लण्डन । दक्षिण कोरियाली फरवार्ड हृयुङ मिन सन र ब्राजिली फरवार्ड रिचार्लीसनको उच्च प्रदर्शनमा टोटनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । टोटनहमले घरेलु मैदानमा न्युक्यासल युनाइटेडमाथि ४-१ को सानदार जित निकालेको हो ।
टोटनहमको जितमा रिचार्लीसनले दुई तथा आइयेनोमा डेस्टिनी युडोगीले एक गोल गर्नुभयोे । सनले एक गोलसँगै दुई असिस्ट प्रदान गर्नुभयो । न्युक्यासलका जोइलिन्टनले एक गोल फर्काउनुभयो ।
खेलको २६औँ मिनेटमा आइयेनोमा डेस्टिनी युडोगीको गोलबाट अग्रता लिएको थियो । ३८औँ मिनेटमा रिचार्लीसनले सनकै पासमा गोल गर्दै टोटनहमको अग्रता दोब्बर पार्नुभयो । ६०औँ मिनेटमा रिचार्लीसनले पेड्रो पोरोको पासमा व्यक्तिगत दोस्रो गोल गर्नुभयो । ८५औँ मिनेटमा सनले पेनाल्टीमार्फत् गोल गर्दै टोटनहमलाई ४-० को आरामदायी अग्रता दिलाउनुभयो ।
इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमा जोइलिन्टनले गोल गर्दै खेललाई ४-१ को स्थितिमा ल्याउनुभयो । यस जितले टोटनहम १६ खेलबाट ३० अंक जोडेर पाँचौँ स्थानमा यथावत् छ । पराजित न्युक्यासल २६ अंक जोडेर सातौँ स्थानमा छ । यस्तै अर्को खेलमा म्यानचेस्टर सिटीले जित हासिल गर्दा चेल्सी भने पराजित भएको छ । सिटीले लुटन टाउनविरुद्ध २-१ को पुनरागमन जित दर्ता गर्दा चेल्सी भने एभर्टनविरुद्ध २-० को हार बेहोर्न पुग्यो ।
प्रिमियर लिगमा गत चार खेलमा एक हार र तीन बराबरी गर्दै जित हासिल गर्न नसकेको सिटी लुटनविरुद्ध पनि सुरुमा गोल खान पुग्यो । एन्ड्रोस टाउनसेन्डको क्रसमा इलाइजाह अडेबायोले पहिलो हाफको अन्त्यतिर हेडरमार्फत् गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाउनुभयो ।
तर, सिटीले दोस्रो हाफमा तीन मिनेटको अन्तरालमा दुई गोल गर्दै पुनरागमन गर्यो । ६२औँ मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो । त्यसको तीन मिनेटपछि जुलियन अल्भारेजको पासमा ज्याक ग्रिलिशले गोल गर्दै सिटीलाई पुनरागमन जित दिलाउनुभयो । जितपछि सिटी १६ खेलमा ३३ अंकसहित चौथो स्थानमा छ । पराजित लुटन भने १६ खेलमा ९ अंकसहित १८औँ स्थानमा छ ।
उता चेल्सी भने एभर्टनविरुद्ध २-० ले पराजित भयो । फाइनान्सियल फेयर प्लेका कारणले १० अंक घटाइएको एभर्टनको जितमा अब्दुलाए डोकोरे र लुइस डोबिनले १-१ गोल गर्नुभयो । जितपछि एभर्टन १६ खेलमा १३ अंकसहित १७औँ स्थानमा छ । चेल्सी भने १६ खेलमा १९ अंकसहित १२औँ स्थानमा छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच