नवलपरासी । नवलपरासीको बर्दघाटमा नमुना औद्योगिक ग्राम स्थापना हुने भएको छ । बजेट व्यवस्थापन, परियोजना निर्माण ठेक्कालगायतका गृहकार्यपछि शुक्रबार औद्योगिक ग्राम शिलान्यास गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले निजी क्षेत्रले उद्योग चलाउने र सरकारले उद्योग सञ्चालनको वातावरण बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘औद्योगीकरण नै देशको आर्थिक विकासको मेरुदण्ड हो, देशमा औद्योगिक लगानी आकर्षण गरी निर्यात प्रवद्र्धन गर्ने, रोजगारी सिर्जना गर्ने, व्यापार घाटा न्यूनीकरण र बाहृय भुक्तानी सन्तुलन कायम गर्नेतर्फ उच्च प्राथमिकतामा राखेर वर्तमान सरकारले काम गरिरहेको छ ।’
विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)का कार्यकारी निर्देशक चन्द्रिकाप्रसाद भट्टले २०७५ सालदेखि एक स्थानीय तह एक औद्योगिक ग्राम कार्यक्रम घोषणा गरेअनुसार प्राधिकरणले काम गरिरहेको बताउनुभयो । बर्दघाटमा बन्न लागेको नमुना औद्योगिक ग्राम निर्माणमा संघीय सरकारले शतप्रतिशत लगानी गर्ने भन्दै उहाँले निर्माणपछि निजी क्षेत्रलाई भाडामा दिने र व्यवस्थापन स्थानीय सरकारले गर्ने जानकारी गराउनुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले मुलुकका तीन नमुना औद्योगिक ग्राममध्ये बर्दघाट एक रहेको जानकारी गराउँदै औद्योगिक ग्राममा कुल ९० वटा प्लटमा साना, घरेलु तथा मझौला उद्योग सञ्चालनमा रहने बताउनुभयो । बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले नमुना औद्योगिक ग्राम शिलान्यासले बर्दघाटको औद्योगीकरणमा एक इँटा थपिएको बताउनुभयो । करिब १८ बिगाहामा रहेको औद्योगिक ग्राममा उद्योग दर्ता र अन्य महसुलमा विशेष छुट गराई उद्योगीलाई आकर्षित गर्ने बताउनुभयो ।
बर्दघाट उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद गौतमले बहुवर्षीय योजनाअन्तर्गत बन्न लागेको औद्योगिक ग्राममा बजेटको निरन्तरता, स्थानीय कच्चा पदार्थको उपयोगिता र ग्राम सञ्चालनमा निजीसँगको सहकार्यमा जोड दिनुभयो ।
सांसद विनोद चौधरीले आफूले निर्वाचनका बेला सार्वजनिक गरेका प्रतिबद्धता एक-एक गरी पूरा गर्ने क्रममा नमुना औद्योगिक ग्राम कार्यान्वयनको अर्को महत्वपूर्ण चरण भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म आर्थिक विकासका काममा कसैले राजनीति नगरोस् भन्ने चाहन्छु तर यहाँ त्यही भइरहेको छ । म एकपछि अर्को विकास परियोजना कार्यान्वयनमा व्यस्त छु तर हाम्रा कतिपय मित्रहरू मैले गरेका कामलाई विकास होइन, राजनीति हो भनिरहेका छन् । मेरो आग्रह छ, सक्नुहुन्छ भने तपाईँहरू पनि यस्तै विकासको राजनीति गर्नुस् । आर्थिक विकासको अध्याय अघि बढाउने काममा जोडिनुस् । चौराहाका चिया पसलमा गफ गरेर राजनीति गर्ने जमाना अब सकिए ।’ एसएमई भिलेज उद्यमशीलताको नमुना बन्ने र नवलपरासीका युवालाई उद्यमी बनाउन परियोजनाको ठूलो महत्व रहने उहाँको भनाइ थियो ।
सांसद चौधरीले भन्नुभयो, ‘अब साना तथा मझौला उद्यमी र यस्तो उद्यमको सोच राख्ने युवाका लागि एकीकृत सुविधा उपलब्ध रहने औद्योगिक ग्रामले स्वागत गर्नेछ । यसले यहाँका युवाका नयाँ सोच, नवप्रवर्तनका कार्यक्रमलाई अर्को तहमा पुर्याउनेछ भन्ने मेरो विश्वास छ, हामीले युवाका लागि युवा उद्यमशीलता तालिम अघि बढाइरहेका छौँ र उनीहरूका लागि बिउ पुँजी व्यवस्था गर्न पनि आवश्यक पहल लिनेछौँ ।’
प्रथम चरणको काम आगामी पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको रिलायन्स बिल्डर्स एण्ड सप्लायर्स जेभीमा कार्यरत प्राविधिक रविन्द्र शाहले बताउनुभयो । सांसद चौधरीले निर्वाचनका क्रममा नवलपरासीमा औद्योगिक विकासका लागि नमुना औद्योगिक ग्राम स्थापना गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
परियोजना प्रभावकारीरूपमा अघि बढाउन परियोजनालाई कुनै आर्थिक भार नपर्ने गरी चौधरी फाउण्डेसनका इञ्जिनियरहरूले प्रत्यक्षरूपमा सहयोग गर्ने बताइएको छ । तीन वर्षभित्र नमुना औद्योगिक ग्राम तयार गरी नवलपरासीलाई औद्योगिक विकासको मूल प्रवाहमा जोड्ने सांसद चौधरीको लक्ष्यअनुसार सांसद चौधरीको सचिवालयका अधिकारीहरूले पनि परियोजनाको निरन्तर अनुगमन गर्ने बताइएको छ ।