बुटवलमा माघ ४ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । बुटवल उपमहानगरपालिकाले पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० माघ ४ गतेदेखि शुरु गर्ने भएको छ ।

उपमहानगरपालिकाको खेलकुद विकास समितिले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सबै तयारी पूरा भएको बताएको छ। यस वर्ष सामुदायिकतर्फ २१, संस्थागततर्फ २१ गरी ४२ वटा टीम विभिन्न विधाका खेलाडी सहभागी हुने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिनु भयो।

उहाका अनुसार गतवर्षको तुलनामा यस वर्ष सहभागी हुने टीमको संख्या बढेको छ। उहाँले सबै खेलाडीहरुको १ महिनाको दुर्घटना बीमा गरिएको वताउनु भयो।
३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १७ विधाका ५४ खेलमा ३५० विद्यार्थीले भाग लिने अध्यक्ष पियाले बताउनु भयो। प्रतियोगितामा १८ वर्ष भन्दा मुनिका विद्यार्थीले भाग लिन पाउने र खेलाडीहरुको बीमाको समेत ब्यवस्था गरिएको बताउनु भयो।

प्रतियोगितामा फिल्ड हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेल हुनेछन्।
प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितियलाई १७ हजार पाँच सय र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कारको समेत व्यवस्था गरिएको संयोजक पियाले बताउनु भयो।

प्रतियोगिता सञ्चालनका लागि ५७ सदस्यीय मुल समिति, खेल विधाका समिति र १० वटा अन्य विधाका समितिहरु बनाइएको छ।
यस्तै मार्चपासमा सहभागी भइ उत्कृष्ट हुने पहिलोलाई १० हजार, दोश्रो हुनेलाई ५ हजार र तेश्रो हुनेलाई २ हजार ५ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगिता सञ्चालनका लागि बुटवल उपमहानगरले २० लाख र संघ सरकारको सशर्त अनुदानबापतको १ लाख गरी २१ लाख बजेट रहेको छ ।
कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले उत्कृष्ट रुपमा प्रतियोगिता सञ्चालनका लागि निर्देशन दिनुभयो । उहाँले विद्यार्थीले आफ्नो प्रतिभा प्रस्फुटन गर्नको लागि प्रतियोगिता अवसर रहेको बताउँदै प्रतियोगितालाई नियम संगत अनुशासन ढङ्गले सञ्चालन गर्दै राष्ट्रिय प्रतियोगितासरह बनाउन आग्रह गर्नु भयो।

बुटवलले खेलकुदलाई विशेष प्राथमिकता दिएको बताउँदै छिटै नै विद्यालयस्तरबाट खेलाडी उत्पादनका लागि फुटबल प्रतियोगिता आयोजना गर्न लागेको मेयर पाण्डेले बताउनु भयो । बुटवलमा खेलमैदान निर्माणलाई पनि विशेष जोड दिएको उहाँको भनाई थियो।

प्रतियोगिताको उद्घाटनमा मार्चपाससहितको ¥यालीको मूल्याङ्कनको आधारमा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमशः १० हजार ५ हजार र २५ सय पुरस्कार प्रदान गरिने नगर खेलकुद विकास समितिका सचिब प्रेम बस्नेतले बताउनु भयो ।

प्रतियोगिता माघ ४ गते बिहीबार बिहान ११ बजेदेखि बुटवल ११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शुरु हुने उहाँले बताउनु भयो ।
गत वर्षको रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिका मानवज्ञान माविले जितेको थियो । प्रतियोगितामा नवीन औद्योगिक माध्यमिक विद्यालय दोश्रो र न्यु होराइजन माध्यमिक विद्यालय तेश्रो भएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?