काठमाडौं । राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि पदावधि सकिएर रिक्त हुने २० सिट भागबण्डाका लागि सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूबीच छलफल सुरु भएको छ । एमालेका नौ, कांग्रेसका चार, माओवादीका तीन, एकीकृत समाजवादीका दुई, जसपाका एक र एकजना स्वतन्त्र सांसद राष्ट्रिय सभाबाट बाहिरिँदै छन् । राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल तथा गठबन्धनको समर्थनबाट निर्वाचित स्वतन्त्र सांसद खिमलाल देवकोटा पनि राष्ट्रियसभाबाट बाहिरिँदै हुनुहुन्छ । रिक्त १९ सिटको लागि निर्वाचन आयोगको परामर्शमा सरकारले माघ ११ गते निर्वाचनको मिति घोषणा गरिसकेको छ । एउटा सिटमा भने सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नुहुनेछ । रिक्त १९ सिटमध्ये राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पनि आगामी फागुन २० गतेदेखि पदावधि सकिँदै छ ।
गठबन्धन दलले १९ राष्ट्रियसभा सदस्यको निर्वाचन नहुँदै अध्यक्षको दाबी प्रस्तुत गरेका छन् । सत्तारूढ गठबन्धनको मुख्यघटक नेपाली कांग्रेस, गठबन्धनको तर्फबाट सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले अध्यक्षको लागि दाबी गरेका छन् । गठबन्धनका मुख्य घटक कांग्रेस, माओवादी, नेकपा एस र जनता समाजवादीका शीर्ष नेताहरूले सोमबार यसबारे छलफलसमेत गरेका थिए ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पनि पदावधि सकिने भएकाले कांग्रेस, माओवादी र एकीकृत समाजवादीले उक्त पदमा दाबी गरेका हुन् । हाल माओवादीबाट उर्मिला अर्याल राष्ट्रियसभा उपाध्यक्ष हुनुहुन्छ । माओवादीले उपाध्यक्ष पद छाडेर अध्यक्ष लिन चाहेको माओवादी नेताको भनाइ छ । प्रतिनिधिसभाको सभामुख एमालेबाट चयन भएकाले राष्ट्रियसभा अध्यक्ष आफ्नो हुनुपर्ने तर्क माओवादीले अघि सारेको छ । सत्ता गठबन्धनको एक घटक नेकपा एसले सरकारको महत्वपूर्ण शक्ति भएकाले संवैधानिक पद राष्ट्रियसभाको अध्यक्ष पाउनुपर्ने दाबी गरेको छ । कांग्रेसले पनि गठबन्धनका शीर्ष नेताहरूको बैठकमा अनौपचारिक रूपमा राष्ट्रियसभाको अध्यक्षको दाबी गरेको छ । नेपाली कांग्रेसका पूर्व–उपसभापति एवं सांसद विमलेन्द्र निधिले अध्यक्षमा आफूहरूको दाबी स्वाभाविक रहेको जिकिर गर्दैै भन्नुभयो, ‘गठबन्धनमा छलफल हुन बाँकी छ तर कांग्रेसबाट राष्ट्रियसभा अध्यक्ष हुनुपर्छ । आफूहरूको दाबी स्वाभाविक हो ।’
कांग्रेसमा राष्ट्रियसभा सदस्य हुन नेताहरू गोपालमान श्रेष्ठ र कृष्णप्रसाद सिटौलाले लबिङ सुरु गरिसक्नु भएको छ । राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित भएर अध्यक्ष हुने दुवैको चाहना छ । श्रेष्ठ विगतदेखि नै देउवा समूहका नेता हुनुहुन्छ भने सिटौलाले कांग्रेसमा छुट्टै समूह बनाएर नेतृत्व गरिरहनु भएको छ । यद्यपि, देउवालाई दुवैपटक सभापति निर्वाचन गराउन सिटौलाले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । गठबन्धनमा अध्यक्ष कांग्रेसको भागमा परेको अवस्थामा सिटौलाको सम्भावना बढी छ । किनकि शान्तिप्रक्रिया सुरु भएदेखि नै प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिटौलाप्रति सकारात्मक रहँदै आउनुभएको छ । शान्ति प्रक्रिया र संविधान लेखनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सिटौलाप्रति प्रचण्ड सकारात्मक रहेको माओवादीकै नेताहरूको भनाइ छ ।
गठबन्धनमा आलोपालो प्रधानमन्त्री हुने सहमति रहेको स्मरण गर्दै माओवादी केन्द्रका एक नेताले भन्नुभयो, ‘कांग्रेसबाट शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि माओवादीले लिने संवैधानिक प्रमुख पद राष्ट्रियसभा हो । त्यसकारण राष्ट्रियसभा अध्यक्षमा हाम्रो दाबी रहन्छ ।’
एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले राष्ट्रियसभा निर्वाचनबारे गठबन्धनमा अनौपचारिक छलफल सुरु भइसकेको जानकारी दिँदै भन्नुभयो, ‘माओवादीको प्रधानमन्त्री, कांग्रेसको राष्ट्रपति, जसपाको उपराष्ट्रपति पद सुरक्षित हुँदा हामीले राष्ट्रियसभाको अध्यक्षमा दाबी गर्नु व्यावहारिक हुन्छ । सत्ता गठबन्धनको एउटा महत्वपूर्ण दल भएकाले राष्ट्रियसभा अध्यक्षमा हाम्रो दाबी रहन्छ । यद्यपि, यसबारे गठबन्धनमा औपचारिक छलफल हुन बाँकी छ ।’
प्रधानमन्त्री प्रचण्डले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग राष्ट्रियसभा निर्वाचनमा संयुक्त रूपमा उम्मेदवार दिनेबारे छलफल गरेको जानकारी दिँदै प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले भन्नुभयो, ‘आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनको तर्फबाट साझा उम्मेदवार उठाउनेबारे शीर्ष नेताबीच छलफल भएको छ ।’ गठबन्धन दलले आफूले जितेका प्रदेशमा आफैँ उम्मेदवार दिने र एमालेका उम्मेदवारले जितेका स्थानमा गठबन्धनले साझा उम्मेदवार दिने गरी भागबण्डा गर्ने सहमति गरेका छन् ।
सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । प्रकाशित कार्यतालिका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दलहरूले मंसिर २९ गतेसम्म दल दर्ता गरिसक्नु पर्नेछ । दलहरूले पुस २३ मा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ । उम्मेदवारको विरोधमा उजुरी दिने मिति पुस २४ मा तोकिएको छ भने मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी अन्तिम नामावली २६ गते प्रकाशन हुने निर्वाचन आयोगको तालिकामा उल्लेख छ । उम्मेदवारले २७ गते नाम फिर्ता लिएपश्चात् उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । मतदान माघ ११ मा हुनेछ ।
राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न नेकपा एसमा हानथाप
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न नेकपा एकीकृत समाजवादीभित्र नेताहरूको लर्को लागेको छ । पार्टी पदाधिकारीहरूमार्फत राष्ट्रियसभा सदस्यका नाम टिपाउनेको संख्या ठूलो छ । उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले मंगलबारसम्म करिब तीन दर्जनले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउन सिफारिस आएको जानकारी दिनुभयो । सिफारिस नामहरूबारे पार्टी बैठकमा छलफल भने नभएको उहाँको भनाइ छ । मंसिर अन्तिम साता बस्ने सचिवालय बैठकमा राष्ट्रियसभा सदस्यका उम्मेदवारबारे छलफल हुने सो पार्टीले जनाएको छ । नेकपा एसले मंसिर २८ र २९ गते सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठकअघि गठबन्धनमा कसले कति सिट पाउने भन्ने निर्णय हुने नेताहरूको भनाइ छ ।
पार्टी उपाध्यक्ष रहनुभएका प्रमेश हमालले आफूलाई राष्ट्रियसभा सदस्य बनाउन अध्यक्ष माधव नेपाललाई चर्को दबाब दिएको नेकपा एसका नेताहरूको भनाइ छ । तर, हमालको हकमा अध्यक्ष नेपाल सकारात्मक भए पनि अन्य पदाधिकारीहरूको विरोध रहेको बताइएको छ । अर्का उपाध्यक्ष घनेन्द्र बस्नेत पनि राष्ट्रियसभा सदस्य बन्न आकांक्षी हुनुहुन्छ । हमालको तुलनामा बस्नेतको पार्टीमा समेत लामो योगदान रहेकाले पार्टीमा सर्वसम्मत निर्णय हुनसक्ने नेताहरूको भनाइ छ । फागुनमा पदावधि सकिनेमध्ये एकीकृत समाजवादीका दुईजना सदस्य छन् । सो पार्टीबाट कर्णालीका नन्दा चपाईं र बागमतीबाट सिंहबहादुर विश्वकर्माको पदावधि सकिँदै छ । एकीकृत समाजवादीको चुनाव चिहृन कलमबाटै निर्वाचन जितेका तर पछि स्वतन्त्र बनेका खिमलाल देवकोटाको स्थानमा पनि एकीकृत समाजवादीले नै दाबी गर्ने गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच