यो संसारमा जति सूक्ष्म वस्तु छ त्यो त्यति नै शक्तिशाली पनि हुने गर्दछ । एक वा एकभन्दा अधिक परमाणु मिलेर नै वस्तु बनेका हुन्छन् । परमाणु शक्तिशाली भएजस्तै हरेक विषय र वस्तुका सूक्ष्मतम एकाइ पनि विशेष महत्वका हुने गर्दछन् । जुनसुकै कुरामा पनि सूक्ष्म विषयवस्तुको विशेष विचार हुने गर्दछ । कुनै वस्तु सुन्दर छ भने उसका सूक्ष्मतम पक्ष पनि सुन्दर हुन्छन् । यही सूक्ष्म पक्षलाई समातेर नै संसारमा नवीन आविष्कार भएका छन् ।
आजको न्यानो टेक्नोलोजी पनि यही सूक्ष्म पक्षको विचार विमर्श गरी कार्य गर्ने प्रविधि हो । यसरी विषयवा वस्तु जति सूक्ष्म हुँदै जान्छन् त्यति नै व्यापक र अर्थयुक्त हुन्छन् । तिनै सूक्ष्म कुराको सही विन्यस नै सुन्तर प्रतिकृति हुन्छ । जीवन र जगत्का यावत् पक्षमा सूक्ष्म विषयवस्तुको विशेष भूमिका रहने गर्दछ । जसले उक्त विषय वा वस्तुलाई जीवन्त तुल्याएको हुन्छ ।
सफलता साना कुरामै अडिएको हुन्छ । हाल चर्चामा रहेको ‘टुवेल्थ फेल’ फिल्मका विषयवस्तु पनि महत्वपूर्ण छन् । किन सबैको हृदयसम्म वेद्य भयोभन्दा यसका पछाडि सूक्ष्मतम एकाइको नै विचार गर्नुपर्ने हुन्छ । विषयवस्तुको उठान गर्दैमा मात्र राम्रो फिल्म बन्छ भन्ने होइन । उक्त फिल्म बन्न १० वर्षको मिहिनेत लागेको कुरा पनि स्मरणीय छ । यसका साथै निर्देशकले हरेक विषयवस्तुका बारेमा गरेको सूक्ष्मतम गहन अध्ययन पनि विशेष महत्त्वको रहेको छ । अन्तर्वार्ताका क्रममा निर्देशकले उक्त चलचित्र तयार गर्न के कस्ता कुरामा सूक्ष्म अध्ययन गरे भन्ने विषयका बारेमा प्रकाश पारेका छन् । विषयवस्तुको गहिराइमा पुगेर वास्तविकताको बान्की ल्याउने कार्यमा फिल्म सफल भएको छ । सानासाना कुरामा गरिएको मेहेनतले नै फिल्मलाई सफलताको शिरमा चढाएको हो ।
हरेक विषयवस्तु सूक्ष्ममा नै तात्विक हुन्छन् । सूक्ष्म विषयवस्तुमा नै वास्तविकताको राज लुकेको हुन्छ । आँखाको नानी सानो हुन्छ तर त्यसको महत्ता सबैभन्दा धेरै हुन्छ । उक्त नानीभित्र पनि कति सूक्ष्मतम एकाइ हुन्छन् भन्ने विषय तद् विषयका विज्ञलाई नै थाह हुन्छ ।
मूलतः निर्देशकले खेलेको भूमिका प्रशंसनीय छ । हरेक पात्रका अन्तरतहको सूक्ष्म अभिव्यक्ति फिल्ममा देख्न सकिन्छ । आजको समयमा व्यक्तिले गर्नुपरेको संघर्षको मूलकथालाई प्रस्तुतीकरणका सूक्ष्म एकाइको सुन्दर विन्यासले चलचित्र सम्वेद्य बन्नपुगेको छ । हरेक दृश्यलाई तौलिएर उपयुक्त विषयवस्तुको हिसाबपूर्वक विन्यास गरिएको छ । समसामयिक विषवस्तुको उठानका प्रस्तुति सूक्ष्म रूपमा सुन्दर ढङ्गले विन्यस्त छन् ।
यसैले चलचित्र सबैको प्रिय बन्न पुगेको छ । प्रेमदेखि व्यववहार, प्रविधि, प्रस्तुति, अभिनयलगायत हरेक पक्षमा सूक्ष्मतम एकाइलाई केलाइएको छ । निर्देशकले फिल्मका सूक्ष्म एकाइमा ध्यान नदिएका भए आजको जस्तो चर्चा नहुन पनि सक्थ्यो । छोटो समयमा पनि फिल्म बन्न सक्थ्यो तर त्यो वास्तविकता दिनका निम्ति नै उनले लामो समयसम्म अभ्ध्ययन अनुसन्धान गरी त्यो तत्व प्रदान गरेका छन् जुन आजका दर्शकलाई चाहिएको छ । यसरी हेर्दाे उक्त चलचित्रमा सूक्ष्म पक्षको पनि मिहिन विश्लेषण गरी प्रस्तुति प्रदान गरिएको छ ।
हरेक विषयवस्तु सूक्ष्ममा नै तात्त्विक हुन्छन् । सूक्ष्म विषयवस्तुमा नै वास्तविकताको राज लुकेको हुन्छ । आँखाको नानी सानो हुन्छ तर त्यसको महत्ता सबैभन्दा धेरै हुन्छ । उक्त नानीभित्र पनि कति सूक्ष्मतम एकाइ हुन्छन् भन्ने विषय तद् विषयका विज्ञलाई नै थाह हुन्छ । हामी त स्थूल नै देखिरहेका हुन्छौँ र यही स्थूलमा पनि सुन्दर देखिरहेका हुन्छौँ । चाहे प्राकृतिक हुन् चाहे कृत्रिम हरेक विषयवस्तुमा सूक्ष्म एकाइको विशेष भूमिका रहने गर्दछ । वस्तु भएरमात्र पनि हुँदैन तद् वस्तुको विन्यास झनै महत्वपूर्ण रहने गर्दछ । मध्यम रूपमा सबै कुरा एउटै लाग्छन् । भेद छ्ट्याउन पनि सकिँदैन । जति सूक्ष्म कुरा खोतल्दै जान्छौं त्यति नै त्यो विषवस्तुको राज मिल्ने गर्दछ । जसरी सुनलाई जति आगोमा ततायो त्यति नै शुद्ध बन्दै जान्छ ।
ज्योतिषमा मध्यमग्रह एक सूत्रको प्रयोगले प्राप्त हुन्छन् तर स्पष्ट ग्रह ल्याउन निकै लोमासूत्र र प्रयोगकालामा विधि अपनाउनुपर्ने हुन्छ । मध्यमग्रहमा मन्दफल, शीघ्रफल चर, बेलातर, किरणवक्रता आदिको संस्कारपछि मात्र स्पष्ट ग्रहको स्वरूप जान्न सकिन्छ । यसरी मध्यम र स्पष्टबीचको अन्तरमा नै सूक्ष्म तात्विक कुरा हुने गर्दछन् । जीवन र जगत्का सूक्ष्मतम एकाइ विशेष महत्वका हुन्छन् । जसले यी विषयवस्तुमा भिज्ने सामथ्र्य राख्छन् ती उक्त विषयका साधक सिद्ध हुन्छन् ।
संगीतमा पनि सूक्ष्म एकाइको विशेष भूमिका हुन्छ । मूलतः सुर सात नै हुन् तर ती सात सुरभित्रका अनन्त नादको प्रस्फुटन नै वास्तमा सुन्दर संगीत हुन्छ । गायनमा पनि सूक्ष्म एकाइलाई सही ढङ्गले प्रस्तुत गर्नसक्ने असली गायक हुन्छन् । गायकीको राज पनि त्यही सूक्ष्म एकाइमा विद्यमान हुन्छ । जति पनि गायनमा सफल भएका छन् सबैले सूक्ष्म एकाइलाई नै राम्ररी प्रस्तुत गरेका हुन्छन् ।
व्यावहारिक कुरामा पनि साना साना कुराले विशेष महत्व राख्ने गर्दछन् । जसले एकअर्काका सानासाना कुरामा पनि विचार पुर्याउन सक्छन् ती नै वास्तमा असल व्यक्ति हुन्छन् । ‘मेरो पत्रकारिता’ पुस्तकमा प्रा.पुरुषोत्तम दाहालले बीपीको सूक्ष्मतम व्यावहारिक पक्षको उल्लेख गर्नुभएको छ । एक नेता भएपछि सबै कार्यकर्तासँग भिज्न सक्नुपर्दछ । सबैका भावना जान्न बुझ्न र आत्मसात गर्न जान्नुपर्दछ । बीपीलाई बीपी बनाउने मूल राज भनेको नै सबैका सानाभन्दा साना कुरालाई पनि दृष्टिगत गरी अघि बढ्न सक्ने व्यवहार नै हो । साना विषयवस्तु नै अधिक महत्वका हुन्छन् । यसैले सबैमा समभाव राख्न सक्नुपर्दछ । सबैका भावनालाई सम्बोधन गर्न सक्नुपर्दछ भन्ने भावनाले नै बीपीलाई जीवन्त राखेको हो ।
जसरी आगो सूक्ष्म झिल्काको समूह हो त्यसैगरी यो संसार पनि सूक्ष्म परमाणुको संयोजनबाट नै बनेको छ । वस्तु जति सूक्ष्म हुन्छ त्यति नै धेरै शक्तिशाली हुन्छ । यही सूक्ष्म शक्तिको सही सदुपयोगले जीवन र जगत्लाई सुन्दर बनाउँछ भने दुरुपयोगले कुरूप तुल्याउने गर्दछ ।
सामान्य मोबाइले खिचेको पनि फोटो नै हो अनि उच्चप्रविधियुक्त क्यामराले खिचेको पनि फोटो नै हो । ती दुई फोटामा हुने अन्तर छुट्याउन सूक्ष्म कुरामा नै ध्यान दिनुपर्ने हुन्छ । सामान्य दृष्टिमा दुवै फोटा नै हुन् र उस्तै देखिन्छन् पनि । मूलतः सामान्य र विशेष क्यामराले खिचेका फोटामा आकाशपातालको अन्तर हुन्छ । विशेष क्यामरामा सूक्ष्मतम एकाइ खिच्न सक्ने प्रविधि हुन्छ तर सामान्य क्यामरामा यो हुँदैन जसले फोटोलाई भिन्न तुल्याउने गर्दछ । ठूलाठूला फिल्म सुटिङ गर्न किन ठूला उच्च प्रविधियुक्त क्यामरा प्रयोग गरिन्छन् किन सामान्य मोबाइलबाट खिचिँदैनन् भन्ने विषयवस्तुका बारेमा दाँज्ने हो भने यही सूक्ष्म एकाइले नै काम गरेको कुरा बुझ्न सकिन्छ । सारमा परिणाम उस्तै देखिए पनि सूक्ष्म रूपमा भिन्न हुन्छन् ।
फोटोको वास्तविक स्वरूप विशेष प्रविधियुक्त क्यामराले नै खिचेका हुन्छन् जुन कुरा तत् विषयका विज्ञले छुट्याउने गर्दछन् । सामान्य व्यक्तिले त कम र अधिक राम्रोमात्र भन्न सक्छन् । कम्प्युटरको प्रविधि पनि यस्तै साना साना विषयवस्तुको संयोजनबाट चलेको हुन्छ । मूलतः बत्ती निभ्ने र बल्ने प्रविधि नै कम्प्युटर हो । यस्ता प्रक्रिया सेकेण्डभरमा करोडौं पटक भएका हुन्छन् र कम्प्युटरको प्रक्रिया सञ्चालित हुने गर्दछ । साना साना कुरालाई संयोजन गरेर आजका उच्चदक्ष प्रविधि तयार भएका छन् । अन्यथा आजको कम्प्युटरको युग सम्भव थिएन । साहित्यमा पनि यस्तै सूक्ष्म विषयवस्तु केलाइएका कृति उत्कृष्ट भएका छन् । सम्वेद्य बनाउने सूक्ष्म एकाइले नै हो । सूक्ष्म विषयवस्तुले नै विषयलाई गम्भीर तुल्याएका हुन्छन् ।
जसरी आगो सूक्ष्म झिल्काको समूह हो त्यसै गरी यो संसार पनि सूक्ष्म परमाणुको संयोजनबाट नै बनेको छ । वस्तु जति सूक्ष्म हुन्छ त्यति नै धेरै शक्तिशाली हुन्छ । यही सूक्ष्म शक्तिको सही सदुपयोगले जीवन र जगत्लाई सुन्दर बनाउँछ भने दुरुपयोगले कुरूप तुल्याउने गर्दछ । हरेक विषयवस्तु सूक्ष्म तत्त्व मिलेर नै बनेका हुन्छन् । ती सूक्ष्म पक्षको सम्बोधन भएका विषयवस्तु सर्वसम्वेद्य र सुन्दर हुन्छन् ।
यसैले साना कुरा भनी हेय दृष्टिले हेर्ने हाम्रो प्रवृत्तिलाई अब परिवर्तन गर्नु आवश्यक छ । किनकि
‘अमन्त्रमक्षरं नास्ति नास्तिमूल मनौषधम् ।
अयोग्य पुरुषो नास्ति योजकस्तत्र दुर्लभ ।।’
अर्थात् संसारमा अयोग्य कोही पनि छैन । हरेक शब्द मन्त्र हुन्, हरेक बोटविरुवा औषधी हुन्, हरेक व्यक्ति योग्य छन् केवल यी विषयवस्तु संयोजनको मात्र कुरा हो । जसले सूक्ष्म रूपमा सही र गलत विषयवस्तु छ्ट्याएर संयोजन गर्न सक्छ ती निश्चय नै सफल हुन्छन् । जसको उपयोग सर्वकल्ल्यणकारी रहने देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच