✍️ ऋषभदेव घिमिरे
पश्चिम नेपाल पर्वत जिल्लाको मनोरम प्रकृतिमा जन्मेका महेश्वर पन्त साहित्य, कला र संस्कृतिका त्रिवेणी हुन् । घर स्वयंमा सांस्कृतिक जागरणको उद्गम थियोे उनको । हजुरबुबा कालीभक्त पन्त लोकसाहित्यका अन्वेषक र अद्येता थिए । पारिवारिक पृष्ठभूमिले पनि महेश्वरलाई अद्वितीय बनाउन मद्दत गर्यो भन्ने लाग्छ मलाई । लोक संस्कृति, भूगोल र माटोसँग परिचित पन्तको अभिरुचि सानैदेखि गायन र लेखनमा थियोे भन्ने कुरा पन्तकी ममतामयी माता उर्मिलादेवीले उहाँकै निवास फलेबासमा सुनाउनुभएको थियोे । साहित्यिक, सांस्कृतिक कार्यक्रमको सिलसिलामा फलेबास पुगेका बखत पन्तका पिता गोविन्दप्रसाद पन्तले भन्नुभएको थियो- ‘यो ठुले चार गाउँ परसम्म मेला भर्न र नाचगान गर्न हिँड्थ्यो । कहिलेकाहीँ त हामी सुतेपछि रातिराति पनि जान्थे साथीहरू मिलेर ।’
कवि पनतको ‘उडेका पैताला’ ले परदेश र घरदेश जोडेको छ । भावलाई यथेष्ट रूपमा काव्यमय बनाएर कवितालाई संरचनामा ढालेको छ । कविता सरल छन् । सामान्य साक्षरले पनि बुझ्न सकिने कविता छन् । बोलिचालीमा प्रायः हराउँदै जान लागेका बिम्बले सङ्ग्रहभित्र उचित स्थान पाएका छन् ।
बुबाको यो भनाइबाट नै मैले अनुमान गरिसकेको थिएँ, महेश्वर पन्त गायन, गीत र संगीतमा पनि दखलदार छन् भन्ने । उनको साहित्य र कृतिका बारेमा त म उनीसग प्रत्यक्ष भेटघाट नहुँदै परिचित थिएँ । पहिलो कथासङ्ग्रह ‘मुन्द्री’ पढेपछि उनको लेखन क्षमतासँग परिचित भइसकेको थिएँ । दोस्रो कथासङ्ग्रह ‘नबोल्नेहरू’ मैले प्रकाशनपूर्व नै पढ्ने सौभाग्य पाएको थिएँ र मलाई केही शुभेच्छा लेख्ने अवसर पनि मिलेको थियोे । क्रमशः उनका कृतिहरू फुर्लुङ (उपन्यास), बौलाको डायरी (उपन्यास) र पछिल्लो कवितासङ्ग्रह ‘उडेका पैताला’ सम्म आउँदा साहित्यिक एवं सांस्कृतिक यात्रामा हाम्रा पाइलाहरू प्रायः निरन्तर छन् । आशा छ उनका लेखन यात्राका पैतालाहरू अविराम चलिरहून् ।
महेश्वर पन्त कवि, गीतकार, स्रष्टा-सर्जक, गजलकार, गायक तथा बहुआयामिक व्यक्ति हुन् भन्ने कुराको प्रत्यक्ष अनुभूति ‘बौलाको डायरी’ उपन्यास प्रकाशन र कृति विमर्शका क्रममा भएका थुप्रै यात्राका अवसरमा अवगत हुने मौका जुरेको थियोे मलाई । पन्तको उक्त उपन्यास ‘बौलाको डायरी’ विमर्शका क्रममा कतै राजकुमार बानियाँ, कतै रमेश दाहाल, म र कृतिकार पटकपटक बहुलाझैँ बनेका सम्झना अझै ताजा छन् । ‘बौलाको डायरी’ ले अनेसास होमनाथ सुवेदी डायस्पोरा सर्वोत्कृष्ट वाङ्मय पुरस्कार २०२३ प्राप्त गर्यो ।
खुशी थपियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा आयोजित पुरस्कार वितरण समारोहका अवसरमा संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा फेरि हामीसँगै भयौँ । साट्यौँ अनगिन्ती खुसी । उक्त कार्यक्रमपश्चात् हामी न्यूयोर्क हुँदै पन्तको कर्मथलो बोस्टन आइपुग्यौँ । साहित्यिक, सांस्कृतिक एवं पारिवारिक वातावरणमा फेरि रम्यौँ र रमायौँ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरद्वारा प्रकाशित जन्मभूमि नेपालमा विमोचित भइसकेको महेश्वर पन्तको कविता कृति ‘उडेका पैताला’ बोष्टनका साहित्यिक पारखीका लागि ताजा खुराक थियोे । कवि पन्तको कवितासङ्ग्रह ‘उडेका पैताला’लाई उनको कर्मक्षेत्र बस्टनले पर्खिरहेको थियो सायद । कर्मभूमिमा कृति लोकार्पित हुने संयोगको क्रममा म पनि सहभागी हुन पाएँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथि भएर कृति पुनः लोकका लागि अर्पण गरियो ।
कृतिमाथि केही समीक्षात्मक टिप्पणी गर्ने जिम्मेवारी पनि पाएँ । अवसर दिने आयोजक परिवार र कृतिकारप्रति कृतज्ञता ज्ञापन गर्दछु । साहित्यकार महेश्वर पन्तको यो पछिल्लो कृति ‘उडेका पैताला’भित्र प्रा.डा.खगेन्द्रप्रसाद लुइँटेललको विश्लेषणात्मक भूमिका रहेको छ । १२८ पृष्ठ रहेको कविता कृतिमा लामा छोटा गरी ४६ थान कविता छन् । ती कविताहरूमा विविध विषयवस्तुका भाव र कलात्मक शिल्प पाएँ मैले । साहित्यिक तथा विभिन्न सामाजिक संघसंस्थाको नेतृत्व तहमा रहेर प्रभावकारी भूमिका निर्वाह गरिसकेका स्रष्टा पन्त विगत लामो समयदेखि अमेरिका र नेपालबीच साहित्यिक सेतुका रूपमा क्रियाशील छन् । प्रायः नेपाली साहित्यको सिर्जना गर्छन् ।
समय निकाल्दै मातृभूमि पुग्छन् र तिर्छन् माटोको ऋण । उनको साहित्यिक यात्रा पनि लामो छ । साहित्यिक एवं सामाजिक तीर्थयात्रामा उनलाई अनन्त शुभकामना । उनको लोकार्पित कृति “उडेका पैताला” का कतिपय कविताभित्र परम्परागत शैलीको अवलम्बन छ । जीवनका भोगाइ र अनुभूतिले रंगिएका कविता छन् । कवितामा प्रकृति छ । जीवन-जगत्का उहापोहलाई सर्लक्क टिपिएको छ । समाज छ, समाजको सचित्र वर्णन छ । समाजले र आममानिसले भोगेका भोगाइ छन् । बिम्ब, प्रतीक र अलंकारयुक्त कविताहरू छन् । आञ्चलिकताको सुगन्ध छ ।
कविताभित्र आमा छिन् । बाका स्थिर, अविचलित र उडेका पैताला छन् । अन्तरदेशीय संस्कृतिको प्रतिबिम्ब छ । डायस्पोरिक बिम्ब, प्रवास तथा प्रवासी जीवनको कथा छ । अनेकौं कथा-व्यथाका कविता छन् । प्रस्तुत संग्रहमा समाविष्ट कविताभित्र भावगत, शिल्पगत तथा मानवीय सम्वेदनशीलता जाहेर गरेका कविता छन् । प्रणय छ । प्रितिका फूलहरू मुस्काराएका कविता छन् । समसामयिक राजनीतिले निम्त्याएको वितृष्णा, विसङ्गतिप्रतिको बिम्बात्मक व्यङ्ग्य छ । परदेशी भूमिको पीडा, कठिन जनजीवन, भौतिक सुखले दिन नसकेको मानसिक सुखको खोज र चिन्तन छ । ‘उडेका पैताला’ सङ्ग्रहभित्र नेताका कर्म, कुकर्मसमेतको उपस्थिति छ ।
प्रेम-प्रणयले भरिएका कवितादेखि बालपयोगी, युवा तथा प्रौढ सबै वर्गलाई सम्बोधन हुने कोटिका कविताहरू छन् । ‘उडेका पैताला’ ले अनगिन्ती रहर बोकेर गन्तव्य भेट्न लहर बनेर हिँडेजस्तै कविताहरू यस सङ्ग्रहभित्र छन् । साहित्यले चेतना दिन्छ । अनुभव र अनुभूतिलाई साक्षात्कार गराउँछ । पुस्तान्तरण गर्न साहित्य सहयोगी हुन्छ । भावी पुस्तालाई साहित्य, कला र संस्कृति हस्तान्तरण गर्नु हाम्रो अभियान र दायित्व हो । हामीले कविताबाट दिने भनेको ज्ञान हो । चेतना र सन्देश हो । भनिन्छ कविताले कतै न कतैबाट मस्तिष्कमा कम्पन ल्याउन सक्यो भने कविता, कविताजस्तो हुन्छ । कवि महेश्वर पन्तका फुटकर कवितासमेत सकारात्मक कम्पन पैदा गर्ने दर्जाका छन् भने सिङ्गो सङ्ग्रहले रचनात्मक कम्पन दिनेछ भन्ने लाग्यो ।
कवि पनतको ‘उडेका पैताला’ ले परदेश र घरदेश जोडेको छ । भावलाई यथेष्ट रूपमा काव्यमय बनाएर कवितालाई संरचनामा ढालेको छ । कविता सरल छन् । सामान्य साक्षरले पनि बुझ्न सकिने कविता छन् । बोलिचालीमा प्रायः हराउँदै जान लागेका बिम्बले सङ्ग्रहभित्र उचित स्थान पाएका छन् । असफल गौतमको भाषा सम्पादन तथा रमेश दाहालको सुन्दर आवरण रहेको सङ्ग्रह एकै बसाइमा पढेर सकिने खालको छ । कवि पन्तको कविता कृति ‘उडेका पैताला’ले सदा सकारात्मक कम्पन ल्याउन सकोस् । भविष्यमा अझ सशक्त कविता, कथा तथा आख्यानले नेपाली साहित्यको भण्डारमा चुलियोस् । साहित्य सिर्जना अझ सिर्जनात्मक बनोस् । सर्जक महेश्वर पन्तलाई हार्दिक शुभकामना !
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच