बारा । वीरगञ्ज युनाइटेड क्लबले तेस्रो मनहर्वा गोल्डकपको उपाधि हात पारेको छ । जीतपुरसिमरा-१८ स्थित मौवादेवी खेलमैदानमा भएको फाइनल खेलमा रिगल हेटौँडा रिसोर्टलाई २-० ले पराजित गर्दै वीरगञ्जले उपाधि हात पारेको हो ।
वीरगञ्जको जितमा विशाल खड्का र अमर डंगोलले समान एक-एक गोल गर्नुभयो । विशालको गोलबाट खेलको ३५औँ मिनेटमा अग्रता लिएको वीरगञ्जका लागि अमरले ८८औँ मिनेटमा दोस्रो गोल गर्नुभएको थियो । हेटौँडाले उपविजेतामा चित्त बुझाएको छ ।
उपाधि विजेता वीरगञ्जले दुई लाख नगद हात पारेको छ भने उपविजेता हेटौँडाले एक लाख प्राप्त गरेको छ । विधागत पुरस्कारतर्फ वीरगञ्जले बर्चस्व कायम गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वीरगञ्जका अमर डंगोल घोषित हुनुभयो । अमरले सर्वाधिक गोलकर्ताको पुरस्कारसमेत हात पार्नुभयो ।
यसैगरी उत्कृष्ट गोलरक्षक वीरगञ्जका दिलमणि चौधरी, उत्कृष्ट डिफेन्स विकास चौधरी, उत्कृष्ट प्रशिक्षक राजकिशोर धामीले प्राप्त गर्दा हेटौँडाका सुजल गुरुङले उत्कृष्ट मिडफिल्डरको पुरस्कार पाउनुभएको छ । प्रतियोगिताको उदयीमान खेलाडी आयोजक मौवादेवी युवा क्लबका शिवकुमार सुवाल घोषित हुनुभयो । यसैगरी प्रतियोगिताको फेयर प्लेको उपाधि आयोजक मौवादेवी युवा क्लबले प्राप्त गरेको छ । फाइनल खेलको प्लेयर अफ दी म्याच वीरगञ्जका सागर चौधरी घोषित हुनुभयो ।
प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, वडा नं. १८ का अध्यक्ष चतुरबाबु वाग्ले, वडा नं. १४ की अध्यक्ष चयन गुरुङ, क्लबका अध्यक्ष निर्मल यादव, पूर्वअध्यक्ष वसन्त खतिवडालगायतले पुरस्कार वितरण गर्नुभएको थियो । यही माघ १३ गतेदेखि सुरु प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।
तेस्रो मनहर्वा गोल्डकपको समापन समारोहलाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख पौडेलले खेलकुदको विकासका लागि विद्यालय तहमै लगानी गर्नुपर्ने बताउनुभएको छ । खेलकुद क्षेत्रमा अहिले करोडौँ लगानी भए पनि प्रतिफल सन्तोषजनक हुन नसकेको भन्दै नगरप्रमुख पौडेलले विद्यालय तहमा हुने लगानीले खेल क्षेत्रको विकासमा टेवा पुग्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच