बरहथवा घटनामा जुट्यो सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 4 mins

सर्लाही । सर्लाहीको बरहथवामा तीन दिनदेखि जारी आन्दोलनमा सहमति भएको छ। आइतबार दिउँसोदेखि बसेको जिल्ला सुरक्षा समिति, पीडितका प्रतिनिधि र आन्दोलित समूहबीच भएको छलफलबाट सहमति भएको हो।

आन्दोलित पक्षका मागको सम्बन्धमा स्थानीयस्तरमा सम्बोधन हुने माग तत्काल कार्यान्वयनमा लैजाने तथा स्थानीयस्तरमा पूरा गर्न नसकिने मागलाई केन्द्रमा सिफारिस गर्ने गरी सहमति भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी धमलाका अनुसार बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्र मधेश सरकारलाई हस्तान्तरण गरी ५० शय्याको बनाउने, सो अस्पतालको नाम प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको नामबाट नामकरण गर्ने, मृतकको परिवारलाई रोजगारी प्रदान गर्नेलगायत विषयमा सहमति जुटेको हो।

सहमतिसँगै गत शुक्रबार दिउँसो प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका बरहथवा नगरपालिका– ६ का ३० वर्षीय जयशंकर साहको शव आजै घटनास्थलबाट उठाउने तयारी भएको छ।

सहमतिलगत्तै बरहथवा क्षेत्रको अवस्था सामान्य बन्दै गएको प्रजिअ धमलाको भनाइ छ। सहमतिमा आन्दोलित पक्षले तत्काल आन्दोलनका कार्यक्रम फिर्ता लिने र प्रहरीको गोली लागेर मृत्यु भएका युवकको शव उठाउन दिने विषय समावेश रहेको उनले जानकारी दिए। यस घटनालाई लिएर शनिबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समितिमा सर्वदलीय बैठक बसेको थियो।

बैठकले गरेको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकायका प्रमुख राजनीतिक दलका प्रतिनिधिसहितको टोलीले घटनास्थलको निरीक्षण तथा पीडित परिवारसँग भेट गरेका थिए। भेटका क्रममा प्रमुख जिल्ला अधिकारी धमलाले आन्दोलित स्थानीयलाई धैर्य कायम गर्न आग्रह गर्दै घटनाका दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

नगर अस्पतालको स्तरोन्नति गर्ने विषयमा भएको आन्दोलनको क्रममा शुक्रबार दिउँसो प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ मा व्यवसाय गर्दै आएका जयशंकर साहको घटनास्थलमै मृत्यु भएको थियो। त्यसपछि थप आक्रोशित प्रदर्शनकारीले तीन दिनदेखि मृतकको शव घटनास्थलमै राखेर प्रदर्शन गरिरहेका थिए।

शनिबार केही शान्त देखिएको बरहथवा बजार क्षेत्रमा आइतबार एक्कासि तनावको स्थिति बनेपछि स्थानीय प्रशासनले दिउँसो १२ः४५ बजेदेखि सोमबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो। तर, प्रदर्शनकारीले कर्फ्युका बीच इलाका प्रहरी कार्यालयमा ढुंगामुढा गर्नुका साथै प्रहरी कार्यालयभित्र रहेको प्रतीक्षालयमा आगजनी गरिदिएका थिए।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?