नेपालमा राजनीतिकर्मीहरूको कमी छैन । पार्टी नै धेरै छन् र ती सबै पार्टीमा एक से एक नेताहरू छन् । नेताको शाब्दिक अर्थ गर्ने हो भने जसले नेतृत्व गर्न सक्छ त्यही नै नेता हो तर हाम्रो देशमा नेतृत्वको कुरा एकातिर पन्छाइन्छ र भाषणलाई पहिलो प्राथमिकता दिइन्छ । भाषणकलामा प्रवीण मानिस राजनीतिमा पनि सफल बन्न पुग्छ । योजना, दृष्टिकोण र दूरदर्शिता आवश्यक न्यूनतम योग्यता हुन् भन्ने ठानिँदैन । त्यस कारण विकास निर्माणका कामहरू पछि परिरहेका छन् । कतै-कतै हास्यास्पद काम भएका छन् भने कतै कागजी विकासमात्र हुने गरेको पाइएको छ ।
लाखौं वा करोडौं खर्च गरेर बनाइएका संरचना दुई-चार लाखमा बन्नसक्ने सामान्य टहरा जस्ता निर्माण गरेर झारा टार्ने काम हुने गरेका छन् । नभएका वा खोलै नभएका ठाउँमा पुल बनाउने जस्ता ठट्टा र हाँसीमजाकका काम नेताहरूबाट भएका छन् । हाम्रो देशमा राजनीतिज्ञ छन्, तिनमा क्षमता र सुझबुझ छ । विज्ञहरू पनि छन्, विदेशमा पढेर देशका लागि केही गर्छु भनेर स्वदेश फर्किएकाको संख्या पनि धेरै छ तर यहाँ तिनले उचित वातावरण नपाएर हो वा नेपालमा आएपछि सबैको भावनामा तुवाँलो लाग्ने गरेकाले सबै उस्तै बन्न पुग्ने गर्छन् । संसद् छ, जनताले छानेका जनप्रतिनिधि बस्ने प्रतिनिधिसभा छ भने जनताले छानेका प्रतिनिधिहरूले छानेका नेताहरू बस्ने राष्ट्रियसभा पनि छ ।
संसद्मात्र होइन कार्यपालिका अथवा सरकार पनि छ । सरकारलाई सचेत गराउने न्यायपालिका पनि छ तर ती कुनैले आफ्नो अधिकार र कर्तव्यको दत्तचित्त भएर पालना गरेको पाइँदैन । आपसी मनोमालिन्य र मतमतान्तरमा संलग्न हुन्छन् तर स्वार्थपूर्ण काममा हो भने चाहिँ मिलन पनि भइरहेको हुन्छ । देशमा योजना बनाउन राष्ट्रिय योजना आयोग छ, त्यहाँ विभिन्न विषयका विज्ञ रहने गरेका छन् तर विकास निर्माणका काममा कहिँ पनि चुस्तता हुने गरेको छैन । तदारुकताका साथ काम भएको भए कुनै योजना तोकिएकै समयमा नसकिएर अलपत्र बन्ने नै थिएनन् । कुनै योजना बनेअनुसार काम हुँदैहुँदैनन्, कुनै कामको थालनी चाहिँ गरिन्छ समयमा पूरा गरिँदैन ।
केही निर्माण कार्यलाई दुहुनो गाईजस्तो बनाइन्छ र एक-दुई वर्षमा सकिने खालको भए पनि त्यसलाई वर्षैपिच्छे दुहेर रकम थप्न लगाउँदै पगार्ने गरिन्छ । त्यस्ता योजना वर्षौंसम्म पूरा हुन नसकेका अनेकौं उदाहरण छन् । कागजमा मात्रै पूरा भएका सम्बन्धित ठाउँमा काम नभएका उदाहरण धेरै छन् । ढिलासुस्ती त जहीँ-तहीँ नै भइरहेको छ । त्यसको एउटा उदाहरणका रूपमा बुटवल नारायणगढ खण्डको सडक विस्तारको कार्यमा भएको ढिलासुस्तीलाई लिन सकिन्छ । यो महेन्द्र राजमार्गमा पर्ने सडक हो । तराईमा पर्ने यो क्षेत्र तुलनात्मक रूपमा सजिलो ठाउँ हो ।
केही ठाउँमा चुरेका केही भाग पर्ने भए पनि सामान्यतया अन्यत्रभन्दा सजिलो गरी यस खण्डको सडक विस्तारको काम हुन सक्नुपथ्र्यो तर यसको विस्तारका लागि उद्घाटन भएको पाँच वर्ष बितिसकेको छ, काम भने ४५ प्रतिशत मात्र पूरा भएको छ । खरायोको गतिमा भाषण र कछुवाको गतिमा काम हुने भन्ने भनाइलाई पुष्टि गर्दछ । बाटै नभएको ठाउँमा ट््याक खोलेर बाटो बनाउनुपर्ने होइन, पहाडको विकट भीर–पहरो फोरेर निर्माण गर्नुपर्ने पनि होइन । भइरहेकै एउटा मुख्य र ठूलामध्येको सडकलाई विस्तार गर्ने यति धेरै ढिलासुस्ती गर्ने हो भने अन्यत्र के होला स्वतः अनुमान गर्न सकिन्छ ।
यो एउटा प्रतिनिधि दृष्टान्त भयो । सडकमा मात्र होइन जलविद्युत्, विद्यालय र स्थानीय निकायका भवन निर्माण, स्वास्थ्य, खानेपानी, सञ्चारको विस्तारलगायतमा यस्तै होला भनेर सोच्न नसकिने होइन । भाँडाको एक सितो भात छामेर भाँडाभरिको पाकेको/नपाकेको ठहर गर्न सकिएजस्तै नेपालको विकासको अनुमान गर्न दुई–चारवटा योजनालाई हेरेर थाहा पाउन सकिन्छ । जबसम्म नेतृत्व तहमा रहनेहरूको नियतमा खोट रहिरहन्छ तबसम्म देशले छुटकारा पाउन सक्दैन । साथै कानुन कार्यान्वयनमा कडाइ गरिनुपर्ने आवश्यकता छ भने पुरस्कार र सजायको व्यवस्थामा कडाइ गरिँदै लाने हो भने यस प्रकारको योजना लम्ब्याएर दोहन गरिरहने र ठेकदारहरूको हैकम चलिरहने प्रवृत्तिको अन्त्य हुनसक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच