✍️ अच्युत दाहाल
सदै झैँ
निद्रा खुल्यो
झ्याल खोलेर
आँखा आकाशको
ध्रव तारासँग के
जुधेका थिए,
भाले बास्यो
उज्यालो भयो
भन्दै रामे
जुरुक्क उठ्छ
अल्छी नगरी
न पुसमाघको
चिसोको बहाना
न त बर्खाका छोटा रातको बहाना चल्छ
न हिउँदे लामा रात र उज्यालो नभएको
निहुँ खट्छ ।
उसको सामु छ एउटा लामो सूचीपत्र ।
बिउ खोज्ने
रोप्ने
मल हाल्ने
पानी लगाउने
हुर्काउन
बढाउने
गोड्ने
बेडाउने
काट्ने
गोड्ने
भित्र्याउने
सँगसँगै ....
हा-हा
घुर-घुर
आ-आ
ला-ला
छ्या-छ्या गर्दै
धपाउँँदै
हप्काउँँदै
बोलाउँदै
सहृयार्दै
कैयौं वसन्त बित्छन् ।
भोलि फेरि
भाले बास्छ
उज्यालो हुन्छ ।
अनि पुनरावृत्ति हुन्छ उही सूचीको चक्रजस्तै
चलिरहन्छ यो चक्रिय जीवन ।
न कुनै दिन रोकिन्छन्
न कुनै रात हराएर जानेछन्
रामेले न सबै जितेर लैजान्छ
न त रामे श्यामेमा
परिवर्तन हुन्छ
हो
न त रामे स्थिर
न त श्यामे
चिरस्थायी ।
ऐया !
के भयो ?
केही पनि भाको छैन ।
सधैँ यस्तो गीत गाएर हुन्छ ?
हिँड अस्पताल
जाँच
केही पनि छैन
यद्यपि केही नभए नि
रामे लाई दुख्छ
मुटुनेर चसक्क गर्छ
मसिनो काँडा बिझेझैँ चस्स गर्छ
कहाँनेर हो
ऊ भन्न सक्दैन ।
यसै गरी दिन बित्छन्
रात पर्छ
भाले कराउँछ ।
अनि
फेरि उज्यालो हुन्छ
.................
चलिरहन्छ
जीवनचक्र ।
चन्द्रनिगाहपुर, रौतहट ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच