सीआईबीले सार्वजनिक गर्‍यो रामबहादुर बम्जन

घरबाट १७ देशका मुद्रा, तीन करोड तीन लाख ७५ हजार नेपाली रुपैयाँ बरामद

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले ‘तपश्वी’ रामबहादुर बम्जनलाई सार्वजनिक गरेको छ।

सीआईबीले उनलाई पक्राउ गर्न ‘अप्रेसन ब्लु’ चलाएको थियो। उनलाई थप कारबाहीका लागि सर्लाही जिल्ला अदालत पठाइने सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिनुभयो । उनीविरुद्ध जिल्ला अदालत सर्लाहीमा मुद्दा दर्ता भएको छ।

बम्जन बसेको घरबाट नेपाली तथा विदेशी मुद्रा बरामद भएको छ। जसमध्ये ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र ३० लाख ९२ हजार ४०६ नेपाली रुपैयाँ बराबरको १७ देशको विदेशी मुद्रा गरी कूल ३ करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ बरामद भएको हो।

त्यस्तै उनको साथबाट केही सामान पनि बरामद भएका छन्। प्रहरीका अनुसार मोटरसाइकलको बिलबुकहरू ३ थान, टोयटा हिलक्स गाडीको चाबी १ थान, विभिन्न ब्राण्डका पेनड्राइभ २० थान, सोनी लेखिएको भ्वाइस रेकर्डर १ थान, विभिन्न ब्राण्डका ल्यापटप २ थान, विभिन्न ब्राण्डका मेमोरी कार्डहरू २ थान, विभिन्न ब्राण्डका मोबाइल १४ थान र विभिन्न ब्राण्डका आइ प्याड र ट्यापहरू ५ थान बरामद भएको छ।

उक्त गाडी किन्नका लागि ललितपुरको बुङ्मती बस्ने पनित महर्जनको नाममा धुम्बाराहीस्थित एक शोरुममा ५ करोड रुपैयाँ ‘बुक’ भएको प्रहरीले जनाएको छ ।

मंगलबार काठमाडौंको बुढानिलकन्ठस्थित आफ्नै घरबाट उनी पक्राउ परेका थिए।

बम्जनमाथि २० साउन २०७३ मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप छ ।

सीआईबीका डीएसपी धर्म भण्डारीको नेतृत्वमा २५ जनाको टोली उनको खोजीमा खटिएको थियो । सोही टोलीले उनलाई पक्राउ गरेको सीआईबीले जनाएको छ ।

प्रहरीले बम्जनको आश्रमबाट विभिन्न समयमा वेपत्ता भएका अनुयायीहरूको खोजी पनि सुरु गरेको छ । प्रहरीका अनुसार उनले पाँच जना अनुयायीलाई यौन शोषण गर्दै बेपत्ता पारेको उजुरीहरु छन् ।

बाराको निजगढ नगरपालिका–१२, रतनपुरी स्थायी घर भएका बम्जनले जम्मा कक्षा ५ सम्म अध्ययन गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?