काठमाडौं । भारत र पाकिस्तानका टोलीसँग यू-१९ एसिया कप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिम बुधबार आयोजनास्थल युएई प्रस्थान गर्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले मंगलबार औपचारिक कार्यक्रमको आयोजना गरेर खेलाडीको बिदाइ गरेको हो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले कप्तान देव खनाललाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभएको थियो ।
मन्त्री लिम्बूले एसिया कपमा राम्रो प्रदर्शनका लागि खेलाडीलाई शुभकामना दिनुभयो । उहाँले क्रिकेटले अन्तर्राष्ट्रियरूपमा राम्रो सफलता हासिल गरिरहेको उल्लेख गर्दै युवा टिमले त्यसलाई निरन्तरता दिने बताउनुभयो । क्यानका सचिव पारस खड्का तथा अध्यक्ष चतुरबहादुर चन्दले राम्रो प्रदर्शनका लागि खेलाडीलाई शुभकामना दिनुभयो । नेपाली कप्तान देव खनालले नेपालको मुख्य लक्ष्य टेस्ट टोलीलाई हराउँदै सेमिफाइनलमा पुग्ने रहेको बताउनुभयो । देवले नेपाली टोलीको तयारी राम्रो भएको बताउनुभयो ।
‘हाम्रो सबै तयारी राम्रो भयो । सिनियर दाइहरूसँग पोखरामा केपी ओली कप खेल्न जानुअघि चार-पाँचवटा अभ्यास खेल पनि खेलेका थियौँ । हामीले टियु र मूलपानीमा आफैंमा फरक पिचमा खेल पनि खेल्यौँ । त्यसले वातावरणसँग घुलमिल हुन सघाउ पुगेको छ,’ उहाँले भन्नुभयो, ‘हाम्रो मुख्य लक्ष्य टेस्ट टोलीलाई हराउनेछ । सकेसम्म सेमिफाइनल खेल्ने हुनेछ ।’
देव नेपाली यू-१९ क्रिकेटमा तीन शतक हान्ने एक्लो क्रिकेटर हुनुहुन्छ । उहाँले पछिल्लो एक वर्षमा यू-१९ टोलीबाट तीन शतक प्रहार गर्नुभएको छ ।
देव कप्तान रहेको नेपालको टिममा गुलसनसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपकप्रसाद डुम्रे, हेमन्त धामी, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दिपक बोहोरा, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द हुनुहुन्छ । प्रशिक्षकमा जगत् टमाटा हुनुहुन्छ ।
आगामी शुक्रबारदेखि पुस १ गतेसम्म युएईमा चल्ने प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । नेपाल रहेको समूहमा अफगानिस्तान, भारत, पाकिस्तान रहेका छन् । समूह ‘बी’मा बंगलादेश, जापान, श्रीलंका र युएई छन् । नेपालले शुक्रबार पाकिस्तानसँग एसिया कपको सुरुवात गर्नेछ ।
प्रतियोगिता दुबईको आइसिसी एकेडेमी ओभल-१ र २ मैदानमा हुनेछ । नेपालले पाकिस्तानपछि मंसिर २४ मा अफगानिस्तान र मंसिर २६ मा भारतसँग खेल्नेछ । मंसिर २९ मा सेमिफाइनलका दुवै खेल हुनेछन् । समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ । समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग खेल्नुपर्ने हुन्छ । प्रतियोगिताको फाइनल पुस १ गते हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच