इलाम । पाँचथरमा सडक सञ्जालको असहज महसुस गर्दै बसाइँसराइ लिएर इलामको माङ्सेबुङमा आउनुभएकी हरिमाया राईले अहिलेसम्म पनि सहज सडकको उपभोग गर्न पाउनुभएको छैन । राई सहज सडक उपभोग गर्न पाइन्छ भनेर माङ्सेबुङमा आएको तर सडकमा गाडी गुड्दा बस्ती नै धुलोले ढाक्ने सास्तीमाथि सास्ती थपिएको पीडा पोख्दै अहिलेसम्म पनि कालोपत्रे सडकको पर्खाइमा बसिरहनु भएको छ । तर, उहाँ जब माङ्सेबुङ आउनुभयो त्यसअघि नै निर्माण थालिएको सडक निर्माण कार्य पूरा नहुँदा अहिले भने निराश देखिनुहुन्छ । राई जस्तै माङ्सेबुङकै अर्का स्थानीय डम्बर लोरिङदेनको पनि सडककै समस्या छ । झापाको दमकदेखि इलामको माङ्सेबुङ गाउँपालिका हुँदै पाँचथर र इलामको संगमस्थल चिसापानी पञ्चमीसम्म जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण पूरा नहुँदा हिउँदमा धुलाम्मे र बर्खायाममा हिलाम्मे हुने समस्याले बर्सेनि सताउने गरेको उहाँ बताउनुहुन्छ ।
समयमै सडक नबन्दा हिउँदमा भन्दा बर्खामा धेरै सास्ती हुने गरेको उहाँको भनाइ छ । उहाँले यही सडक निर्माण नहुँदा धेरै नागरिकले बिरामी हुँदा समयमै अस्पतालसम्म पुग्न नसक्दा अकालमा ज्यान गुमाउनु परिरहेको बताउनुभयो । उहाँहरूको वेदना त केबल प्रतिनिधिमूलक मात्र हुन् । सडककै कारण पश्चिमी इलामका हजारौँ नागरिकका पीडा बनिरहेको छ यही सडक । नेताले पनि यही सडकलाई माध्यम बनाएर चुनावमा होमिए र जितेर गए तर सडक जस्ताको त्यस्तै छ । यही सडकमा हिलो र धुलोको सास्ती भोग्न बाध्य छन् पश्चिमी इलाम र पाँचथरका नागरिक । निर्माण सुरु भएको तीन दशक भइसकेको छ । तर, अझै पनि झापाको दमकदेखि इलामको माङ्सेबुङ हुँदै पाँचथर÷इलामको संगमस्थल चिसोपानी पञ्चमीसम्म जोड्ने दमक-चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माणले पूर्णता पाउन सकेको छैन ।
३३ किलोमिटर दूरीको सो सडक कालोपत्रेका लागि ठेक्का लागेको पाँच वर्ष बितिसकेको छ । ठेक्काको म्याद पटकपटक थपिँदासमेत काम भएको छैन । ट्र्याक चौडा गर्दै कालोपत्रे गर्ने काम आधा पनि भएको छैन । तीन खण्डमा विभाजन गरेर पाँच वर्षअघि तीन वर्षमा काम पूरा गर्नेगरी ठेक्का लागेको थियो । पहिलो खण्डअन्तर्गत दमकको पहिलो विन्दुबाट सात किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का महालक्ष्मी–किरातेश्वर जेभीले ३० महिनाभित्र सक्ने गरी २०७५ साल साउन अन्तिममा सम्झौता गरेको थियो । २२ करोड ५९ लाख ६४ हजारमा ठेक्का लिएर सो निर्माण कम्पनीले काम अलपत्र छाडेको छ । चारपटक म्याद थप भएको र अन्तिमपटक थपिएको म्याद गत असार मसान्तमा सकिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । दोस्रो खण्ड १५ किलोमिटर सडक ५४ करोड ४४ लाख ८७ हजारमा र तेस्रो खण्ड ११ किलोमिटर सडक ५९ करोड १५ लाख ३५ हजारमा निर्माणको ठेक्का लुम्बिनी-गणपति जेभीले पाएको थियो । दोस्रो खण्डमा करिब ६२ प्रतिशत र तेस्रो खण्डमा २८ प्रतिशत काम भएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । सडकमा धेरैजसो ठाउँमा नाली निर्माण र ग्याभिङ वालको काम भने सम्पन्न भइसकेको छ ।
सडक निर्माणले गति नलिँदा स्थानीयले जिल्ला प्रशासनलाई गुहार मागेका छन् । स्थानीयको गुनासोलाई सम्बोधन गर्दै बुधबार सडक सम्बद्ध सरोकारवाला, निर्माण व्यवसायी र स्थानीयवासीबीच भएको छलफलमा निर्माण कम्पनीले तत्कालै काम सुरु गर्ने प्रतिबद्धता जनाएका छन् । योसँगै सडक निर्माणले गति लिने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।
छलफलमा सडकको सुरुको खण्डको निर्माण व्यवसायी (महालक्ष्मी-किरातेश्वर जेभी)ले तत्काल सुरु गरेर आउँदो वैशाखभरमा काम सम्पन्न गर्नेगरी प्रतिबद्धता भएको-अन्य माथिल्लो दुई खण्डको निर्माण व्यवसायी (लुम्बिनी-गणपति जेभी)ले अर्को पुस सम्ममा सम्पन्न गर्नेगरी काम गर्ने प्रतिबद्धता जनाएको बताइएको छ । छलफलमा केही प्राविधिक र कानुनी विषयहरू समस्याका रूपमा उठान भएकाले त्यसलाई सडक विभाग र भौतिक पूर्वाधार मन्त्रालयमा पठाएर त्यतैबाट समाधान गर्ने र अरू विषयमा स्थानीयस्तरमा समन्वय गरेर काम छिटोभन्दा छिटो टुंग्याउने निर्णय भएको हिमालय टाइम्सलाई प्रजिअ यादवले बताउनुभयो ।
रतुवा खोलामै सवारीसाधन कुदाउनुपर्ने बाध्यता हटे पनि अन्य प्रगति भने हुन सकेको छैन । दमकदेखि घर्ती दोभानसम्म सडक सञ्चालनमा आए पनि सामान्य वर्षा हुनासाथ सडकमा सवारी आवतजावत बन्द हुने गर्दछ । निर्माण सुरु भएको तीन दशक बितिसक्दासमेत सडक निर्माणले पूर्णता नपाएपछि स्थानीयले चर्को विरोध जनाउँदै आएका छन् । यो सडकले पूर्व-प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र दमक (झापा) र पूर्व- संविधानसभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्बाङको निर्वाचन क्षेत्र माङ्सेबुङ (इलाम)लाई जोडेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच