कार्यवाहक प्रधानमन्त्री खड्काद्वारा नेपाली सेनाको श्री नयाँ सबुज गण निरीक्षण

हिमालय टाइम्स
Read Time = 6 mins

चितवन । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज नेपाली सेनाको श्री नयाँ सबुज गण भरतपुरको निरीक्षण गर्नुहुँदै गणले सुरक्षा, उद्धार र विपद् व्यवस्थापनलगायतका काममा खेलेको भूमिको प्रसंशा गर्नुभएको छ ।

रक्षामन्त्री खड्काले मध्य पृतना हेडक्वार्टर नं ७ वाहिनी अड्डा अन्तर्गत रही तैनाथ यस गणले भरतपुर विमानस्थल सुरक्षाका साथै जल उद्धार, सडक दुर्घटना, विपद्जन्य परिस्थितिबाट सिर्जित सडक अवरोध हटाउने कार्यमा खेलेको भूमिका सराहनीय भएको बताउनुभयो ।

“यस गणका गतिपतिबाट आज प्रस्तुत भएअनुसार भरतपुर विमानस्थलको धावनमार्ग विस्तार र वैकल्पिक सडक निर्माणका लागि सेनाको स्वामित्वमा रहेको ७० बिगाहा आठ कठ्ठा चार धुर जग्गामध्ये करिब १९ बिगाहा चार कठ्ठा चार धुर जग्गा उपलब्ध गराउनुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो । उहाँले नेपाली सेनाबाट निर्मित केही भौतिक संरचनाहरु समेत स्थानान्तरण गर्नुपर्ने हुँदा यस सम्बन्धमा विभिन्न सरोकारवाला निकायबीच आवश्यक समन्वय र सहकार्य जरुरी छ भन्नुभयो ।

यस प्रक्रियामा रक्षा मन्त्रालय र नेपाली सेनाको तर्फबाट सम्बन्धित सरोकारवाला निकायसँग छलफल र परामर्श भइरहेको र सबैको सहयोगले यो विषय चाँडै निष्कर्षमा पुग्ने उहाँको भनाइ थियो । यसअघि विमानस्थलको धावनमार्ग विस्तारका लागि नेपाली सेनासँग जग्गा माग गरिएको थियो । त्यहाँ रहेको घोडा प्रजनन् केन्द्रलाई स्थानान्तरण गरेर विमानस्थलको धावनमार्ग विस्तार गर्ने योजना छ ।
भरतपुर महानगरपालिकाको प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कार्यवाहक प्रधानमन्त्रीसमेत रहनुभएका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्कासहित नेपाली सेना यस विषयमा सकारात्मक देखिएसँगै विमानस्थल विस्तारको कार्यले सकारात्मक रूपमा अघि बढ्ने देखिएको हो ।

कार्यवाहक प्रधानमन्त्री खड्काले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई विमानस्थल विस्तारका लागि आफू सकारात्मक रहेको बताउनुभएको थियो । भरतपुर विमानस्थलको धावनमार्ग छोटो हुँदा साना जहाजले मात्रै उडान र अवतरण गर्दैै आएका छन् । धावनमार्ग विस्तार गरेर ठूला जहाज उडान गर्न सकेमा रात्रिकालीन उडान र सस्तो भाडादरमा आवतजावत गर्न सकिने अपेक्षा गरिएको छ । धावनमार्गका आसपासमा संरचना बनेकाले यो विमानस्थललाई तराईको जोखिमयुक्त विमानस्थलका रूपमा लिइन्छ ।

खड्काले सो अवसरमा मध्यपृतना हेडक्वार्टर नं ७ बाहिनी अड्डाअन्तर्गत रही तैनाथ यस गणले भरतपुर विमानस्थल सुरक्षाका साथै जल उद्धार, सडक दुर्घटना, विपद्जन्य परिस्थितिबाट सिर्जित सडक अवरोध हटाउने कार्यमा खेलेको भूमिका सराहनीय भएको बताउनुभयो । राष्ट्रिय सुरक्षाको प्रमुख पहरेदारका रूपमा रहेको नेपाली सेनाले देशभित्र मात्र नभई विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा समेत संयुक्त राष्ट्रसङ्घको झण्डामुनि रहेर शान्ति स्थापनामा विशेष योगदान गर्दै आएको रक्षामन्त्री खड्काले बताउनुभयो ।

नेपाली सेनाको यस योगदानले नेपाल र नेपालीको शीर उँचो बनाएको भन्दै उहाँले सेनाको व्यावसायिक क्षमतालाई उच्च राख्न नेपाली सेनामा तालिम, प्रशिक्षण, भौतिक संरचनाको निर्माण तथा आधुनिक सैन्य उपकरणको व्यवस्था गर्न राज्यले निरन्तर जोड दिँदै आएको उल्लेख गर्नुभयो ।

“नेपाली सेनामा रही काम गर्ने सबै राष्ट्रसेवकको मनोबल र उत्प्रेरणालाई उच्च राख्न सरकारले प्राथमकिता दिएको छ । आगामी दिनमा राज्यको क्षमता र साधन स्रोतले भ्याएसम्म नेपाली सेनाको थप सुदृढीकरणका लागि विभिन्न व्यवस्था गर्दै लगिनेछ”, उहाँले भन्नुभयो ।

नेपाली सेनाले सीमित स्रोत, साधन र सुविधाको बाबजुद हिमाल, पहाड र तराई सबैतिर खटिएर अहोरात्र राष्ट्रको सुरक्षामा खटिएको भन्दै कार्यसम्पादनका क्रममा सेनाले भोगेका समस्या र अप्ठ्यारालाई सरकारले महसुस गरेको उहाँले बताउनुभयो । ती समस्या तथा अप्ठ्यारालाई आगामी दिनमा सरकारको क्षमताले भ्याएसम्म क्रमशः सम्बोधन गर्दै जाने दिशामा नेपाल सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।
रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?