कालीगण्डकी र म्याग्दी नदी किनारका सिमसार क्षेत्र नासिँदै

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । अत्याधिक नदी दोहन, सडक विस्तार, जनसंख्या वृद्धिसँगै अव्यवस्थित बसोबास र विकास निर्माणलगायत कारणले कालीगण्डकी र म्याग्दी नदी किनारको सिमसार क्षेत्र मासिँदै जान थालेको छ ।

वातावरणीय मूल्याङ्कन बिना नै जथाभावि खनिएका सडक,सिमसारका जग्गा अतिक्रमण, जलवायु परिवर्तन र बढ्दो औद्योगिकीकरणले पनि सिमसार क्षेत्र सुक्खा र उजाड बन्दै गएका सरोकारवालाहरुले बताएका छन् ।

सिमसार क्षेत्र मासिन थालेपछि त्यहाँ आहारा नपाइँदा रैथाने जातका चरा,जलचर प्राणी र स्थानीय जातका वनस्पति तथा आनुवांशिक स्रोतहरु समेत हराउन थालेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।

सिमसारको दिगो संरक्षण तथा व्यवस्थापन गर्न सके कृषि, सिँचाइ, वातावरण, ग्रामीण पर्यटन, जैविक विविधता, जनावरको संरक्षण, स्थानीयवासीका लागि आयआर्जनको माध्यम, स्थानीय तहको अर्थतन्त्र आत्मनिर्भर हुने डिभिजन वन कार्यालय म्याग्दीका चन्द्रमणी सापकोटाले बताउनुभयो ।

बढ्दो शहरीकरण, यातायात, अव्यवस्थित विकास निर्माणले सिमसार क्षेत्र व्यवस्थापनमा धेरै चुनौती थपिएको उहाँको भनाइ छ।
म्याग्दीका मुख्य सिमसार क्षेत्र खयरवराही ताल, बराहा दल, कालीगण्डकी, म्याग्दी नदी, रघुगंगा खोला लगायत हुन् ।
म्याग्दीका सिमसार क्षेत्र पुरिँदै र नासिँदै जानुमा नदी÷खोलाबाट अव्यवस्थित तवरमा बालुवा, गिट्टी र ढुंगा निकाल्नु, डोजरको प्रयोग गरेर जथाभाविरुपमा सडक खन्नु प्रमुख कारण रहेको सरोकारवालाहरुले बताएका छन् ।

पूर्ण रुपमा पानीले भिजेको क्षेत्र, प्राकृतिक रुपले बनेको तथा कृत्रिम रुपले बनाइएको, स्थायी वा अस्थायी रुपले जमेको पानी, जमिनमुनिको पानी वा वर्षाले जमेको वा बगेको पानीको क्षेत्रलाई सिमसारका रुपमा लिइने बन तथा वातावरण क्षेत्रका जानकार सापकोटाले बताउनुभयो ।
उहाँका अनुसार सिमसारले पानीको भण्डारण र सफाइ, जैविक विविधताको आश्रयस्थल, खाद्यान्न र जडीबुटी, सांस्कृतिक धार्मिक र ऐतिहासिक पर्यटकीयस्थल आदिको उपयोगिता प्रदान गरेको छ।

सिमसार क्षेत्रको संरक्षण एवं प्रवर्द्धन गर्न वृक्षरोपण, रिचार्ज पोखरी निर्माण गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।
परम्परागत रुपमा गाउँघरमा पोखरी, दह, कुवा आदिको संरक्षण गर्ने प्रचलन प्राचीन समयदेखि रहँदै आएको भए पनि पछिल्लो समय बढ्दो बसाइसराइ,विकासका नाममा भित्रिएको डोजर संस्कृति आदिका कारण धारा,कुवा,पधेरा,पोखरी,बर,पिपल आदिको संरक्षणमा चासो घट्दै गएको मंगला गाउँपालिका २ का ७२ वर्षिय हरिकृष्ण पौडेलले बताउनुभयो ।

मानवीय अतिक्रमण र वातावरणीय प्रदूषणका कारण पनि म्याग्दी र कालीगण्डकी नदीको अस्तित्व संकटमा पर्दै गएको वातावरण संरक्षणकर्मीहरुले बताएका छन् ।

डोजर र स्काभेटरले जथाभावी उत्खनन् गर्दा कालीगण्डकी नदीको जलचक्र प्रणाली नै खलबलिँदै गएको छ । बालुवा, ढुङ्गाजस्ता नदीजन्य पदार्थको अनियन्त्रित उत्खननका कारण नदीले आफ्नो मौलिक र प्राकृतिक धार परिवर्तन गर्नुका साथै त्यहाँका जलचर प्राणी बसाइँ सर्दै गएपछि नदीको जलचक्र प्रणाली नै खलबलिएको वातावरणविद् चन्द्रकान्त घिमिरेले बताउनुभयो ।

राज्यले प्रभावकारी कदम चाल्न नसक्दा नदीको दोहन, उत्खनन, अतिक्रमण र नदीजन्य पदार्थको चोरी निकासीका कारण विश्वमै दुर्लभ मानिएको बहुमूल्य शालिग्राम शिला सङ्कटमा परेका उहाँको भनाइ छ । पहिलेको जस्तो कालीगण्डकी नदीमा शालिग्राम शिला पाइन छाडेको उहाँले बताउनुभयो ।

“पहिले पहिले नदी किनारमा नै शालिग्राम भेटिन्थे तर, अहिले बिचबिचमा गएमा खोज्दा पनि मुस्किलले पाइन्छन्न”,उहाँले भन्नुभयो । नदीको जलचक्र प्रणाली परिवर्तन हुँदा प्राकृतिक र मानवीय सङ्कटसमेत बढ्दै गएको छ । नदीले मौलिक धार परिवर्तन गर्दा बाढीपहिराका कारण तटीय बस्ती जोखिममा पर्दै जान थालेका छन् । नदी साविककोभन्दा गहिरो र साँघुरो बन्दै गएको बेनी बजारका जेष्ठनागरिक नैनकुमार श्रेष्ठले बताउनुभयो । कालीगण्डकी नदीको कुल लम्बाइ ८१४ किलोमिटर मध्ये झण्डै ५ सय किलोमिटर भाग नेपालमा बग्दछ भने ३ सय किलोमिटर भाग भारतमा बग्दै गंगा नदीमा समाहित भएर बंगालको खाडीमा पुग्दछ ।

कालीगण्डकीको तटीय इलाका तथा प्रसवण क्षेत्रमा रहेका विभिन्न तीर्थस्थल, धाम, घाट र मानवबस्तीलाई अध्ययन गर्दा यसको सभ्यता पनि वैदिककालसँग जोडिएको विश्वास गरिन्छ । कालीगण्डकी नदीको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, आर्थिक तथा पर्यटकीय दृष्टिले पनि ठूलो महत्व छ ।

कालीगण्डकी किनारको धेरै ठाउँमा घना मानव बस्ती, व्यापारिक केन्द्र र विभिन्न पुराणहरुमा वर्णन गरिए अनुसारका धार्मिक क्षेत्रहरु रहेको हुनाले कालीगण्डकीको सभ्यता निकै पुरानो सभ्यता मानिने पं नीलकण्ठ आचार्यले बताउनुभयो ।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?