काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणको निवेदनमाथि मंसिर २८ गते सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनले तेस्रो न्यायाधीशसमक्ष सुनुवाइका लागि मंसिर २८ गतेको पेसी तोकेको हो । उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार बालकृष्ण खाँणसँग धरौटी माग गर्ने कि थुनामै पठाउने भन्ने सम्बन्धमा दुई न्यायाधीशको राय बाझिएपछि निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेश भएको थियो ।
पूर्व-गृहमन्त्री खाँणका विषयमा न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो । १५ गतेको संयुक्त इजलासको आदेशमा न्यायाधीश पाण्डेले ३० लाख धरौटीमा रिहा हुने आदेश गर्नुभएको थियो भने अर्का न्यायाधीश खरेलले थुनामै राख्नुपर्ने आदेश राख्नुभएको थियो । आगामी मंसिर २८ गते हुने सुनुवाइपछि एकल इजलासले दिने आदेशले नै खाँण जेलमै रहने वा धरौटीमा रिहा हुने भन्ने निर्णय गर्नेछ । मंसिर १५ गते शुक्रबार भएको आदेशमा उच्च अदालत पाटनले नौ जना प्रतिवादीको हकमा थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो । त्यसैगरी ६ जना प्रतिवादीको हकमा थुनामै राख्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गरी धरौटी माग गर्ने आदेश दिएको थियो । त्यसैगरी, लक्ष्मी महर्जन, आशिष बुढाथोकी, टंक कुमार गुरुङ र केशव तुलाधरलाई साधारण तारेखमै रिहा गर्ने आदेश दिएको थियो ।
पाण्डे र खरेलको इजलासले जिल्ला अदालत काठमाडौंको असार १ को आदेशअनुसार पुर्पक्षका लागि थुनामा परेकामध्ये पूर्व-उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत अन्य प्रतिवादी इन्द्रजित राई, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, सन्देश शर्मा र आङ्टावा शेर्पालाई धरौटीमा छाड्न अस्वीकार गरेको थियो । तर, थुनामा रहेका बाँकी अभियुक्तमध्ये पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकिय सचिव नरेन्द्र केसी र शमशेर मियाँलाई जनही १० लाख, टेकनाथ रिजाल, हरिभक्त महर्जन र रामशरण केसीलाई जनही १५ लाख र सन्दीप रायमाझीलाई ३० लाख लिएर धरौटीमा छाड्न उक्त इजलासले आदेश दिएको थियो । आदेशअनुसार आइतबार नरेन्द्र केसी, हरिभक्त महर्जन र शमशेर मियाँले जिल्ला अदालतमा धरौटी बुझाएका थिए । तर, उनीहरू थुनामुक्त भने भएनन् । किनभने सम्पत्ति शुद्धीकरण र अख्तियारले उनीहरूविरुद्ध अनुसन्धान गरिरहेको व्यहोरासहित टेकु प्रहरीबाट उनीहरूलाई हिरासतमा बुझाउनु भन्ने पत्र कारागारलाई पठाएको थियो । अदालतले साधारण धरौटीमा छाडेको ६ जना र साधारण तारिखमा छाड्नु भनेको चार जना गरी सबैविरुद्ध सम्पत्ति शुद्धीकरण र अख्तियारले अनुसन्धान गरिरहेकाले हिरासतमा लिनु भन्ने पत्र प्रहरीबाट आएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच