नेपाली सेनाद्वारा हलेसीमा हेलिप्याडसहितको खेलमैदान निर्माण

नेपाली सेनाले निर्माण गरिदिएको खेलमैदानसहितको हेलिप्याड । तस्वीरः चिसाङ शेर्पा/हिटा

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । गोरखनाथ गण मुडे खोटाङले हेलिप्याडसहितको एकवटा खेलमैदान निर्माण गरिदिएको छ । हलेसी तुवाचुङ नगरपालिका-८ धितुङको लोकेबरमा रहेको सार्वजनिक जमिनमा हेलिप्याडसहितको खेलमैदान निर्माण गरेको हो ।

नेपाली सेनाको श्रमदान र हलेसी तुवाचुङ नगरपालिकाको जेसिभीमार्फत् दुई हप्ता लगाएर लम्बाई र चौडाई ३०-३० मिटर भएको हेलिप्याडसहितको खेलमैदान निर्माण गरिएको गोरखनाथ गण मुडेका गुल्मपति सुजन गुरुङले जानकारी दिनुभयो ।

खेलमैदानको बुधबार हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभयाे । खेलमैदान नजिकै पक्की दुईकोठे शौचालय पनि निर्माण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारको अवधारणा अनुसार नेपाली सेना, हलेसी तुवाचुङ नगरपालिका, वडा कार्यालय धितुङ र वडा कार्यालय महादेवस्थानको संयुक्त सहकार्यमा खेलमैदान निर्माण गरिएको गुल्मपति गुरुङले बताउनुभयो । यस हेलिप्याडमा नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकोप्टर अवतरण गर्न सक्नेछ ।

नेपाली सेना र नागरिकको सम्बन्ध सुमधुर गर्न तथा स्थानीय नागरिकहरुमा नेपाली सेनाप्रति सकारात्मक भावना र नेपाली सेना भनेकै जनताको साझा शक्ति हो भन्ने सन्देश दिनलाई पनि खेलमैदान निर्माण गरेकाे गुल्मपति गुरुङले बताउनुभयो ।

यसअघि नेपाली सेनाले दिक्तेल चखेवा भन्ज्याङ सडकअन्तर्गत चिउँरीडाँडाको पंखुखोला अघिको सडक श्रमदानमार्फत् मर्मत गरेका थिए ।
त्रि-धार्मिकस्थल हलेसीबाट केही माथि हेलिप्याडसहितको खेलमैदान निर्माणले पर्यटकीय सिजनमा हलेसीको सानो हेलिप्याडमा हुने एयर ट्राफिक जामको समस्या हट्ने मेयर राईले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?