भोलामानसिंह थापा राजनीतिज्ञ हुनुहुन्थ्यो । पञ्चायतकालमा सहायकमन्त्री बन्नुभएका थापाको गतवर्ष निधन भयो । उहाँको निधनको वर्षदिनको सन्दर्भ पारेर उहाँको स्मृतिमा प्रकाशित भएको पुस्तक हो ‘कर्मसाधक भोलामानसिंह थापा’ । यसको सम्पादनको भूमिका निर्वाह गर्नुभएको छ उहाँकी धर्मपत्नी सावित्री जङ्गम थापाले । यो स्मृतिग्रन्थ शब्दयात्रा प्रकाशन अक्षरधाम, नीलकण्ठेश्वर बनेपा काभ्रेले प्रकाशन गरेको छ । शब्दयात्रा प्रकाशनको यो २१७औं प्रकाशन पुष्प हो । पहिलो संस्करणका रूपमा २०८० साल कात्तिकमा प्रकाशित भएको यस पुस्तकको सर्वाधिकार कृतिकारमा रहेको भनिएको छ । कृतिकारको आसय सम्पादक हुनसक्छ भने यसको साजसज्जा गीता अधिकारीबाट भएको छ ।
भूमिका खण्डका १६ र पाठ्य खण्डका ३०४ गरी यस पुस्तकमा ३२० पृष्ठ रहेका छन् । यसको मूल्य ५०० रुपैयाँ छ । डिएमआई साइजको यस पुस्तकको छपाइ स्तरीय छ र तौलयुक्त कागजको प्रयोग भएको छ । अशुद्धिहरू कमै मात्र पाइन्छन् । यस पुस्तकको आवरण सज्जा इ. रोशन मञ्जुश्रीबाट भएको छ । नीलो पृष्ठभूमिको आवरणमा बीचमा पुस्तकको मुख्य व्यक्ति भोलामानसिंह थापाको फोटो राखिएको छ भने माथि ठूला अक्षरमा ‘कर्मसाधक भोलामानसिंह थापा’ भनिएको छ । यसमुनि कोष्ठकभित्र साना अक्षरमा ‘स्मृतिग्रन्थ’ भनिएको छ भने तल सम्पादक भनेर त्यसमुनि सावित्री जङ्गम थापाको नाम दिइएको छ ।
प्रतिष्ठित परिवारका व्यक्ति भएर पनि उहाँले त्यहाँ अनेकौं समाजसेवी काम गर्नुभएको थियो । तिनको समेत संस्मरण यस पुस्तकमा विभिन्न लेखकहरूबाट भएको छ । भोलामानसिंह थापाका सम्बन्धमा खोजअनुसन्धान गर्नेहरूका लागि पनि यो पुस्तक सहायक सिद्ध हुन सक्नेछ ।
आवरणको भित्रपट्टि उहाँका सहपाठी साथी पूर्वकानुन राज्यमन्त्री राधेश्याम कमारोका उहाँसम्बन्धी केही भनाइहरू राखिएका छन् । पृष्ठआवरणका शान्ता मानवी, बमकुमारी बुढामगर, भरत जङ्गम, भोजराज पोखरेल, प्रा.पीताम्बर दाहाल, प्रा.पुरुषोत्तम दाहाल र हीरण्यकुमारी पाठकका भनाइहरू राखिएको छ । पृष्ठआवरणको भित्रपट्टि महाकवि लक्ष्मीप्रसाद देवकोटाकी जेठी छोरी अम्बिकादेवी रिमाल र कमलादेवी उप्रेतीका भनाइ राखिएका छन् । भूमिका खण्डमा सावित्रीथापा जङ्गमको ‘सम्पादकीय’ र हरि मञ्जुश्रीको ‘प्रकाशकीय’ रहेका छन् । त्यसपछि विषयसूची दिइएको छ । यो पुस्तक चार खण्डमा विभाजित छ । पहिलो खण्डमा ‘जिल्लावासी, आफन्त र सहकर्मीहरूका आँखामा भोलामानसिंह थापा’ शीर्षकअन्तर्गत विभिन्न व्यक्तिका ४५ वटा लेख रचना छन् ।
यहाँ इन्द्रकुमार श्रेष्ठ, डा.कृष्णप्रसाद भट्टराई, खिनानाथ अधिकारी, जीवनाथ धमला, दीपक जङ्गम, प्रा.पीताम्बर दाहाल, प्रा.पुरुषोत्तम दाहाल, भरत जङ्गम, भोजराज पोखरल, भरत सेर्नाली, डा.रेवतबहादुर कार्की, रोशनीदेवी कार्की, विनोद दाहाल वत्स, शकुन्तला खतिवडा, शम्भु कोइराला, शान्ता मानवी, हरि मञ्जुश्री, हीरण्यकुमारी पाठकलगायत लेखकहरूका भोलामानसम्बन्धी लेख रचना छन् ।
दोस्रो खण्डमा भोलामानसिंह थापाका केही कविता र लेख छन् । यस खण्डमा उहाँका विभिन्न शीर्षकका ५७ वटा कविता र ६ वटा लेखहरू समेटिएका छन् । खण्ड तीनमा उहाँको परिचयात्मक सामग्रीहरू दिइएका छन् । जसमा उहाँले आफ्नो जिल्ला अोखलढुंगामा गर्नुभएका सेवा तथा विकासका कार्य, उहाँसम्बन्धी समाचार उहाँले दिनुभएको विशेष अन्तर्वार्ता समावेश भएको छ । खण्ड चारमा परिशिष्ट छ । यसमा उहाँको हस्तलिपि, उहाँलाई प्राप्त भएका केही चिठीपत्रहरू, उहाँका आदरपत्र र सम्मानपत्र, उहाँका केही तस्वीर र उहाँको निधनमा प्राप्त भएका समवेदनापत्र समावेश गरिएका छन् ।
पुस्तकको शीर्षक जस्तो राखिएको छ वास्तवमा भोलामानसिंह थापा त्यस्तै कर्मसाधक नै हुनुहुन्थ्यो । मानिस जन्मिएपछि मर्नु प्रकृतिको शाश्वत नियम नै हो तर सबैले कृति छोडेर जान सक्दैनन् र कृति छोडेकाहरू सबैको परिवारले यसरी पुस्तक प्रकाशित गरिदिन सक्दैनन् । जिल्लाका प्रतिष्ठित परिवारका व्यक्ति भएर पनि उहाँले त्यहाँ अनेकौं समाजसेवी काम गर्नुभएको थियो । तिनको समेत संस्मरण यस पुस्तकमा विभिन्न लेखकबाट भएको छ ।
भोलामानसिंह थापाका सम्बन्धमा खोज अनुसन्धान गर्नेहरूका लागि यो पुस्तक सहायक सिद्ध हुन सक्नेछ । उहाँबारे बुझ्न चाहनेका लागि त यसै उपयोगी हुने नै भयो । उहाँबारे पुस्तक सार्वजनिक गर्ने उहाँकी धर्मपत्नी सावित्री थापा तथा परिवारजन र प्रकाशक शब्दयात्रा प्रकाशन पनि धन्यवादका पात्र हुन पुगेका छन् । यस्ता अनुकरणाीय कार्य अरूबाट समेत हुन सक्नुपर्छ । यसका लागि उहाँहरूलाई धन्यवाद तथा बधाई ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच