दुई दशकदेखि अलपत्र सडक स्तरोन्नति हुँदै

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोला गाउँपालिकाका थुप्रै ग्रामीण सडकको अवस्था निकै नाजुक छन् । दुई दशक अगाडि ट्रायक खोलिएका सडक अहिलेसम्म पनि स्तरोन्नति हुन नसक्दा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । हिउँदमा धुलो र बर्खामा हिलोले सडक वरपरका स्थानीय आजितनै भएका छन् ।

वि.सं. २०६० सालमा जनसहभागिता ट्रयाक निर्माण गरिएको अक्षते–सुल्डाँडा–लेखानी सडक २० वर्षपछि स्तरोन्नति गरिने भएको छ । यसलाई लोकमार्गको वैकल्पिक सडकका रुपमा लिइन्छ । स्थानीयले कोदालो, गैँटी र बेल्चाले महिनौँ लगाएर निर्माण गरिएको सडक यस वर्ष स्तरोन्नती हुने भएको हो । बहुवर्षिय योजना अन्तरगत संघीय सरकार र काठेखोला गाउँपालिकाको सहकार्यमा सडक स्तरोन्नति हुन थालेको हो ।

काठेखोला–१ अक्षतेदेखि वडा नम्बर ८ लेखानी जोडिएको १५ किलोमिटर सडकका लागि चालु आर्थिक वर्षमा एक करोड विनियोजन भएको छ । भुदीखोला पुलदेखि स्तारोन्नतीसहित ग्राभेलिङ गर्ने योजना गरेको काठेखोला गाउँपालिका–८ का अध्यक्ष प्रमानन्द कँडेलले जानकारी दिनुभयो । जिल्ला सदरमुकाम नजिकै भए पनि अप्ठ्रो सडकका कारण करिब दुई घण्टा यात्रा गर्नु पर्ने स्थिति रहेको उहाँको भनाइ छ । सडक सहज भए लेखानीदेखि बागलुङ बजार ३५ मिनेटमै पुग्ने सकिने अध्यक्ष कँडेलले बताउनुभयो । अहिले पालिका केन्द्र सुलडाँडा आउनका लागि एक घण्टा लाग्ने उहाँ बताउनुहुन्छ । लामो समयदेखि उपेक्षामा सडक स्तरोन्नत‍ि हुन नसकेको कँडेलको भनाइ छ ।

“ट्रयाक खुलेको २० वर्ष भयो, अहिले बल्ल स्तरोन्नति गर्ने तयारी छ, धेरै लामो सडक होइन, अक्षतेदेखि लेखानीसम्म १५ किलोमिटर छ, तर अहिलेसम्म काम हुन सकेको थिएन, सडक साँघुरो र अप्ठ्यारो हुँदा दुर्घटना हुने र बर्खामा बढी समस्या हुन्थ्यो, आगामी असार मसान्तसम्म एक करोडको काम हुन्छन्, जसका लागि ठेक्का सम्झौता भइ सकेको छ,” अध्यक्ष कँडेलले भन्नुभयो – “सडक चौडा गर्ने, नाली निर्माण र बेसको अन्य काम हुने छ, बाटो स्तरोन्नति नहुँदा वर्षौँ हजारौँ नागरिकले समस्या भोग्नु परेको थियो, बर्खामा बढी समस्या हुन्छ, ठाउँ–ठाउँमा पहिरोले सडक भत्किदा यातायात ठप्प हुने गथ्र्यो, यद्यपि हामीहरुले जनसहभागिताबाट खुलाउँदै संचालन गर्दै आएका थियौँ, अबको बर्खामा सहज हुने आशा गरेका छौँ अबको डेढ दुई वर्षमा सबै सडक स्तरोन्नति हुने छ ।”

यो सडकले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तरगत काठेखोला गाउँपालिका–२ अक्षतेदेखि वडा नम्बर ६ तल्लो बिहुँ हुँदै वडा नम्बर ८ को लेखानी कादेससम्म जोडिएको छ । कच्ची सडकका कारण हिउँदमा धुलो र बर्खामा हिलोले सडक छेउका सबै घर पुरिने गरेको स्थानीय इन्द्रकली कँडेलले बताउनुभयो । यो सिजनमा दैनिकै आधा दर्जन बढी गाडी ओहोरदोहोर गर्ने हुँदा धुलोले सुलडाँडा क्षेत्रको सबै घर ढाकिएको गुनासो पोख्नुभयो । यहाँका स्थानीयले यो समस्या भोग्दै आएका साढे दुई एक दशक भढी भएको उहाँको भनाइ छ । सडक साँघुरो हुँदा बेला–बेला गाडीसमेत दुर्घटना हुने गरेको कँडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो – “यो सडक खुल्ने बेला हामीहरु धेरै सानो थियौँ, अहिले बुढेसकाल लाग्न थाल्यो यसको अवस्था उस्तै छ, सडकभन्दा मुनी धेरै घर छन्, अहिले पुरै धुलोले ढाकिएका छन्, दिनदिनै बाटोमा पानी छर्कने संभावना पनि हुँदैन, बर्खामा हिलोले उस्तै गरि ढाकिन्छ, कोही त यहाँको हिलो धुलोका कारण बसाइँसराइ पनि गरि सके, राज्यको कमजोरी होकी, निर्माण कम्पनीको कमजोरी हो, हामीहरुले बुझ्नै सकेका छैनौँ, यो वर्ष अलि राम्रो बनाउँने कुरा त सनेको थिए, हुने होकी होइन कुन्नी ।”

काठेखोला गाउँपालिका–६ का स्थानीय श्रीप्रसाद न्यौपानेले सडक स्तरोन्नति गर्ने आश्वासन वर्षौँदेखि आएको भन्दै अहिलेसम्म कामनै नभएको बताउनुभयो । सदरमुकाम नजिकै भएको हुँदा अन्य ठाउँभन्दा सुगम मानिए पनि काम भने हुन नसकेको उहाँको भनाइ छ । गाउँ ठाउँका सडक तथा अन्य विकासका लागि स्थानीय सरकार बढी ध्यान दिनु पर्ने न्यौपानेको भनाइ छ । साँघुरो सडक, त्यसमाथि सवारी साधानले क्षमताभन्दा बढी यात्रु हालेर बोक्दा यस क्षेत्रका नागरिकले ठूलो सास्ती खेप्नु परेको उहाँ बताउनुहुन्छ । गाडीमा यात्रा गर्दा दुर्घटना हुने डरले आँखा चिम्लेर हिड्नु पर्ने अवस्था रहेको न्यौपानेको भनाइ छ ।

“यो सडकमा राज्यको ध्यान जानै नसकेको हुँदा यतिका वर्षसम्म काम हुन सकेन, सांसद, अध्यक्ष, उपाध्यक्ष ज्यूहरुले धेरै पटक सडक राम्रो बनाउछौँ भन्नुभयो तर, अहिलेसम्म यहाँको अवस्था उस्तै छ, यत्ति सडक कालोपत्रे हुन्थ्यो भने पनि यस क्षेत्रका जनताका लागि ठूलो विकास मानिन्थ्याे,” उहाँले भन्नुभयो – “हामीहरुको कुराको सुनुवाई हुँदैन, जनश्रमदान गरेर सडक निर्माण भयो, राज्यले लगानी गर्न नसक्दा अहिलेसम्म कच्चीनै रह्यो ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?