रुपन्देही-पाल्पा र बाँकेमा सडक स्वास्थ्य सहायता कक्ष स्थापना हुने

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 5 mins

रुपन्देही । रुपन्देही पाल्पा, सडकमा हुने बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै पाल्पामा ‘सडक स्वास्थ्य सहायता कक्ष’ स्थापना गरिने भएको छ ।

चालक, सहचालक र यात्रुको शारिरिक अस्वास्थताका कारण समेत दुर्घटना बढ्ने भएकाले लुम्बिनी प्रदेश सरकारको सहयोगमा पाल्पाका विभिन्न क्षेत्रमा सडक स्वास्थ्य सहायता कक्ष स्थापना गरिने भएको हो ।

दिनानुदिन सवारीसाधन दुर्घटना बढ्न थालेपछि सरोकारवाला निकायले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सचेतना अभियानका रुपमा स्वास्थ्य सहायता कक्ष सञ्चालन गर्न लागेका हुन् ।

अभियान अन्तर्गत सवारी चालकदेखि यात्रुसम्मको स्वास्थ्य परीक्षण गरिनुको साथै सचेतना जगाईने छ । सडक दुर्घटनाबाट धेरै यात्रुले अकालमा ज्यान गुमाउनुका साथै घाइते भई अंगभंग हुनु परेको छ ।जसलाई रोक्नका लागि चालक र यात्रुलाई दुर्घटना बारे सचेत गराउन सहायता कक्ष सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
सहायता कक्ष तानसेनको बसपार्क, रामपुरको बेझाड बजार, तिनाउ गाउँपालिकाको दोभानमा स्थापना गरी सेवा दिइने स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्र गिरीले तानसेनमा आयोजित सरोकारवालाहरुको अभिमुखीकरण कार्यक्रममा बताउनु भयो ।

उनका अनुसार प्रदेश सरकारको सहयोगमा पाल्पासहित रुपन्देही र बाँकेमा पनि सडक स्वास्थ्य सहायता कक्ष स्थापना गरिने छ । स्वास्थ्य सहायता कक्षमा स्वास्थ्यकर्मीबाट चालक, सह–चालक, सहयोगी र यात्रुको स्वास्थ्य परीक्षण गरी आवश्यकता अनुसार औषधी प्रदान गरिने छ ।
सहायता कक्षका लागि प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, ट्राफिक प्रहरी, यातायात व्यवसायी लगायतका सरोकारवाला निकायहरुको सहकार्य र समन्यवय रहने जनाइएको छ ।

स्वास्थ्य कार्यालयले सरोकारवाला निकायहरुसँग बसेर सहायता कक्ष स्थापनाका विषयमा अभिमुखीकरण कार्यक्रम समेत गरेको हो । कार्यक्रममा तानसेन नगरपालिका वडा नं. –६ का वडा अध्यक्ष सागरमान महर्जनले एक जना चालकको हातमा ४०÷५० जना यात्रु हुने हुँदा चालक पूर्णरुपमा स्वस्थ रही सवारी साधन चलाउनुपर्ने बताउनु भयो ।

चालकलाई स्वास्थ्य प्रति सचेत गराउन बेला बेलामा सडकमै स्वास्थ्य परीक्षण आवश्यक रहेको उनले उल्लेख गर्नु भयो ।कार्यक्रममा सहभागी जनप्रतिनिधी, ट्राफिक प्रहरी, यातायात व्यवसायी, स्वास्थ्यकर्मी, पत्रकार लगायतले पछिल्लो समय चालकहरुले मोवाइलमा कुरा गर्नुको साथै सुर्तिजन्य वस्तु खाई सवारी चलाउँदा समेत दुर्घटनाको जोखिम बढ्दै गएको बताउनु भयो ।

कहिले काही चालक, सहचालकहरु अस्वास्थ्य हुँदा हुँदै पनि सवारी चलाउँदा दुर्घटना हुने गरेको भन्दै यस्ता स्वास्थ्य सहायता कक्षले रोक्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा तानसेन नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख झविन्द्र न्यौपाने, नेपाल रेडक्रस सोशाइटी पाल्पाका सभापति बाबुराम कार्की, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा, जिल्ला ट्राफिक कार्यालयका प्रमुख राजकुमार चापागाई, श्रीनगर यातायात सेवा प्रालिका प्रमुख झविन्द्र गौतम, पश्चिम नेपाल बस व्यवसाय प्रालिका समरबहादुर थापा लगायतले सडक स्वास्थ्य सहायता कक्ष प्रभावकारी रुपमा सञ्चालन भएमा दुर्घटना न्यूनिकरण हुने भन्दै सबै पक्षबाट सहयोगको आवश्यकता रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?