
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी(नेपाल टेलिकम)को आइतबार काठमाडौंमा सम्पन्न १६औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को मुनाफामध्येबाट प्रतिसेयर ४० रुपैयाँका दरले सेयर धनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । करिब ९२ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयर धनीको उपस्थिति रहेको सभाले आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गरेको छ ।
साथै सञ्चालक समितिमा सर्वसाधारण सेयर धनीतर्फबाट प्रतिनिधित्व गर्ने एकजना सञ्चालकमा मनिषजंग जोशी निर्विरोध निर्वाचित हुनुभएको छ ।
सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले कम्पनीको १६औँ वार्षिक प्रतिवेदन पेश गर्दै दूरसञ्चार क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाको वातावरणमा मुनाफाभन्दा सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखी भौगोलिकरूपले अति विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने सरकारको अवधारणा कार्यान्वयनमा सहयोग गर्ने, विद्युतीय सुशासन क्षेत्रमा थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरमार्फत् सूचना महामार्ग निर्माण गरी सेवाको विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि कम्पनीले कार्यक्रम परिलक्षित गरिरहेको बताउनुभयो ।
सो अवधिमा कम्पनीको भ्वाइस सेवातर्फको बजार हिस्सा ७.८२ प्रतिशतले बढेर ६१.५१ प्रतिशत पुगेको जानकारी दिँदै उहाँले आन्तरिक तथा बाहृय वातावरणमा देखिएका विविध प्रतिकूलताका बीच कम्पनीले कुल ४४.४२ अर्ब आम्दानी गरी ७.९२ अर्ब मुनाफा गर्न सफल भएको बताउनुभयो । समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्कबापत कुल आयको ६४.०७ प्रतिशतले हुन आउने २८.४६ अर्ब राजस्व बुझाएर अर्थतन्त्रमा योगदान गरेको जनाएको छ ।
अध्यक्ष सुवेदीले फाइभ जी प्रविधि परीक्षणका लागि आवश्यक पूर्वाधारसहित तयारी अवस्थामा रहेकाले नियामक निकायबाट परीक्षणको स्वीकृतिसँगै परीक्षण सुरु गरिने बताउनुभयो । लाभांश पारित भएसँगै कम्पनीले आइतबारदेखि नै एनएमबी बैंकमार्फत् सर्वसाधारण सेयर धनीलाई वितरण गर्ने व्यवस्था मिलाएको कम्पनीका प्रवक्ता शोभन अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच