कुनै पनि छानबिन निष्पक्ष हुनुपर्छ : मन्त्री गुरुङ

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

स्याङ्जा । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचारसम्बन्धी छानबिन निष्पक्ष ढङ्गले हुनुपर्ने बताउनुभएको छ । भ्रष्टाचारलगायतका विभिन्न विषयमा ठूला मान्छे जोडिएपछि छानबिन फितलो हुने गरेको भन्दै यसलाई अझ दरिलो तरिकाले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्रेस युनियन स्याङ्जाले आज वालिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले छानबिन प्रक्रियाप्रति आफू पूर्णरुपमा सन्तुष्ट नरहेको बताउनुभएको हो । “भ्रष्टाचार, तस्करी, सुनकाण्डलगायतका विषयमा जब छानविन सुरु हुन्छ तब ठूला मान्छेको नाम जोडिन्छ अनि निष्कर्षमा पुग्न नपाउँदै रोकिन्छ, यो प्रवृत्तिको अन्त्य हुनुपर्छ, दोषी जोसुकै भए पनि सजायको भागीदार हुनैपर्छ”, उहाँले भन्नुभयो ।

मन्त्री गुरुङले गठबन्धनमा रहेका पार्टीको स्वीकृतिमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनःगठन गर्नसक्ने बताउनुभयो । मन्त्रीहरुको कामको मूल्याङ्कन, पार्टीको स्वीकृतिमार्फत मन्त्रिपरिषद् पुनःगठन हुनसक्ने उहाँको भनाइ थियो ।

“प्रधानमन्त्रीको सोचअनुसार काम गर्नसक्ने मन्त्रिमण्डलमा अटाउनु हुन्छ”, उहाँले भन्नुभयो, “सोअनुसार काम गर्न नसक्ने बिदा हुनुहुन्छ ।” मन्त्रिमण्डल पुनःगठन गर्दा गठबन्धनमा सहभागी भएका राजनीतिक दलहरुको सहमतिबाटै हुने उहाँको भनाइ थियो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?