फागुनको दोस्रो सातासम्म क्रिकेट रंगशाला तयार हुन्छ : शक्ति गौचन

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्यले शक्ति गौचनले रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनको दोस्रो हातासम्म तयार हुने बताउनुभएको छ ।

अस्ट्रेलियामा रहेको एक्स्ट्राटेक ओभल नामक आइटी कम्पनीले करिव ४० करोड लागत राखेर उक्त क्रिकेट रंगशालामा निर्माण गरिरहेको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य शक्ति तिलोत्तमा नगरपालिकास्थित पूर्व दरखसवामा निर्माणधीन सो रंगशालाको ब्राण्ड एम्बासडरसमेत हुनुहुन्छ ।

नेपाली टोलीका पूर्वस्पिनर शक्तिले अहिले रंगशाला पूर्ण रूपमा तयार भइनसकेको उल्लेख गर्दै फागुनको पहिलो वा दोस्रो हप्तासम्म तयारी हुने बताउनु भयो । रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनबाट सञ्चालनमा आउने भएको छ । उक्त रंगशाला प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता या अन्य खेलहरू खेलाउन सकिन्छ की भन्ने उद्देश्यले नेपाली क्रिकेटको निकाय नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र क्यानका पूर्वकार्यवहाक सचिव प्रशान्त मल्ललगायतले निरीक्षण गरेका थिए ।

क्यानका नेतृत्व उक्त मैदान अवलोकनपछि निकै उत्साहित समेत भए । नेपाली क्रिकेटको अविभावक संस्थाका नेतृत्वको भ्रमणपश्चात उत्साहित हुँदै रंगशालाका ब्राण्ड एम्बासडर तथा मेन्टर शक्तिले यो रंगशालाबाट नेपाली क्रिकेटमा केही योगदान दिन चाहेको धारणा राख्नुभयो ।

मैदानमा सात वटा पिच रहेको र सो पिच फागुनबाट प्रतियोगिताका लागि योग्य हुने भएको छ । उक्त रंगशालामा पेभेलियन, ड्रेसिङ रुम र अन्य रुमहरू निर्माण पनि भइरहेको छ । उक्त रंगशालामा तत्कालका लागि दर्शक सिट ५ हजार क्षमताको बनाउने र अन्य कृत्रिम बस्ने स्थान बनाइँदैछ । पूर्वक्रिकेटर शक्तिले यो मैदानको उद्घाटन प्रतियोगिता राख्ने योजना रहेको बताउनु भयो । उहाँले सन् १९९६ को नेपाली राष्ट्रिय क्रिकेट टोली, सन् २०१४ को राष्ट्रिय टोली र केही अन्य टोलीबीच टी-१० श्रृंखला आयोजना गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।

हाल रंगशालामा निर्माण गर्ने क्रममा खराब मौसमले केही प्रभावित भइरहेको छ । मैदानमा घाँस रोप्ने काम भइरहेको छ । सो रंगशालामा क्युरेटर माधव पाठकले काम गरिरहेका छन् । फागुनबाट राम्रो पिच तयार हुने क्युरेटर पाठकले बताउनु भयो । केही दिनमा पिचको काम हुनेछ भने आउट फिल्डको काम पनि शुरु हुनेछ । केही स्थानमा भने रोपिएका घाँस घाट्ने काम भइरहेको छ । घाँस नआएको स्थानमा घाँस रोपिन थालिएको रंगशालाका क्युरेटर माधव पाठकले बताउनु भयो ।

माघको पहिलो हप्ताबाट प्यारापिट र प्लयरको चेन्जिङ रुम बन्ने उहाँको भनाइ छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द रंगशालाको विकास देखेर निकै उत्साहित हुनुभएको उहाँको भनाइ छ । छोटो समयमा नै भौतिक पूर्वधार बनेको र मैदानमा घाँस पनि राम्रो भएकाले क्यानका अध्यक्ष चन्द खुशी भएको निर्माणमा सक्रिय टोलीको भनाइ छ ।

सो रंगशाला एक्स्ट्राटेक ओभल प्रा.लि.का निर्देशक विनोद कुँवरको सक्रियतामा बन्न लागेको हो । करिव पाँच बिघा क्षेत्रफलमा उक्त रंगशाला बनिरहेको छ । उक्त रंगशालाको उद्घाटन तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, शिद्धार्थ नगरपालिकाका उपप्रमुख उमा अधिकारी र क्यानका सचिव प्रशान्त विक्रम मल्ललगायतले गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?