पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ९.० प्रतिशत र ९१.० प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी ७.७ प्रतिशतले घटेर ५० अर्ब ५७ करोड तथा कुल पैठारी ३.८ प्रतिशतले घटेर पाँच खर्ब १२ अर्ब ५० करोडमा सीमित भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकमा उल्लेख छ ।
केन्द्रका अनुसार २०७९/०८० को प्रथम चार महिनाको अवधिमा निकासी-पैठारीे अनुपात १ः९.७ रहेकोमा २०८०/०८१ को सोही अवधिमा यस्तो अनुपात १ः१०.१ रहेको छ । सो अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुमा फलाम तथा फलामजन्य उत्पादन, यार्न, ऊनी गलैंचा, तयारी पोशाक, जुस, अलैंची, प्लाइउड, जुट तथा जुटका सामान, ऊनी फेल्टका उत्पादन, पामतेल, चिया, पश्मिना सल, कुकुर बिरालाका आहारा, पिना, जडीबुटी, कपडा, चाउचाउ, सिमेन्ट क्लिंकर र तामा तथा तामाका उत्पादन प्रमुखरूपमा रहेका छन् ।
समीक्षा अवधिमा फलाम तथा फलामजन्य उत्पादनको निर्यातमा ९३.६ प्रतिशतले बढेर पाँच अर्ब ७० करोड पुगेको छ भने यार्न निर्यात ३.५ प्रतिशतले घटेर तीन अर्ब ८४ करोडमा सीमित भएको छ । ऊनी गलैंचा निर्यात पनि ५.८ प्रतिशतले घटेर तीन अर्ब ७० करोडमा झरेको छ ।
तयारी पोशाक निर्यात भने १२.० प्रतिशतले बढेर तीन अर्ब २२ करोड पुगेको छ । जुट तथा जुटजन्य उत्पादनको निर्यात ४.६ प्रतिशतले घटेर दुर्ई अर्ब ५१ करोडमा सीमित भएको छ भने अर्को प्रमुख निर्यातजन्य ऊनी फेल्ट निर्यात पनि ५.५ प्रतिशतले घटेर एक अर्ब ७९ करोडमा सीमित भएको छ । सो अवधिमा जुस निर्यात भने ४५.३ प्रतिशत बढेर दुई अर्ब ८५ करोड पुगेको छ । तर, पामतेल निर्यात ८१.२ प्रतिशतले घटेर एक अर्ब ८८ करोडमा सीमित भएको छ ।
चार महिनामा तयारी पोशाक आयात ५० प्रतिशतले बढेर १५ अर्ब ४९ करोड पुगेको छ भने खाद्यान्न आयात पनि ११.२ प्रतिशतले बढेर १३ अर्ब १६ करोड पुगेको छ ।
कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैंचीको निर्यात भने ९.९ प्रतिशतले बढेर दुई अर्ब १५ करोड पुगेको छ भने कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अर्को उत्पादन चियाको निर्यात १६.३ प्रतिशतले घटेर एक अर्ब ४९ करोडमा सीमित भएको छ । अदुवा निर्यात भने ८९.९ प्रतिशतले बढेर ५७ करोड पुगेको छ । नेपालको निर्यात व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यातमा १४.५ प्रतिशतले घटेर ३३ अर्बमा झरेको छ । नेपालको कुल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ७०.५ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष ६५.३ प्रतिशतमा झरेको हो । नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका अन्य मुलुकमा अमेरिका, जर्मनी, युके, युएई, चीन, फ्रान्स, अष्ट्रेलिया, जापान, इटाली, क्यानडा, डेनमार्क, टर्की र नेदरल्याण्ड्स प्रमुखरूपमा रहेका छन् ।
आयाततर्फ अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थ आयात ९.५ प्रतिशतले घटेर ८८ अर्ब ९८ करोडमा झरेको छ भने फलाम तथा स्टिल र तिनका उत्पादन आयात पनि ७.६ प्रतिशतले घटेर ४४ अर्ब ४३ करोडमा झरेको छ । मेसिनरी तथा पार्ट्स आयात पनि ७.६ प्रतिशतले घटेर ३२ अर्ब नौ करोडमा सीमित भएको छ । कच्चा भटमास तेल आयात ६८.५ प्रतिशतले घटेर अर्ब ७६ करोडमा झरेको छ ।
औषधि आयात पनि २०.८ प्रतिशतले घटेर १२ अर्ब ८७ करोडमा झरेको छ भने इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री आयात भने ५.३ प्रतिशतले बढेर २१ अर्ब ९८ करोड पुगेको छ । यातायातका साधन र तिनका पार्टपुर्जा आयात २३.० प्रतिशतले बढेर २३ अर्ब ८१ करोड पुगेको छ भने कच्चा पामतेल आयात ६४.८ प्रतिशतले घटेर चार अर्ब ५२ करोडमा सीमित भएको छ । खाद्यान्न आयात भने ११.२ प्रतिशतले बढेर १३ अर्ब १६ करोड पुगेको छ । समीक्षा अवधिमा तयारी पोशाक आयात पनि ५०.० प्रतिशतले बढेर १५ अर्ब ४९ करोड पुगेको छ । दूरसञ्चार सामग्री आयात पनि ०.६ प्रतिशतले बढेर १४ अर्ब २४ करोड पुगेको छ भने सुन आयात ५५.० प्रतिशतले घटेर ८ अर्ब ९० करोडमा झरेको छ ।
चालु आर्थिक वर्ष २०८०/०८१ प्रथम चार महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापारघाटा ३.३ प्रतिशतले घटेर चार खर्ब ६१ अर्ब ९३ करोडमा झरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच