छोराको आशमा ६ छोरीको जन्म : श्रीमान्‌काे मृत्युपछि पालनपोषणमा समस्या

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 7 mins

बझाङ । बझाङकी ४० वर्षीया लक्ष्मीदेवी गिरी उमेरभन्दा निकै पाकी देखिनुहुन्छ । छबिस पाथिभेरा गाउँपालिका-१ सुङ्ला टोलकी लक्ष्मीदेवीले छोरा पाउने आशमा एकपछि अर्को गर्दै ६ छोरीलाई जन्म दिनुभयो । जेठी छोरीको उमेर १३ वर्ष पुगिसकेको छ । जेठी छोरीको जन्म भएपछि छोराको आश गर्नुभएकी उहाँले जेठी छोरीपछि दुई/दुई वर्षको अन्तरालमा लगातार चार छोरीलाई जन्म दिनुभयो । पटक-पटक सुत्केरी हुनु तथा पोषिलो खानपिन र आराम नपाउनाले उहाँको शारीरिक अवस्था दिनानुदिन कमजोर हुँदै गयो । त्यसमाथि कामको बोझ बढ्दै गयो । तर, लक्ष्मीदेवीले सामाजिक र पारिवारिक दबाबका कारण छोरा पाउने आश भने मार्नुभएन ।

पाँच छोरीलाई जन्म दिनुभएकी उहाँले छैटौँ सन्तानका रूपमा छोरा पाउनुभयो । तर, उहाँको शारीरिक अवस्था कमजोर भएर पनि होला उहाँले जन्म दिएको छोरा गर्भभित्रै मरिसकेको थियो । पाँच छोरीलाई जन्म दिनुभएकी उहाँले छोरा बचाउन सक्नुभएन । अझै उहाँको छोरा पाउने आश मरेको थिएन । फेरि ३७ वर्षको उमेरमा उहाँले एउटी छोरीलाई जन्म दिनुभयो । छोराको आशमा सात सन्तानलाई जन्म दिनुभएकी लक्ष्मीलाई अहिले छोरीहरू हुर्काउन निकै सकस परेको छ ।

छोरी सबै बिहे गरेर अर्काको घर जान्छन्, बुढेसकालको सहाराका लागि पनि छोरा त चाहियो नि । छोरा नभए वंश रोकिने हुनाले एउटा भए पनि छोरो त चाहिन्छ । छोरा नभए समाजले अपुतो भन्ने र छोरीको विवाह गरेर ज्वाइँको घर पठाएपछि बुढेसकालको सहारा छोरामात्र हुने भएकाले पनि छोरा आवश्यक भएको उहाँको भनाइ छ ।

उहाँका श्रीमान् राम गिरीको पनि जागिर थिएन, श्रीमान्‌श्रीमती दुवैले सामान्य मजदुरी गरेर घरव्यवहार चलाउनुहुन्थ्यो । छोरीहरूको उमेर बढेसँगै मजदुरी गरेर घरखर्च चलाउन मुस्किल पर्‍यो । छोरा नपाएर छोरीहरू धेरै भएपछि समाजका मानिसहरूले अपुतो भनेर कुरा काट्ने र घरपरिवारकै अन्य सदस्यले पनि विभिन्न वाहना बनाउँदै आफूलाई दुःख दिने गरेको उहाँले बताउनुभयो । पछि घरपरिवारबाट पनि फरक व्यवहार पाएपछि लक्ष्मीले एउटा झुप्रो बनाएर परिवारका अन्य सदस्यहरूबाट छुट्टिएर आफ्ना छोरीहरू र श्रीमान्‌स‌ग बस्न थाल्नुभयो । छुट्टिएपछि पनि छोरीहरूकै लालनपालनमा सबै खर्च हुने भएकाले राम्रो घर बनाउन उहाँहरूले सक्नुभएन ।

उहाँले बनाएको एउटा झुप्रो पनि गत असोज १६ गते बझाङमा गएको भूकम्पले भत्काएपछि उहाँहरू शरणार्थी बन्नुभएको छ । छोरा नपाएकै कारण र छोरीलाई हुर्काउन, विद्यालय पढाउन, खर्च चलाउन पनि नपुग्ने लक्ष्मीको परिवारमा घर भूकम्पले भत्काउँदा शरणार्थी बन्नुभएका लक्ष्मीका श्रीमान् राम गिरी तनावकै कारण सधैँ मदिरा सेवन गर्न थाल्नुभयो । लक्ष्मीका श्रीमान् रामले तनावकै कारण मदिरा सेवन गर्न छोड्नुभएन र उहाँले अत्यधिक मदिरा सेवन गर्न थालेपछि मदिरा सेवनकै कारण उहाँको गत कात्तिक १ गते मृत्यु भयो ।

आफूलाई सहारा दिने अनि छोरी हुर्काउन साथ दिने श्रीमान्‌ले पनि सदाका लागि छोडेर गएपछि अहिले लक्ष्मीलाई छोरीहरू हुर्काउन निकै गाह्रो भएको छ । उहाँले भन्नुभयो, ‘छोरा मेरो भाग्यमै रहेनछ, छोरा नपाएपछि छोरीमै चित्त बुझाएकी थिएँ तर घरको झुप्रो भूकम्पले लग्यो । श्रीमान्‌ले पनि छाडेर संसारबाट बिदा हुनुभयो र हाम्रो साथ छोड्नुभयो । अब मेरो र छोरीहरूको सहारा कोही छैन ।’

लक्ष्मीका ६ वटै छोरी थलारा गाउँपालिका-९ मा रहेको चक्रेश्वर माध्यमिक विद्यालय मालुमेलामा पढ्दै छन् । जेठी छोरी संगीता गिरी कक्षा ९ मा पढ्नुहुन्छ भने कान्छी छोरीलाई पनि यो वर्ष बालकक्षामा भर्ना गरिएको छ । भूकम्पले उहाँको घर भत्काएपछि अहिले एकजना समाजसेवी विष्णु ऐडीले जस्ताको पाता लगाएर उहाँलाई बस्नका लागि सानो टिनको टहरा निर्माण गरिदिनुभएको छ ।

अहिले छोराछोरीको जीवन कसरी धान्ने चिन्तामा हुनुहुन्छ । उहाँलाई धेरै सन्तानले गरिबी बढाउने र जीवनमा पर्न सक्ने कठिनाइको चिन्ताले भने छोडेको छैन । उहाँसँग खेतीपाती गर्ने थोरै खेतीयोग्य जमिनमात्रै रहेको छ । ६ सन्तान र आफूसहित सात सदस्यीय परिवारको दैनिक छाक टार्नेदेखि आधारभूत आवश्यकता पूरा गर्न धौ-धौ छ । लक्ष्मीले भन्नुभयो, ‘धेरै सन्तान भएपछि परिवार धान्न मुस्किल भइरहेको छ ।’

उहाँले भन्नुभयो, ‘छोराछोरीको पालनपोषण, पढाइ खर्च जुटाउन जंगलबाट काठदाउरा ल्याएर व्यापार गर्थेँ । अब उमेरले पनि सक्दैन, अब कमाइले नधानेपछि विद्यालय पढ्दै गरेकी जेठी छोरीलाई स्कुल छाडेर काम गर्न लगाउनुपर्ने भएको छ ।’

छोराकै आशमा धेरै सन्तान जन्माउने दम्पतीको प्रवृत्ति समाजमा धेरै छ । छोरा र छोरीबीच विभेद हटेको छैन । परिवार नियोजन, थोरै सन्तानबाट हुने सुख र अभिभावकीय दायित्व तथा जिम्मेवारीबारे स्थानीय तह, विभिन्न संघसंस्थाले सामाजिक सचेतना कार्यक्रम गरे पनि ‘छोरा’लाई मात्रै सन्तान मान्ने परम्परा तोडिन सकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?