कर्णालीको विपद् व्यवस्थापन कोषमा १० करोड संकलन

नन्दराम जैशी
Read Time = 2 mins

सुर्खेत । भूकम्पले क्षति पुर्याएको क्षेत्रको व्यवस्थापनका लागि कर्णाली सरकारको विपद् व्यवस्थापन कोषमा करिव १० करोड रकम प्राप्त भएको छ । कोषको विवरण अनुसार अहिलेसम्म १० करोड रकम जम्मा भएको हो ।

गत कार्तिक १७ मध्यराति जाजरकोटमा भूकम्प गएसँगै भोलिपल्ट १८ गते नै प्रदेश सरकारले सहयोगका लागि आह्वान गरेको थियो । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विपद् शाखाका अनुसार प्रदेश सरकारले सुरुमा चार करोड रकम विपद् कोषमा जम्मा गरेको थियो । त्यस बाहेक सबै रकम भूकम्प प्रभावितका लागि आह्वान गरेको सूचनामा आधारित सहयोग प्राप्त भएको हो ।

अहिलेसम्म १५ वटा संघसंस्था, सरकार, दातृ निकाय र व्यक्तिहरुले रकम सहयोग गरेका छन् । जसमध्ये कोशी प्रदेश सरकारले एक करोड, लुम्बिनी प्रदेश सरकारले एक करोड ५० लाख रकम उपलब्ध गराएको छ भने एनसेलले ५० लाख रकम कोषमा जम्मा गरेको छ ।

विपद् शाखाका प्रमुख कृष्णबहादुर रोकायाका अनुसार सहयोग प्राप्त रकम प्रभावित जिल्लाका प्रशासनहरुलाई उपलब्ध गराइने छ । तत्काल पाँच करोड रकम जिल्ला प्रशासनलाई उपलब्ध गराइने छ ।

प्रदेश सरकारलाई अस्थायी आवास निर्माणका लागि जिम्मेवारी नदिँदा सहयोग प्राप्त रकम जिल्ला प्रशासनलाई पठाउने तयारी गरिएकोे हो ।
यद्यपि प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रको व्यवस्थापनका लागि छुट्टै एक अर्ब रकम विनियोजन गरेको छ । उक्त रकम भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक संरचनाहरु निर्माणमा खर्च गर्ने गरी तयारी गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?