रत्नेचौर–भकुण्डे-भकिम्ली सडक स्तरोन्नति तथा कालोपत्रे हुँदै

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । ट्याक (मार्ग) खुलेको २४ वर्षपछि म्याग्दीकोे रत्नेचौर–भकुण्डे–भकिम्ली सडक स्तरोन्नति तथा कालोपत्रेको काम भइरहेको छ ।

विसं २०५६ मा ट्यक (मार्ग) खोलिएको बेनी नगरपालिकाको १, २ र ३ नम्बर वडाका बासिन्दाले प्रयोग गर्ने यो सडक एक निर्वाचन क्षेत्र एक सडक आयोजना अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले स्तरोन्नति तथा कालोपत्रेको काम थालेको हो ।

सडक निर्माणका लागि विसं २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभी र सडक डिभिजन कार्यालय बागलुङबीच भ्याटबाहेक रु २३ करोड ३२ लाखमा ३० महिनामा सडक निर्माणको काम सक्नेगरी ठेक्का सम्झौता भएको थियो ।

वितेका १६ महिना (२०७९ भदौदेखि २०८० पुससम्म) सडक चक्लाउने,पर्खाल लगाउने,नाली बनाउने लगाएका कामहरु भएका र अबको बाँकी समय कालोपत्रेको काम गरिने निर्मांण कम्पनीका संचालक अरुण सेढाइँले बताउनुभयो ।

सडकलाई नौ मिटर फराकिलो बनाएर सात किलोमिटर डिबिएसडी प्रविधिको कालोपत्रे र दुई किलोमिटर आरसिसी ढलान गर्ने उहाँले जानकारी दिनुभयो ।

यसैगरी घुम्ती तथा मोड सुधार र ग्रेड मिलाउने काम पनि भैरहेको उहाँले बताउनुभयो । हाल चारदेखि पाँच मिटर फराकिलो सडक हिउँदमा धुलाम्मे र हिउँदमा हिलाम्मे हुने समस्या थियो ।

सङ्घीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक÷एक वटा रणनीतिक महत्वको सडक आयोजना सञ्चालन गर्न रु ४०/४० करोड विनियोजन गरेको थियो ।

म्याग्दीका निवर्तमान सांसद भूपेन्द्रबहादुर थापाले म्याग्दीका प्रमुख तीन रणनीतिक सडक मध्य कुनै पनि कार्यक्रममा नसमेटिएको र बागलुङको ताराखोला गाउँपालिकासँग जोड्ने भएकाले रत्नेचौर–भकुण्डे–भकिम्ली–बरंजा सडक आयोजनालाई सिफारिस गरेको जानकारी दिनुभयो ।

भकुण्डे र उपल्लाचौर क्षेत्रमा डोजरले सडक फराकिलो बनाउने र मजदुरबाट पर्खाल, नालि निर्माण गर्ने काम सकिएको छ ।
पहिलो चरणमा उपल्लाचौरदेखि नौ किलोमिटर दूरीमा पर्ने बेनी नगरपालिका वडा नं ३ तोराखेतसम्म कालोपत्रे गर्ने लक्ष्य रहेको छ । यसअघि सङ्घीय सरकारकै बजेटबाट सडकको प्रवेशबिन्दुमा पर्ने रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किलोमिटर तीन सय मिटर कालोपत्र र तीन सय मिटर सडक ढलान गरिएको थियो । यसैगरी भकिम्ली–बरङ्जा–अर्मनको किमचौर हुँदै ताराखोलासम्म मार्ग खोलिसकिएको छ ।

बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौरको उपल्लाचौरदेखि अर्जम, वडा नम्बर २ को ज्यामरुककोट, सानालेक, तोराखेत हुँदै वडा नम्बर ३ भकिम्ली जोड्ने सडक स्तरोन्नति हुने बेनी नगरपालिका वडा नं १ रत्नेचौरका का वडाध्यक्ष टेकबहादुर थापाले जानकारी दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?