नेपालमा तीन दल भन्ने बित्तिकै नामै लिन नपर्ने हुन्छ तर वर्तमानका नेताहरूले यसलाई विस्मृतिको बाटोतिर धकेल्दैछन् । राजनीतिमा सामान्य चासो राख्ने जोसुकैले पनि तीन दल भनेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई भन्न खोजेको हो भन्ने बुझिहाल्दछन् । यो अवस्था त्यसै बनेको पनि होइन र साधारण तरिकाले यत्तिको परिचय यी दलहरूको स्थापित भएको पनि होइन । दलहरूका संस्थापकहरू, पुराना नेताहरू र यिनका समर्थकको रगत, पसिना र कडा मिहिनेतले स्थापित गराएको हो । पुराना नेताहरूको चरित्र, आदर्श र निष्ठाले नामै नलिए पनि पहिचान गर्न सकिने स्थानमा यी दलहरू आजसम्म रहेका छन् तर भोलिका दिनमा के हुन्छ यसै भन्न नसकिने परिस्थिति यिनै दलहरूका शीर्षस्थ भनिएकाहरूले निर्माण गरिरहेका छन् ।
तीनवटै दलहरूका आ-आफ्नै विगत छन् । वर्तमान र भविष्य भने उस्तै उस्तै कोर्दैछन् । वर्तमानमा दलहरूका कुनै पनि क्रियाकलाप र गतिविधि भिन्न प्रकृतिको देख्न छाडिएको छ । नेताहरूका आचरण, व्यवहार र निष्ठामा फरक देखाउन मिल्ने कुनै पनि कुरा छैनभन्दा हुन्छ । यदि कुनै नेता सिद्धान्तनिष्ठ, सदाचारी र कर्तव्य परायण छ भने त्यो नेता भीडभाडमा त्यसै हराउन पुग्ने गरेको छ । सिद्धान्त र विचारलाई अंगालेर राजनीति गर्छु भन्ने व्यक्ति यी दलहरूका परिदृश्यबाट त्यसै विलीन हुने गरेका छन् । धाकरवाफ भएकाहरूको बाहुल्य बढ्दै जाँदा तीन दलहरूका नेताहरू हेरेर र तिनीहरूसँग संगत गरेर यही दलको हो भनी छुट्याउन नसकिने नै भइसकेको वर्तमान छ भने अस्तित्व मेटिँदै गएको भविष्य निर्माण हुँदै गएको छ ।
सादा पोशाक, सही विचार, राष्ट्र र जनता मुटुमा राखेर हिँडेको, सबैको अधिकार समान हुन्छ भन्ने मान्यता बोकेको, नागरिक स्वतन्त्रताको भावना बोकेको मान्छे देखेपछि यो कांग्रेसी हो भन्न हिच्किचाउन पर्दैनथ्यो । वर्ग संघर्षका कुरा गर्ने, धनी र गरिबका बीचका फाटोका कुरामात्रै गर्ने, ठूलाठूला क्रान्तिको उद्घोष गरिरहने, समानताका चर्का नारा दिने, सामान्य पोशाक लगाएका व्यक्ति देखेपछि यो माले वा अरू कुने कम्युनिष्ट हो भन्ने अड्कल सबैले काट्थे ।
विगतमा सबै दलका आ-आफ्नै पहिचान थिए । सादा पोशाक, सही विचार, राष्ट्र र जनता मुटुमा राखेर हिँडेको, सबैको अधिकार समान हुन्छ भन्ने मान्यता बोकेको, नागरिक स्वतन्त्रताको भावना बोकेको मान्छे देखेपछि यो कांग्रेसी हो भन्न हिच्किचाउन पर्दैनथ्यो । वर्ग संघर्षका कुरा गर्ने, धनी र गरिबका बीचका फाटोका कुरामात्रै गर्ने, ठूलाठूला क्रान्तिको उद्घोष गरिरहने, समानताका चर्का नारा दिने, सामान्य पोशाक लगाएका व्यक्ति देखेपछि यो माले वा अरू कुने कम्युनिष्ट हो भन्ने अड्कल सबैले काट्थे । कम्युनिष्ट नै भए पनि अहिले माओवादी भनेर चिनिएका त धेरैपछिका भए यो क्रममा जोडी राख्नै परेन ।
प्रजातन्त्रका माध्यमबाट नागरिक स्वतन्त्रता र समाजवादबाट आर्थिक समानताका लागि नेपाली कांग्रेसले विगतमा ठूलाठूला लडाइँ लड्यो । कैयन् नेताहरू शहीद हुन पुगे भने थुप्रैले जेल जीवन भोगे । कतिको सर्वस्व हरण भएको थियो भने कतिपय निर्वासनमा परे । तिनैका योगदान, परिचय र श्रमका कारण नेपाली कांग्रेस अद्यापि जनताका मनमा बस्न सफल भइरहेको छ । तीन–तीनवटा जनआन्दोलनहरूमा नेतृत्व गर्ने पार्टी भनेर विश्वमै रेकर्ड बनाएका कारण पनि कांग्रेस र कांग्रेसीहरूको परिचय बेग्लै छ । त्यसैलाई सम्मान गर्दै आजसम्म चुनावहरूमा कांग्रेलाई कि त पहिलो या दोस्रो पार्टी बनाएका छन् ।
दलको नाम अनेकौं पटक फेर्दै, टुक्रिँदै, जुट्दै भए पनि नेपालका पुराना कम्युनिष्टहरूले पनि लामो संघर्ष गरे । विसं २०४६ मा आएर विभिन्न कम्युनिष्ट पार्टी मिलेर नेकपा एमाले बन्यो र नेपाली कांग्रेसको नेतृत्वमा भएको जनआन्दोलनमा यो दलका कार्यकर्ताहरूले सक्रिय रूपमा सहभागिता जनाए । भूमिगत राजनीति गर्दै आएका कम्युनिष्टहरूले यहीबेलादेखि खुला राजनीतिको सुरआत गरे र नेपाली राजनीतिमा स्थान जमाए । कुनै चुनावमा पहिलो, कुनैमा दोस्रो त कुनैमा तेस्रो ठूलो दल बन्दै आएको छ । विगत हेर्दा नेपाली कांग्रेस र नेकपा एमालेका अपवाद बाहेकका नेताहरूको प्रशंसनीय नै मान्नुपर्दछ ।
वर्तमान भनेर विसं २०४६ पछिको समयलाई हेर्ने हो भने विसं २०६३ सम्म नेपाली कांग्रेस र नेकपा एमालेले नै मुलुकको नेतृत्व गरे । सौताका रिसले पोइको काखमा कुन्नि के गर्ने भने जस्तै एकले अर्काको रिसमा पूर्वपञ्चहरूलाई काँधमा बोकेको छोटो अवधिबाहेक यिनै दुई दलले नै एकछत्र राज गरे । पालैपालो सत्ताको स्वाद चाख्न थालेदेखि यी दलका नेताहरूमा अभिमान पलाउँदै गयो र सिद्धान्त, विचार, आस्था, सदाचार जस्ता शब्दलाई तिलाञ्जलि दिए । भाषणमा एक दलका नेताले अर्को दलका नेतालाई आरोप लगाए पनि जनताका नजरमा सबै दलका सबै नेता उस्तै-उस्तै लाग्न थाले । पुराना तथा संस्थापक नेताहरूको योगदानलाई समेत जनताका आँखाबाट धुमिल बनाउने काम गरे ।
नेकपा माओवादी त हिंसाको राजनीतिबाट एकाएक उदायो र हिंसाको रापताप सेलाउन थालेबाटै यो पार्टीको ओज पनि घट्दै गएको छ । कम्युनिष्ट पार्टीका विभिन्न चिरामा काम गर्दै आएका पुराना नेताहरू यो पार्टीमा भए पनि पार्टी नयाँ भएका कारण दश वर्षको द्वन्द्वबाहेक उल्लेख गर्ने इतिहास यसको छैन । सशस्त्र द्वन्द्वले वर्षौंसम्म नमेटिने घाउ पारेको कुरालाई यहाँ उल्लेख गरिरहन परेन । चर्का नारा दिएर संघर्ष गरेको यो पार्टीका नेताहरू पनि सत्तामा पुगेसँगै भ्रष्टाचारको दलदलमा एक नम्बरमा आउन थालेपछि माओवादीहरूले कांग्रेस र एमालेलाई उछिने भन्ने अभिमत स्थापित भइसकेको छ ।
यी दलहरूको विगत सुनौलो भए पनि वर्तमान हुनसकेन । वर्तमान त सत्तामा पुगेका नेताका परिवार र नेताहरूका वरिपरि घुमिरहनेका लागि मात्रै स्वर्णिम हुनपुग्यो । जनता निराश बन्दै गए । दलहरूको अस्तित्व, महत्व र प्रभाव बढ्ने भनेको जनतामा उत्साह बढ्दै गएपछि हो तर यहाँ उल्टो हुँदै गयो । आफ्नो विगतलाई भुलेर वर्तमानको आफ्नो वैभव, सन्ततिको सुखसुविधा र रजगज हेरेरै नेताहरू मख्ख पर्न थाले । फलतः नेता भन्ने शब्दप्रति जनताको घृणा बढ्दै गयो भने योगदानै योगदानले भरिएको पार्टीको साख गिराए ।
कुनै भ्रष्टाचारी नेता समातिँदा देउवा, ओली र प्रचण्डका बैठकहरू लगातार बसेजस्तै जाजरकोट र रुकुमका भूकम्पपीडितका समस्यामा बस्न थाल्नुहोस् । आधारभूत आवश्यकता पूरा गर्न नसकेका नागरिकका समस्या समाधानार्थ घना छलफल गर्न थाल्नुहोस् । विकासमा पछि परेका भूभागमा सामान्य सुविधा पुर्याउन तीनजना नेताहरूले कुरा थाल्नुहोस् ।
नेपाली कांग्रेस र नेकपा एमाले लगभग चौरासी गर्ने उमेर पुग्न लागेका पार्टी हुन् । चौरासी हुन थालेका पार्टी परिपक्व, समझदार र स्थापित हुनुपर्नेमा मिसन ८४ मा रुमल्लिन थालेका छन् । वर्तमानमा देश र जनताको सेवा कसरी गर्ने भन्नेमा चासो दिएको पाइँदैन, ८४ सालको चुनावमा बहुमत दिनोस् भनेर एकोहोरो रोइलो गरेको मात्रै सुनिन्छ । जनताले पहिलो र दोस्रो दल बनाएका बेला माखो नमार्ने अनि अर्को चुनावमा बहुमत माग्ने यी दलका चरित्रले भोलिको भविष्यलाई अर्कै संकेत गर्न थालिसकेको छ ।
विश्लेषण गर्ने काल भूत, वर्तमान र भविष्य भए । त्यसबाहेकका अर्कै तीन काल यी दलहरूका अगाडि आएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र केही स्वतन्त्र उम्मेदवारहरूले पुराना दलहरूका भाग्यमा घण्टी बजाइसकेका छन् भने अझै पनि आ-आफ्नो स्वभावमा परिवर्तन ल्याउन सकेनन् भने ८४ को चुनावमा अझ खराब हालत नहोला भनेर भन्न सकिन्न । सत्ता सेवाका लागि हो, कमाउनका लागि होइन भन्ने विचार दलहरूका नेताहरूमा आउन सकेन भने त्यो भन्दा ठूलो दुर्भाग्य केही हुनेवाला छैन । विचार गर्ने नेताहरूले नै हो ।
गएको चुनावमा त नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपालगायत दलहरू एकातिर गठबन्धन गरेर चुनाव लडे भने अर्कोतिर नेकपा एमाले, राजा पुनःस्थापित गर्नुपर्दछ भन्ने मान्यता राख्ने राप्रपा र पाएको ठाउँमा अरूसँग पनि गठबन्धन गरेर लडे । एक्लै चुनाव लड्ने हिम्मत न नेपाली कांग्रेसले गर्यो, न नेकपा एमालेले नै । चुनाव जित्नका लागि धुइँधुइँति साथी खोज्नमै ठूला भनिएका दलहरू व्यस्त रहे । भाषणमै बलियो भन्ने तर व्यवहारमा साह्रै निर्धो देखिए । जनताका बीचमा गएर लोकप्रिय हुनभन्दा गठबन्धनबाटै बढी सिट जित्न लालायित रहे ।
चुनावभन्दा छ महिनाअघि पार्टी खोलेर राष्ट्रिय स्वतन्त्र पार्टीले एक्लै चुनाव लड्ने हिम्मत गर्यो । यसबाट दुई-दुईवटा पासपोर्ट र नागरिकता बोकेर आएका रवि लामिछानेकोे जत्तिको छवि पनि हामीले कायम गर्न सकेको रहेनछौं भन्नेमा नेताहरू प्रष्ट हुन सक्नुपर्दछ र अबका दिनमा सोच, व्यवहार र चरित्रमा परिवर्तन ल्याउनुपर्दछ । कतिपय ठाउँमा त एक्लै लडेका स्वतन्त्रहरूले समेत दलहरूलाई पछारे । दलहरूका नेताहरूका आनीबानी यस्तै रहृयो भने ८४ को चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी तीन दलले गठबन्धन गरेर अस्तित्व जोगाउनुपर्ने अवस्था आउन सक्दछ र नेताहरूका व्यवहारले त्यतैतिर संकेत गर्दैछ । देश र जनताप्रतिका भावनामा वृद्धि गर्न सकेनन् भने नेपाली कांग्रेस प्रजा परिषद् जस्तै र नेकपा एमाले मोहन विक्रम सिंह वा चित्रबहादुर केसीकै जस्तो पार्टीमा बदलिन कुनै बेर लाग्दैन ।
होइन भने कुनै भ्रष्टाचारी नेता समातिँदा देउवा, ओली र प्रचण्डका बैठकहरू लगातार बसेजस्तै जाजरकोट र रुकुमका भूकम्पपीडितका समस्यामा बस्न थाल्नुहोस् । आधारभूत आवश्यकता पूरा गर्न नसकेका नागरिकका समस्या समाधानार्थ घना छलफल गर्न थाल्नुहोस् । विकासमा पछि परेका भूभागमा सामान्य सुविधा पुर्याउन तीनजना नेताहरूले कुरा थाल्नुहोस् । तपाईंहरूले जे गर्नुहुन्छ, त्यो निष्पक्ष, निष्कलंक र निर्विवादित भएको देख्न पाइयोस् । प्रगतिको पथमा दौडेको देखियोस् र तपाईँहरूका दलको पुरानै साख फर्केको देख्न पाइयोस्, हार्दिक शुभकामना !!!
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच