फरक क्षमता भएका नागरिकलाई सरकारले प्रोत्साहन गर्छ : मन्त्री आचार्य

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले फरक क्षमता भएको व्यक्तिलाई सरकारले प्रोत्साहन गर्ने बताउनुभएको छ । नेपाल पर्यटन बोर्डको सभाहलमा आज आयोजित कवि दर्शन केसी ‘शान्कु’ले लेख्नुभएको अङ्ग्रेजी भाषाको कवितासङ्ग्रह ‘दर्शन’ सार्वजनिक गर्दै उहाँले फरक क्षमता भएका नागरिकलाई सरकारले सम्मान गर्ने बताउनुभएकाे हाे ।

“बालबालिकाको हकमा काम गर्न हामीलाई कानुनले रोकिरहेको थियो । विगत छ वर्षदेखि बालबालिका नीति मन्त्रालयमा अड्किएको रहेछ । मैले त्यसलाई अगाडि बढाएर हिजोको मन्त्रिपरिषद्को बैठकबाट पास गरेका छौँ”, मन्त्री आचार्यले भन्नुभयो, “अब मन्त्रालयले लक्षित कार्यक्रमलाई गति दिनेछ । फरक क्षमता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा यस्ता कार्यक्रमले फरक ल्याउँछ । हामीले यस्ता प्रतिभालाई प्रोत्साहन गर्न जरुरी छ ।”

कवि केसीले नाकको सहायताले लेख्नुभएको कविता पढेर आफूलाई पनि केही गरौँ भन्ने लागेको अभिनेता राजेश हमालले बताउनुभयो । “कहिलेकाहीँ म अल्छी हुन्छु, तर दर्शनजीको कविता पढेपछि कविता लेख्ने जाँगर बढेको छ किनकि परिस्थतिले हामीलाई छेक्दैन, हामीसँग उक्त कार्य गर्ने प्रेरणा चाहिन्छ । उहाँको कृतिले हामीलाई प्रोत्साहन गरेको छ”, अभिनेता हमालले भन्नुभयो ।

एभरेष्ट ग्यालरीले आयोजना गरेको कार्यक्रममा सहभागी भएर हौसला बढाएको भन्दै कवि केसीले उपस्थितलाई धन्यवाद दिनुभयो । “मलाई तपाईँहरूको साथले झनै प्रोत्साहन मिलेको छ । म आगामी दिनमा पनि लेखनलाई अगाडि बढाउने छु”, कवि केसीले लेख्नुभएको सन्देश उद्घोषकले पढ्नुभएको थियो । उक्त अवसर कवितासङ्ग्रह बजारमा उपलब्ध भएको जानकारी गराइएको थियो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?