म्याग्दीकाे घोडेपानी र पुनहिलमा चार महिनामा १२ हजार बढी विदेशी पर्यटक

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । राउण्ड अन्नपूर्णको प्रमुख पर्यटकीय स्थल मानिएको म्याग्दीको घोडेपानी र पुनहिलमा पछिल्ला चार महिनामा १२ हजार भन्दा बढी विदेशी पर्यटकहरु आएका छन् ।

गत साउनदेखि मंसिरको पहिलो सातासम्म घोडेपानी र पुनहिल क्षेत्रमा १२ हजार ३ सय ६१ जना विदेशी पर्यटकहरुले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय घोडेपानीले जनाएको छ ।

घोडेपानी अन्नपूर्ण चक्रिय पदमार्गमा आउने पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ । साउन महिनामा ९७६ जना, भदौमा ९९३ जना, असोजमा ३ हजार १११ जना, कात्तिकमा ५ हजार ७७९ जना र मंसिर १० गतेसम्म १ हजार ५०२ जनाले भ्रमण गरेको पर्यटन पर्यटक प्रहरी कार्यालय घोडेपानीका इन्चार्ज प्रहरी सहायक निरिक्षक तारा बुढा मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार, म्याग्दीको पोखरेबगर, चित्रे हुँदै घोडेपानी र कास्कीको उल्लेरी, घान्द्रुक हुँदै आउने पर्यटकहरुको तथ्याङ्क कार्यालयले राख्दै आएको छ ।

पहिले विदेशी पर्यटकहरुको तथ्याङ्क मात्रै राख्ने गरिएकोमा पछिल्लो समय पैदलमार्ग हुँदै आउने आन्तरिक पर्यटकहरुको समेत तथ्याङ्क राख्ने गरिएको छ । घोडेपानीमा पर्यटक याममा मासिक दुई देखि तीन हजार जम्म आन्तरिक पर्यटकहरुले समेत भ्रमण गर्छन् ।

घोडेपानीमा असोजदेखि मंसिरसम्म र फागुनेदखि जेठसम्म धेरै पर्यटकहरु आउने गर्छन् । विगतका बर्षको तुलनामा यस बर्ष पर्यटक याममा कम संख्यामा विदेशी पर्यटकहरु आएको घोडेपानीका होटल व्यवसायि क्याप्टेन डमबहादुर गर्वुजा पुनले बताउनु भयो ।

‘अन्नपूर्ण पदमार्गको क्षेत्रमा सडक पुग्न थालेको छ, पुराना पदमार्गहरु भत्किएका छन्, धुलो, धुवाको कारण विदेशी पर्यटकहरु आउनेक्रम घट्दो छ, केहि मात्रामा आन्तरिक पर्यटकहरुको चहलपहल भएपनि दिगो नहुँदा समस्या भएको छ’–होटल व्यवसायि गर्वुजाले भन्नुभयो ।
४३ घरधुरीको बसोबास रहेको घोडेपानीमा २४ वटा ठूला होटल रहेका छन् । अन्य घरमा पसल र खाजाघर सञ्चालनमा छन् । घोडेपानीका होटलमा दैनिक १ हजार २ सय जनासम्मलाई राख्न सक्ने क्षमता रहेको छ । समुद्री सतहदेखि ३ हजार २१० मिटर उचाईमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ ।

यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जनबढी हिमाल र दर्जनौँ हिमचुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोरम प्राकृतिक दृष्यहरुको अवलोकन, उच्च हिमाली भुगोल, शान्त र मनोरम वातावरणको कारण पर्यटकहरुले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाईमा राख्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?