
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई देशको चिन्ता भए राजनीतिमा आउन चुनौती दिनुभएको छ । पूर्वराजा शाहले सार्वजनिक कार्यक्रममै देशको चिन्ता गरिरहेका बेला अध्यक्ष नेपालले चुनाव जितेर आउन चुनौती दिनुभएको हो । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देश राम्रोसँग नचलेको भए राम्रो प्रधानमन्त्रीको रूपमा देशलाई विकल्प दिन पूर्वराजा शाहलाई चुनौती दिनुभयो । त्यसका लागि चुनाव जितेर प्रधानमन्त्री बन्न उहाँले सुझाव दिनुभयो । पछिल्लो समय देशका विभिन्न कार्यक्रममा पूर्वराजा शाहले देश गम्भीर अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गर्ने गर्नुभएको छ ।
देशको काम गर्ने हो भने प्रधानमन्त्री चुनाव जितेर प्रधानमन्त्री बनेर देखाउन नेपालले चुनौती दिनुभयो । राष्ट्रपति बन्नका लागि मानिसहरूको अभाव नरहेको नेपालको जिकिर थियो । ‘यदि राज्य शासन प्रणाली ठिक ढंगले चलेको छैन र मुलुक राम्ररी चलेको छैन भन्ने लाग्छ भने नेता भएर आए हुन्छ । जनताको बीचमा भिजे हुन्छ । चुनाव जितेर आए हुन्छ,’ पूर्वराजा शाहलाई इंगित गर्दै उहाँले भन्नुभयो, ‘राम्रो प्रधानमन्त्रीको रूपमा देशलाई विकल्प दिए हुन्छ । राष्ट्रपति हुने मान्छेको अभाव भएर होइन । काम गर्ने भनेको प्रधानमन्त्रीले हो । प्रधानमन्त्री बन्न तपार्इं चाहनुहुन्छ भने आउनुहोस् ।’
देशमा अहिले प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेको नेपालले बताउनुभयो । उनीहरू व्यवस्थालाई समाप्त पार्ने काममा लागेको नेपालको भनाइ थियो । ‘अहिले हाम्रो देशमा प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेका छन् । यो व्यवस्थालाई समाप्त पार्ने खेल भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘त्यसको सामना गर्ने हो । राजतन्त्रले फेरि फर्किएर आउने चाहना राखेको छ । त्यो कदापि सम्भव छैन । कुनै कोणबाट हेर्दा पनि राजतन्त्रको औचित्यता पुष्टि गर्न सकिँदैन । राजतन्त्रको बारेमा उहाँ कुरा उठाउनु भनेको असान्दर्भिक हो ।’
राजतन्त्रले प्रकृतिक स्रोतसाधनमा यसअघि एकलौटी लुट मच्चाएको आरोपसमेत नेपालले लगाउनुभयो । लुम्बिनी विकास कोष, पशुपति विकास कोष र जनकपुरमा पनि त्यही ढंगले राजतन्त्रले एकलौटी कब्जा गरेको आरोप उहाँले लगाउनुभयो । ‘राजाको पालामा प्रकृतिमाथि एकलौटी लुट मच्चाएको हो । लुम्बिनी विकास कोषमा लुट मच्चाएको, पशुपति विकास कोषमा लुट मच्चाएको, जनकपुरमा पनि त्यही ढंगले बाहिरबाट आएका अनेक स्रोत साधनहरूलाई एकलौटी कब्जा गरेको हो,’ उहाँले भन्नुभयो, ‘न खोज न अनुसन्धान, न कुनै कसैले प्रश्न गर्ने ? यस्तो स्थिति थियो ।’
सरकारसँग असन्तुष्टि
अध्यक्ष नेपालले सरकारको अहिलेको स्थितिसँग आफू सन्तुष्ट नरहेको बताउनुभयो । आफ्नो पार्टी मुलुकमा विद्यमान स्थितिको बारेमा गम्भीर रहेको उहाँले बताउनुभयो । अहिलेका समस्या समाधानका लागि गम्भीर विचार मन्थन हुन जरुरी रहेको उहाँको भनाइ थियो । असन्तुष्ट मात्रै भएर पनि समस्या समाधान नहुने उहाँले बताउनुभयो । ‘हामी हाम्रो पार्टी मुलुकमा विद्यमान स्थितिबारे गम्भीर छ । अहिलेको स्थितिसँग हामी सन्तुष्ट छैनौँ,’ उहाँले भन्नुभयो, ‘तर असन्तुष्ट मात्रै भएर पनि केही हुँदैन । असन्तुष्टि समस्याको समाधान होइन । समस्याको समाधान भनेको खोजेर पत्ता लगाउने हो । त्यसको समाधानको बारेमा गम्भीर विचार र मन्थन हुनुपर्छ ।’
राजसंस्था पक्षधरको प्रदर्शन
राजसंस्था समर्थकले काठमाडौंको नारायणहिटी दरबार संग्रहालय अगाडि शनिबार प्रदर्शन गरेका छन् । मुलुकमा हिन्दू राष्ट्रसहितको राजसंस्था पुनःस्थापना हुनुपर्ने माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । नेपाली झण्डासहित प्रदर्शनमा सहभागीले राजसंस्थाको पक्षमा नारा लगाएका थिए । प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर राणाले दलका नेताहरूले मुलुकलाई भ्रष्टाचारमा डुबाएको आरोप लगाउनुभयो । आफूहरू देशमा अन्तिम आन्दोलन गर्न तयार भएको उहाँको भनाइ थियो । उहाँले मुलुकलाई अघि बढाउन हिन्दू राष्ट्रसहितको राजसंस्था अनिवार्य भएको जिकिर गर्नुभयो । त्यसअघि, उनीहरूले काठमाडौंका विभिन्न स्थानमा ¥यालीसमेत निकालेका थिए । प्रदर्शनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं लगायतको सहभागिता थियो ।
केही समययता राजतन्त्र पक्षधरहरू ‘राजा आऊ, देश बचाऊ’ भन्दै सडकमा उत्रिरहेका छन् । पछिल्ला समयमा वर्तमान व्यवस्थाविरुद्ध देशव्यापी रूपमा शृंखलाबद्ध प्रदर्शन भइरहेका छन् । प्रदर्शनकारीले राजतन्त्र पुनःस्थापना र हिन्दू राष्ट्रको पक्षमा नारा लगाउने गरेका छन् । विभिन्न ठाउँमा विभिन्न नामबाट प्रदर्शन हुने गरेको छ । तर, प्रदर्शनको नारा र उद्देश्य एउटै छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच