खोटाङको साकेला प्राविमा दुई वटा कक्षामा एक-एक जना विद्यार्थी, कूल विद्यार्थीको संख्या एघार

साकेला प्राथमिक विद्यालयमा कक्षा–३ मा अध्ययनरत एकजना मात्रै विद्यार्थी ।

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 6 mins

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित साकेला प्राथमिक विद्यालयका कक्षाहरुमा १–१ जना विधार्थी अध्ययनरत रहेका छन् । त्यस विद्यालयको कक्षा–२ र कक्षा–३ मा १–१ जना मात्रै विद्यार्थी अध्ययनरत छन् ।

प्रधानाध्यापक कमल प्रसाद रिजालका अनुसार कक्षा–२ मा १ जना मात्रै भर्ना भएका थिए । अहिले उनी मात्रै कक्षामा नियमित आउँछन् । कक्षा–३ मा १ जनाले भर्ना गरेका थिए । उनी बाहेक अरु विद्यार्थी नथपिँदा कक्षामा १–१ जना विद्यार्थी रहेका छन् ।

उक्त विद्यालयमा कक्षा–१ मा ५ जना, कक्षा–४ मा २ जना र कक्षा–५ मा २ जना विद्यार्थी नियमित छन् । स्थायी दरबन्दीका एकजना (प्रअ रिजाल) र राहतका (शान्तिराम राई) एकजना गरी दुई शिक्षक र एकजना कार्यालय सहयोगी (पवित्रा राई) रहेको विद्यालयमा कूल विद्यार्थी संख्या ११ जना छन् ।

अहिले कक्षा–१ बाहेक, कक्षा–२ र ३ का विधार्थीलाई एउटा कोठामा र कक्षा–४ र ५ का विधार्थीलाई एउटा कोठामा राखेर(बहुशिक्षण)पठनपाठन गराउनु परेको विद्यालयले जनाएको छ । कक्षा–१ देखि कक्षा–३ सम्म बहुबर्ग शिक्षण गर्न पाउने तर, कक्षा–४ लाई बहुबर्ग शिक्षण गराउने नपाईने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको शिक्षा शाखा प्रमुख तीर्थ बहादुर विश्वकर्माले बताउनुभयो छन् ।

एकै ठाउँमा पढाइ

प्रअ रिजालका अनुसार भवन अभावमा कक्षा–२ र ३ का विधार्थीलाई एउटा कोठामा र कक्षा–४ र ५ का विधार्थीलाई एउटा कोठामा राखेर बहुशिक्षण गराउनु परेको हो ।

विद्यालयसँग जम्मा २ वटा भवन छ । हाल अफिस भएको ढुंगामाटोले बनेको २ कोठे भवनलाई बारेर तीन कोठे बनाईएको छ । त्यहाँ एउटा कोठामा अफिस, अर्कोमा कम्प्युटर पढाई हुन्छ । अर्कोमा पूराना काठपात लगायत स्टोर गरिएको छ ।

‘२०७२ सालको भूकम्पपछि बनाईएको फलामे ट्रष्टको २ कोठे भवनलाई पनि बारेर तीन कोठे बनाएर काम चलाईएको छ । त्यहाँ कक्षा–१, कक्षा–२ र कक्षा–३ को पढाई हुन्छ । प्रअ रिजालले भन्नुभयो, ‘पठनपाठनका लागि ५ वटा कक्षाकोठा चाहिनेमा अहिले कम्प्युटर कक्षासहित ४ वटा मात्रै कक्षाकोठा छ । विद्यालयलाई एउटा पक्की भवनको अति आवश्यक छ । निवर्तमान मेयर दिपनारायण रिजालको कार्यकालमा भवन माग गर्दा विद्यार्थी संख्या कम भएकाले राष्ट्रपति शैक्षिक सुधार अन्तर्गत भवन पार्न समस्या भयोे ।’ प्रअ रिजालले भन्नुभयो।

आईसिटीको योजना चाँहि पारिएकाले आईसिटी योजनाबाट आएको कम्प्युटर, प्रोजेक्टरको सहायतामा अहिले बालबालिकाका लागि श्रव्यदृष्य पढाई हुन्छ । पक्की भवन अभाव छ भनि वडा परिषदमै भवन माग गरिएको छ ।

उहाँले भन्नुभयो, ‘भवन अभावमा बहुकक्षा शिक्षण गर्दा केही न केही हिसाबले पढ्नमा असर त गरिहाल्छ । तथापी पनि हामी बाध्य भएर एउटै कोठामा फरक–फरक राखेर पढाईरहेका छाैँ । विधार्थीको बसाई चाँहि एकै ठाउँमा नै हो। प्रअ रिजालले भन्नुभयो । खानेपानी र शौचालयको चाँहि समस्या छैन ।’

एकै ठाउँमा विधार्थी राखेर पढाई रहेको विषयमा केही दिनपछि अनुगमनमा निस्केर आ–आफ्नो कक्षाकोठमा पढाई हुने वातावरण बनाईने नेर्पाका वडाध्यक्ष एपम् वडा शिक्षा समिति संयोजक माधव राईले बताउनुभयो । भवन अभावका विषयमा नगरबाट पहल गर्ने विषय रहेको र नगरले नसकेमा माथिल्लो निकायमा अनुरोध गरिने वडाध्यक्ष राईको भनाई छ ।

विद्यार्थी संख्या घट्नुले झन विधार्थी नै मारमा पर्न थालेको अभिभावकहरु बताउँछन् । विद्यार्थी संख्या घट्दा शिक्षकले पढाएको राम्ररी बुझ्ने, गृहकार्य सबै शिक्षकले जाँच गर्ने वातावरण बन्नुपर्नेमा सबैलाई एकै ठाउँमा भेला पारेर पढाउँदा झनै विद्यार्थी मारमा परेका छन् ।

अहिले सामुदायिक विद्यालयहरुमा निम्न आर्थिक अवस्थाका परिवारका बालबालिका मात्रै अध्ययन गरिरहेको देखिन्छ । दिनदिनै विद्यार्थी घट्दा सबैलाई एउटै कक्षामा राखेर अध्यापन गराउँदा शिक्षाको गुणस्तर झन खस्किन थालेको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?