नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको अस्तु धातु रहेको रामग्राम स्तुपबाट विश्व शान्तिको कामना गर्नुभएको छ । पश्चिम नवलपरासीको रामग्राम-७ उजैनीमा रहेको रामग्राम स्तुपमा आयोजना भएको रामग्राम विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बुद्धको सन्देश अहिले विश्वभर नै आवश्यक रहेको बताउनुभयो । मानवजाति रहेसम्म बुद्धले दिएको शिक्षा र सन्देश अनुकरणीय रहिरहने बताउँदै उहाँले विश्व समुदायलाई विकासको मार्गका साथै शान्तिको मार्ग अवलम्बन गर्न पनि अपिल गर्नुभयो ।
उहाँले रामग्रामबाट धार्मिक, पर्यटन, सामाजिक र आर्थिक विकास गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘म पहिलोपटक प्रधानमन्त्री हुँदा ग्रेट लुम्बिनी डेभलपमेन्ट प्लानअनुसार लुम्बिनी, रामग्राम र तिलौराकोटलाई जोडेर धार्मिक तथा पर्यटकीय विकास गर्नका लागि पहल गरेको थिएँ ।’
भारतीय सम्राट् अशोकले ठूलो युद्धपश्चात् शान्ति प्राप्तिका लागि नेपालको लुम्बिनीमा आएर अशोक स्तम्भ खडा गरी शान्तिको कामना गरेको स्मरण गराउँदै प्रधानमन्त्री प्रचण्डले आफू पनि देशमा परिवर्तनका लागि युद्ध गरेको र युद्धपश्चात् निरन्तर शान्तिको लागि लागिरहेको बताउनुभयो । ‘बुद्धका सिद्धान्त, विचार र दर्शनहरू कहिल्यै पुराना हुँदैनन् । मानवजाति रहेसम्म बुद्धका शिक्षाको औचित्य, आवश्यकता र महत्व रहिरहन्छ । आजको सन्दर्भमा विश्वमा शान्तिको महत्व झन् बढ्न गएको छ,’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले केहीअघि राष्ट्र संघका महासचिवको भ्रमणले नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरलाई विश्वव्यापी बनाउन सघाउ पुगेको पनि उल्लेख गर्नुभयो । ‘मैले राष्ट्र संघका महासचिवलाई नेपालमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्न निमन्त्रणा गरेको थिएँ । उहाँको आगमनले नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरबाट नेपाल र नेपाली जनताको रक्षाका निम्ति एउटा नयाँ प्रतिबद्धता प्रस्तुत गर्नुभएको छ,’ उहाँले भन्नुभयो । जलवायु परिवर्तनका कारण नेपालले खेपेको प्राकृतिक प्रकोपको बारेमा विश्वको ध्यान खिच्न आफू सफल भएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।
उहाँले रामग्राम स्तुप क्षेत्र विकासको गुरुयोजना कार्यान्वयनका लागि प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले रामग्राम स्तुप क्षेत्रको पुनःस्थापना, संरक्षण र विकासका लागि दूरदर्शी काम गर्ने प्रतिबद्धता जनाउनुभएको हो । रामग्राम स्तुप यस क्षेत्रको विकासका लागि निकै महत्वपूर्ण भएको बताउँदै उहाँले रामग्रामको विकाससँगै यस क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गौतम बुद्धको सन्देश फैलाउँदै नेपाललाई बुद्ध सर्किटको रूपमा विकास गर्न सकिने बताउनुभयो । उहाँले रामग्राम र गौतम बुद्धसँग सम्बन्धित ठाउँहरूको अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न सके लाखौँ पर्यटक भिœयाउन सक्ने भएकाले त्यसका लागि आवश्यक पूर्वाधार विकासका लागि सरकारले काम गरिरहेको बताउनुभयो ।
पतञ्जलिका योगगुरु आचार्य बालकृष्णले नेपाललाई भगवान् गौतम बुद्धको देश भनेर विश्वसामु चिनाउनु जरुरी रहेको बताउनुभयो । आफ्नो सम्पत्तिलाई रक्षा गर्न जसरी लागिन्छ त्यसरी नै बुद्धको ज्ञान र सन्देशलाई संरक्षण गर्न सम्पूर्ण लाग्नुपर्ने बताउनुभयो । आजको विकासले भयभित बनाइरहेको विश्वलाई भगवान् गौतम बुद्धको सन्देशले मात्रै बचाउन सक्ने उहाँको जिकिर छ । कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामाले नवलपरासी, रुपन्देही र कपिलवस्तुलाई जोडेर बुद्ध सर्किटको रूपमा विकास गर्न सकिने बताउनुभयो । कार्यक्रममा स्टेफानो लोरीले रामग्रामको विस्तृत गुरुयोजना प्रस्तुत गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच