मेरो अतीत मेरो अनुभव : केही स्मृति केही विस्मृति

Read Time = 13 mins

✍️ रमेशप्रसाद गौतम
गत सोमबारको अंकबाट क्रमशः
विस्तारै चन्द्रागिरिको उकालीबाट ओरालोतर्फ लागेँ । बाटामा भेटिएका केही भरिया र बटुवाहरूसँग बातचित गर्दै ओरालो लागेँ । केही बेरपछि चन्द्रागिरिको फेदीमा पुगे । त्यस बेला दिनको दुई बजिसकेको थियो । अब मलाई आतुर लाग्न थालेको अनुभूत हुन थाल्यो । चित्लाङ बजारमा पुगियो । पहिला पहिला आमासँग जाँदा मामाले खाजा खुवाउने गरेको खाजा खाने पसलमा गएँ र त्याहाँ दही चिउरा खाएँ । दही चिउरा र सख्खरसमेतको जम्मा ३० पैसा दिएँ । त्यहाँका पसलेहरूले पनि मलाई पहिला आएको देखेका थिए । कतिपय पसलेहरूले नेपालबाट भानिज आए भने आदरभाव पनि देखाउँथे । त्यस बेला भ्यालीबाहिरका मानिसले काठमाडौंलाई मात्र नेपाल भन्ने चलन थियो ।

यस किसिमको संकुचन भाव कसरी बन्न गयो । यो पनि अनुसन्धानको विषय नै थियो । चित्लाङपछि अब कहीँ बाटैमा साँझ पर्ला भन्ने डर उत्पन्न हुन थाल्यो । मैले आफ्नो रफ्तार बढाएँ । छिटो छिटो हिँडेर बिसिंखेल हँुदै नौखण्डीमा पुगेँ । त्यहाँबाट अझै एक घण्टा टाढा जानुपर्ने थियो । मेरो फूर्ति अझै बढ्दै गयो । उज्यालो छँदै नैखण्डी पार गरेँ । त्यस ठाउँमा अलि डर मान्नु पर्ने सुनेको थिएँ । झण्डै एक घण्टाको भन्दा बढी बाटो सुनसान नै थियो ।

मेरो जन्मथलो किम्सी हाल नागरजुन नगरपालिका अन्तर्गत वडा नं–७ मा पर्दछ । त्यसबेला त्यहाँ कुनै विद्यालय थिएनन् । हाम्रा परिवारका अग्रजहरू घरमै ठूला दाजुहरूसँग पढ्थे । यसको पढ्ने बेला भइसकेको छैन भन्ने भनाइले ममा पढ्ने इच्छा झनै तीव्र हुन्थ्यो ।

अब टिस्टुङ बजारमा पुगेँ । त्यहाँ बढी नेवार समुदाय थिए । तिनीहरू सरल, रसिला र मिलनसार जस्ता लाग्थे । म अझ सानुमा आमा र मामासँग आउँदा टिस्टुङका पसलेहरूले नेपालबाट हाम्रा भानिज आए कति राम्रा कति हसिला भन्दै बोकेर यता पसल उता पसल गरी आफ्ना पसलमा भएका मिठाई खुवाउने मेरो बगलीमा हाल्दिने गरेका दृश्यको भिडियो दिमागमा अझै ताजै छ । म ठूलो भएपछि एक्लै जाँदाखेरी पनि कतिपय नेवार समुदायका पसलेहरूले बोलाउँदै आउनुहोस् आज यतै बसेर भोलि माथि ढाल्टा गाउँ जानुहोला भन्दै गरेँ ।

मैले होइन आजै दशैँको टीका लगाउनुपर्छ भन्दै हिँडे । साँझ पर्‍यो कहाँ एक्लै जाने भन्दै एकजनाले भानिज भन्दै मलाई माथि मामा घरसम्म पु¥याउन गए । नाताले मामा नभए पनि तिनले देखाएको सौहार्द्रता र प्रेमले म अहिले पनि टिष्टुङका नेवार समुदायलाई मामा झैँ स्नेहवत् दृष्टिले हेर्ने गर्दछु ।

जीवनका अनेक ओराली उकालीका क्षणले बिझाउने झस्काउने गरी नै रहन्छन् । बाल्यकालमा म गाईका बाछा, भैंसीका पाडा, कुकुरका छाउरा, बाख्र्राका पाठा असाध्य मन पराउँथेँ । घरमा गाई भैंसीका लागि छुट्ट्रै गोठ थियो । त्यहाँ गाईका बाछा र भैंसीका पाडा गोठमा वा बाहिर आँगनमा घाममा बाँधेका बेला देख्न र तिनलाई सुमसुम्याउन सहजै थियो तर घरमा बाख्रा पाल्न भने पिताजीले मनाही गर्नुभएको थियो । म भने अरू अरूका गाउँका घरमा पालेका बाख्राका पाठा खेलाउन जान्थेँ । यसले आमालाई अन्यत्र अरूका बाख्रा पाठालाई चलाउन गएको त्यति मन पर्दैनथ्यो ।

एक दिनको कुरा हो आमाले तल्ला घरकी कान्छी भाउजूलाई बोलाएर तिम्रो एउटा बाख्राको मूल्य लिएर हामी कहाँ ल्याऊ न भन्नुभयो । कान्छी भाउजू अलि जाँगरी र मेरी आमाप्रति लोयल थिइन् । उनमा सीप पनि थियो । बाख्रा ल्याएरमात्र त भएन यसका लागि एउटा खोर पनि बनाऊ न भन्नुभयो । उनले तत्कालै त्यो काम पूरा गरी बाख्रालाई हाम्रै घरमा राख्ने प्रबन्ध मिलाइदिइन् ।

पिताजी गाउँ डुलेर घरमा आउँदा बाख्राको खोर र बाख्रो देखेपछि रिसाउनु भयो । बाख्रा केलाई ल्याएको यसले फोर गर्छ, यसका पाठा भान्छा छुन आउँछन् । घरमा मासु कसैले खाँदैन । बेचबिखन गरिँदैन किन चाहियो बाख्र्रा भन्नुभयो । आमाले, ‘रमेश छोरा गाउँमा अरूका पाठा चलाउने त्यहीँ जाने गर्न थाल्यो अनि ल्याएको’ भन्नुभयो । त्यसपछि पिताजीले आमालाई केही भन्नुभएन । ठीकै छ त अब सरसफाइमा ध्यान दिनू भान्छामा पाठाहरू आउनु भएन भन्नुभयो । त्यस बेला म भार वर्षमुनिकै थिएँ । बाख्रा र पाठा घरमा पालेपछि म धेरै खुशी भएँ । आफ्नै आँगन परिसरभित्रका दयालु बाछा, चुलबुले पाठा र कुकुरका छाउरासँग म रमाउँदै खेल्थेँ ।

कुकुरका छाउरासँग खेलेको देखेर मेरी साइलीआमा खुशी हुनुहुन्नथ्यो । घरकै छेउको परालको कुन्यौमा कुकुरले छाउरा जन्माएपछि म दिनमा धेरै समय त्यहीँ गइरहेको देखेर बाहुनको छोरो भएर कुकुरका छाउरासँग खेल्ने हो भनेर तानेर घरतर्फ ल्याउनुहुन्थ्यो । उहाँले रोक्न खोजे पनि म त्यतैतिर जानखोज्थेँ । बच्चाको माउ कुकुर पनि अरू कोही उसका छाउरा नजिक गयो भने भुक्ने र टोक्नेसम्म गथ्र्यो । तर, म जाँदा केही नगरेको देखेर कोही नौलो मान्छे आए कुकुरले टोक्ला छेक है भन्थे । म सानै भए पनि अरूलाई दुःख दिनु हुँदैन भन्ने भावना भएकाले कुकुर ढुकेर आउन खोज्दा म समात्थेँ र कुकुर अगाडि बढ्दैनथ्यो । मभन्दा कुकुर नै बलियो थियो तर मैले छेक्दा रोकिन्थ्यो ।

मेरो जन्म थलो किम्सी हाल नागरजुन नगरपालिका अन्तर्गत वडा नं–७ मा पर्दछ । त्यस बेला त्यहाँ कुनै विद्यालय थिएनन् । हाम्रा परिवारका अग्रजहरू घरमै ठूला दाजुहरूसँग पढ्थे । यसको पढ्ने बेला भइसकेको छैन भन्ने भनाइले ममा पढ्ने इच्छा झनै तीव्र हुन्थ्यो । यसपछि आमा भए ठाउँ पुगेर म पनि पढ्छु भन्थेँ । आमा लेखपढ गर्न जान्नुहुन्थ्यो । मलाई अगाडि राखेर सिलोट पेन्सिल दिएर विस्तारै क, ख चिनाउनु हुन्थ्यो । विस्तारै आमाकै प्रयासले मैले सावाँ अक्षर सिकेँ । आमा सिलोटको माथि केही अक्षर लेखी यसैगरी तैँले पनि लेख त भन्नुहुन्थ्यो । आमाका अक्षर राम्रा थिएनन् । शायद त्यसैले मेरो अक्षर अहिलेसम्म पनि त्यति राम्रा छैनन् ।

म बाल्यकालदेखि नै अलि हट्टी स्वभावकै थिएँ । केही कुरा गरौँभन्दा अरूले हुँदैन भन्दा पनि गर्न खोज्थेँ । एक दिनको घटना हो म तीन वर्षको थिएँ होला भान्छामा हामी सबै बसेर खाना खाँदैथियौँ । हामी केटाकेटी भान्छा तल ठूला मान्छे माथि चुलामा बस्ने चलन थियो । हामी सबै पिर्कामाथि बस्थ्यौँ । पिताजीले साना ठूला सबै छोराहरूका लागि एकैनासका चरेसका ठूला थाल ल्याइदिनु भएको थियो । त्यसैमा आमाले भात, दाल, तरकारी पस्केर दिनुहुन्थ्यो । पहिला दालभात तरकारी खाएपछि अन्त्यमा दूधभात खाने चलन थियो ।

सानैदेखि अन्याय सहने बानी थिएन । गाउँका साथीभाइसँग खेल्दा हिँड्दा कुनै काम बेठीक लागे कहिल्यै साथ दिइनँ । सबै साथी एकतर्फ म एक्लो एकातर्फ भएर पनि मैले मुकाबिला गरेँ । गल्ती गर्नेले बढी विवाद गरे म हात छाड्न पनि पछि पर्दिनथेँ ।

दालभात तरकारी खाइसकेपछि दूधभात खान लागेँ । तिनताका एउटा भैंसी र एउटा गाई दुहुना थिए । त्यसदिन गाईको दूध बाछीले खाइदिए छ । यो कुराको ज्ञात त मलाइ भएन । अबोध भएकै कारण आमाले दूधभात मुछिने गरी नदिएको झोकमा खाँदै गरेको थाल उचालेर भान्छामा फ्याकिदिएछु । त्यसपछि पिताजीको भागदेखि दाजुहरूका भागमा पनि थाल उछिट्टिएर गयो । चरेसको थाल चकनाचुर भयो । व्रतबन्ध नगरेकाले सबैको भागमा जुठो पुर्‍याइदिएको भन्दै सबै भान्छा छाडेर ओर्लिए । म चाहिँ त्यहीँ बसिरहेँ । पिताजी कहिले नरिसाउने र कुनै पनि सन्तानलाई हात नहाल्ने मान्छेले मलाई दुख्नेगरी पिट्नुभयो पछि आमाले फकाएर लग्नुभयो । भाउजूले फेरि भान्छा सफा गरेर भात पकाउनुभयो ।

मैले पनि पूरै भात खाएको थिइनँ । दोस्रो बान भात पाकेपछि आमाले खान बोलाउनुभयो । म खान गइनँ । त्यस दिन म कसैसँग पनि बोल्दै बोलिनँ । मेरो जीवनमा पिताजीले पिट्नु भएको यो नै पहिलो घटना थियो । यसले मलाई गहिरो असर पुर्‍यायो । शायद पिताजीसँग ३ दिन बोलिनँ जस्तो लाग्छ । पछि क्रमैसँग मन शान्त हुँदैगयो । मैले गरेको बदमासीले केही नोक्सानी र केही मानसिक पीडा पनि दिएको महसुस गरेँ । आफैँले आफँैलाई गलत कार्यप्रतिको पछुतो हुनुपर्ने सोच आएर होला । त्यसपछि कहिल्यै पनि यस्तो किसिमले उग्रता देखाइनँ । मन नपरे नबोल्ने बानी चाहिँ पछिसम्म पनि रहृयो । शायद यो नै मेरो लागि र घरपरिवारको लागि ठीक भएझैँ लाग्छ ।

सानैदेखि अन्याय चाहिँ सहने बानी थिएन । गाउँका साथीभाइसँग खेल्दा हिँड्दा कुनै काम बेठीक लागे कहिल्यै साथ दिइनँ । सबै साथी एकतर्फ म एक्लो एकातर्फ भएर पनि मैले मुकाबिला ग।ेँ झुकिनँ । गल्ती गर्नेले बढी विवाद गरे म हात छाड्न पनि पछि पर्दैनथेँ । शारीरिक दृष्टिले बलियो पनि थिएँ । मेरा पिताजीका चार भाइ छोरामध्ये म कान्छो, त्यसमा पनि आमाहरू बितेपछि तेस्री आमाका तर्फबाट हामी जन्मिएका थियौँ । त्यसैले अरू ठूला बुबाहरूका सन्तानका छोरा, नाति, नातिनाहरू सँगैको थिएँ म । त्यसले गर्दा हाम्रा गौतम वृन्दालोमा ठूलो परिवार थियो । प्रायः ती सबैले काका भनेर मलाई सम्बोधन गर्नेगर्थे ।मशः

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?