धादिङका किसानहरु किवी खेतीतर्फ आकर्षित

तस्बिर : सामाजिक सञ्जाल

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 8 mins

धादिङ । पछिल्लो समय धादिङका किसानहरु किवी खेतीतर्फ आकर्षित भएका छन् । अन्य पेशा बन्दा यस पेशामार्फत राम्रो आम्दानी हुन थालेपछी किसानहरु किवी खेतीतर्फ आकर्षित हुन थालेका हुन् ।

यसो त धादिङ जिल्लाको कुल जनसंख्या ८० प्रतिसत मानिसहरु कृषि पेशामा नै निर्भर छन् । जिल्ला कृषी ज्ञान केन्द्र धादिङकाअनुसार धादिङका १३ वटै स्थानीय तहका किसानहरु कृषि पेशामा आबद्ध भएको जनाएको छ । यस्तै धादिङको नीलकण्ठ नगरपालिका वडा ३ का श्रीकृष्ण अधिकारीले किवी खेतीलाई वैकल्पिक खेतीको रुपमा विस्तार गर्नुभएको छ । लामो समय सम्म धादिङबेशीमा कपडा पसलको ब्यवसाय गर्दै आउनु भएका अधिकारीले उक्त पेशा छोडेर किवी खेती गर्न शुरु गर्नु भएको हो । उहाँले नीलकण्ठ नगरपालिका-१ काउलेमा १५ रोपनी क्षेत्रफलमा किवी खेती लगाउनु भएको छ ।

नगदेबालीको तुलनामा किवी खेतीबाट कम लगानीमा राम्रो आम्दानी लिन सकिने उहाँको भनाई छ । उहाँले सुरुमा ३०० को हाराहारीमा किविको बिरुवा लगाई सुरु गरेको किवी खेतीबाट हाल बार्षिक ४/५ लाखको आम्दानी गरिरहनु भएको छ । समुन्द्री सतह देखि ८०० देखि ३००० मिटर सम्मको उचाईमा किवी खेतीको लागी योग्य भएकोले धादिङका धेरै भु-भागमा बहुमुल्य किवी खेतीको राम्रो सम्भावना रहेको उहाँको तर्क छ ।

हाल प्रतिकेजी ३५० का दरले आफ्नै घर सिरानबजारबाट बिक्री बितरण गरिरहनु भएका उहाँले किवीको रेगुलर सेवनले निरोगी बन्न मद्दत गर्नुको साथै किवीलाई बढि पौष्टिक आहारको रुपमा समेत लिन सकिने बताउनु भयो । हाल गरिरहेको अन्न खेतीको तुलनामा किवी खेतीबाट ३ गुणा भन्दा बढि फाईदा हुने अधिकारीको भनाई छ । आगामी दिनमा किवी खेतीलाई बिस्तार गरेर लैजाने उहाँको सोच छ ।

रित्तिएको बस्तीमा हराभरा बनाउने सपनाका साथ वैकल्पिक सम्भावनाको खोजी गर्ने क्रममा किवी खेतीले मन तान्यो । उहाँले किवी खेती विस्तार गर्न थाल्नुभयाे । अहिले नीलकण्ठ-१ काउलेमा किवीको बोट झाङ्गिन थालेको छ । उहाँकै सिको टिपेर अन्यले समेत बैकल्पिक खेतीको रुपमा किवीलाई रोज्न थालेका देखिन्छन् । उहाँको खेतीबाट प्रभावित भएर हाल जिल्लाको रुवीभ्याली, नेत्रावती डवजोङ, गजुरी, बेनिघाट रोराङका र नीलकण्ठ कै ज्यामरुङमा समेत किसानहरुले किवि खेतीको सुरुवात गरेका छन् ।

आम्दानीको राम्रो स्रोत बन्ने अधिक सम्भावना बोकेको किवी फलका लागि तिनै तहको सरकार मिलेर धादिङलाई किवी पकेट क्षेत्र बनाउनुपर्ने उहाँका धारणा छ । दिनानुदिन बैदेशिक क्षेत्रमा युवाहरु पलायन भैरहेको बेला यस खेतीको प्रवर्द्धन गर्न सके बाँझो जमिन सदुपयोगका साथै देशमा नै रोजगारी सिर्जना हुने देखिन्छ । देशमा फलफुलमा किवी खेतीले आत्मर्निर बनाउनुका साथै बढि उत्पादन भएको खण्डमा खाडी मुलुक समेत निर्यात गर्न सकिने उहाँले बताउनुभयो ।

हाल उहाँले सदरमुकाम धादिङबेशीसहित काठमाडाैं, चितवनलगाएतको बजारमा किवी बिक्री गर्दै आएको बताउनुभयो । फलफूलको राजा उपनामले परिचित फल किवीले बजार विस्तार हुदै गएको छ । किसानले लगाएको खेतीबाट किवी उत्पादन हुन थालेसँगै धादिङबेशी बजारमा किवीको माग निरन्तर बढ्दै गएको छ । किसान मैत्री शीतभण्डारको व्यवस्था भएमा किवीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने उहाँको भनाइ छ ।

किवी फल लहरामा फल्ने बहुबर्षीय, हिउँद महिनामा पात झर्ने भएकोले हिउँदे तथा पतझर फलफूल अन्तर्गत पर्दछ। किवी फलको बहुउपयोगी गुणले गर्दा संसारको सबै फलफूल भन्दा उत्कृष्ट फलको रुपमा चिनिएको छ । यो फलको खेती तथा उपभोग दर विस्तार हुदैछ ।
यसलाई शुरुमा चाईनिजमा गुजबेरी भनिन्थ्यो भने पछि न्यूजील्याण्डको राष्ट्रिय चरा किवीको नामबाट यस फलको नामाकरण कीवी गरिएको हो । नेपालको पूर्वी पहाडी जिल्लाहरुमा धेरै समय अगाडि देखि जङ्गली कीवी फलको बोट घाँसको रुपमा पशुवस्तुहरुलाई खुवाईने गरेको र फल अचारको रुपमा प्रयोग हुदै आएको छ । यस फललाई नेपाली भाषामा ठेकी फल भनिन्छ भने शेर्पा भाषामा फेमियाल्दो भनिन्छ। हाल सम्म बिश्वमा ७६ प्रकारका किवी फलका प्रजातिहरुको पहिचान भैसकेको छ । यस फलको उत्पत्ति स्थल चीनको याङ्गजे नदिको भ्याली हो ।

महत्वः

किवी फलमा पाईने एक्टिनीडिन नामक ईन्जाईमले पाचन प्रक्रियामा सहयोग गर्दछ । यसमा प्रशस्त मात्रामा रेशा पाईने भएकोले पाचन प्रक्रिया तथा आन्द्रामा समयमा आउन दिदैन ।

हावापानीः

नेपालको सन्दर्भमा १२०० मीटर देखि माथि २४०० मीटर सम्मको उचाईमा किवी फलको खेती गर्न सकिन्छ । किवी बगैंचा स्थापना गर्नुपर्ने जग्गा धेरै उचाईमा छ भने दक्षिण तर्फ पहाडको मोहडा उपयूक्त हुन्छ । १२०० देखि १६०० मीटर उचाई भएको स्थानमा उत्तर पुर्व फर्केको मोहडा राम्रो मानिन्छ। असिना पर्ने स्थानमा यसको खेती गर्दा असिना अवरोधक नेटको प्रयोगबाट बाली जोगाउन सकिन्छ। किवीफलको नयाँ पालुवा पलाउनको लागि चिसो तापक्रम हुनु पर्दछ। हिउँद महिनामा औषत न्यूनतम तापक्रम १३ देखि १४ डिग्री सेल्सियस र औषत अधिकतम तापक्रम १३ देखि २५ डिग्री सेल्सियस किवी खेतीको लागि उपयुक्त मानिन्छ । बार्षिक बर्षा १५०० देखि २००० मिलिमिटर र ७६ देखि ७८ प्रतिशत सापेक्षिक आद्रता कीवी खेतीको लागि उपयुक्त मानिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?