✍️ कलानिधि दाहाल
न्युजिल्याण्डस्थित शान्त तपोभूमिजस्तो नेपियरबाट चिल्ला गाडीमा चिप्ला सडकको यात्रा एकतमास चिप्लिदा साँढे दुईदेखि तीन घण्टाको छेउछाउमा पुगिने ठाउँको नाम हो-टाउपो । बीच बाटाका अग्ला उकालाहरू, निर्जन पहाडका गगनचुम्बी शिरहरू, वन्यबाख्रामा भगौटे जङ्गली परिदृश्य देख्दै ठाउँ ठाउँ नरोक्की अगाडि बढ्न कस्तै चाहेर पनि नमान्ने मनको एकाग्रता, केहीँ खाँदै बढी हेर्दै एसी जडित न्यानो गाडीको भित्र हुइकिएको यात्रा नमानेर पनि जीवनयात्रा नै हो कि ? ठान्छ मनले तर यस किसिमका दौडमात्र नै जीवन हो भन्नुको मूर्खता मान्दैन मेरो चाहिँ मन ।
ठाउँ ठाउँ आँखाका सामु देखिने निर्जन पहाडका पनि छाती फोरेर झर्दै गरेका सहस्रधार झर्नाका मनोहारी स्वरूपहरू हृदयभरि खात लागेर बस्छन् । टाढाबाट हेर्दा यस्ता विकट र सुख्खा ठाउँमा जलपरीहरू झर्नाका स्वरूप लिएर लुकामारी खेलेका हुन् भन्ने विश्वास कसैलाई कतै पनि हुँदैन । सेता ऊन ओढेका भेडाभेडीहरू वा खसी, बोका र बाख्रीहरू पेटको आहारा टिपिरहेछन् । जाडो छेल्न यिनीहरूकै शरीरमा प्रकृतिले बनाएर ओढाइदिएका सिमलसिरकहरू बेजोड हवाका झोक्कासँग हल्लिरहेछन् वा मन्द पवनसँग भीरपाखामा फहरिरहेछन् । नजिक पुगेर हत्केलीले आँखा मिचिसकेपछिमात्र हामी झसङ्ग हुन्छौं -सबै प्रकृतिपुत्री झर्नाका पदचाप छङ्छङ्गाइरहेछन् । सङ्गीत स्वरहरू सप्तसुरका तारसँग लहराइरहेछन् ।
प्रकृति अजीव छ, अचम्मको छ, अजेय शक्तिको छ, अनुपम छ, अनुपमेय छ । दृश्यको खासमा भन्दा रहस्यको बासमा छ । जहाँ मान्छेको चेतनाले अनुमान गर्न असम्भव छ त्यहाँ नै प्रकृतिको आनन्दमय उज्यालो बास छ ।
न मान्छेका आवाज छन् कतै न गाउँबस्तीका सङ्केतहरू । न कुनै शहर निर्माणका योजना छन् त्यता, न कुनै उद्योग व्यापारका खाकाहरू । तैपनि ठाउँ ठाउँमा सडकमा गाडी किनारा लगाएर छेउछाउको भित्रपट्टि दशपन्ध्र पाइला चलाएपछि विश्रामका भव्य चौरचौतारीहरू निर्मित छन् जहाँ आनन्दले आरामको सास फेर्न पाइन्छ । आफैँले बनाएर लगेका खाना खान पाइन्छ । रेस्टरुमहरू अर्थात् शौचालयहरू जो छन् भनेर हामी कल्पना गर्न सक्दैनौँ तर छन् हाम्रा भान्साभन्दा पनि सफा । कसरी गर्ने सोच्नुपर्छ । ढोका खोल्ने कुन तरिकाले, खुल्यो, भित्र पसियो । ढोका आफैँ लाग्छन्-ढ्याप्प । कथं खोल्न जानिएन भने ? फ्लस कसरी गर्ने- दिसापिसाब गरिसकेपछि एउटा त्रास जन्मन्छ । एकै खालका कतै छैनन्, तरिकाहरू ।
कोही भित्तामा नजानिदा सङ्केतमा हुन्छन् थिच्नुपर्छ औँलाले । सडकमा चौतारी नबन्नुका वैज्ञानिक आधुनिक कारण कति आनन्ददायक छन् । भीड नहोस्, आवतजावतमा अवरोध उत्पन्न नहोस् । त्यस्ता विकट ठाउँमा पनि यस्ता सोचले काम गरेको छ । यस सन्दर्भलाई नै तेस्रो विश्वका मुुलुकहरूतिर फर्केर हेरौँ, नेपालतिर फर्केर हे¥यौँ भने कहाली लाग्छ । यति विकट ठाउँका त कुरै छाडौँ-नेताहरूले, नीतिनिर्धारकहरूले सङ्केतसम्म पनि पाउन्नन् । जनबस्तीको मुटु, उद्योग व्यापारको केन्द्र, राजधानीको छात्ती नयाँ सडक अर्थात् न्य्रूरोडकै अवस्था हेरौँ-दूरावस्था । मान्छेको भीड त्यहीँ, बस, गाडी, मोटरसाइकल चलाउने त छँदैछ बिसाउने ठाउँ पनि त्यहीँ राख्ने ठाउँ पनि त्यहीँ । छिः दूरावस्थाका सिकार तेस्रो विश्वका नीतिनिर्माणकहरू ।
पुगियो सरर्र लक्षित ठाउँमा । विशाल परिधि । व्यापक फैलावट । कठाङ्ग्रिँदो चिसो । दन्तबजान अरूसँग होइन आफैंसँग आफ्नै दुई ओठभित्रका दुई फग्ल्याँटाको । अनन्त कम्पन । मौसमी खेलको बेमेल । यताको गर्मी त्यताको जाडो । यताको वर्षा त्यताको हिउँद । आँखाले नभ्याइने त्यस परिधिभित्र कहीँकतै गाडी राख्ने ठाउँ भेटिन्न, देखिन्न । नभएर होइन । व्यवस्था चुस्त दुरुस्त सर्वत्र । पर्यटकको ज्यादा उपस्थिति । फर्किने चाहनाको अभाव । बसौँ, रमौँ, रात नपरोस् । परे पनि त्यता नै बस्न पाइयोस् यिनै चाहनाका खातमाथि मान्छेका जात भएकाले बल्लतल्ल पार्किङ्स्थलको साँघुरो प्राप्तिमा गाडीका पाङग्रा सुताएर सानो बच्चोलाई सुरक्षित गर्दै र आफूहरू पनि सुरक्षित भएको स्वानुभवपछि टाउपोको टाउकोदेखिसम्म बुझ्ने अन्तर चक्षु दौडिए चारैतिर ।
हाँसका बथान बकुल्लाका जन्ती । प्रकृति अजीव छ, अचम्मको छ, अजेय शक्तिको छ, अनुपम छ, अनुपमेय छ । दृश्यको खासमा भन्दा रहस्यको बासमा छ । जहाँ मान्छेको चेतनाले अनुमान गर्न असम्भव छ त्यहाँ नै प्रकृतिको आनन्दमय उज्यालो बास छ । त्यो ठिहीमा, त्यस चिसोपनमा आँखाले नभ्याइने पोखरीका चारैतिर हाँस र बकुल्लाका सुन्दर स्वरूप पौडेका छन्-छप्प ! छप्प !! कतै चुचामात्र चोबेर, कतै पूरा जिउ नै जलतरङ्गभित्र अगाध गर्तमा, अगम्य साहसका साथ लुकामारीको रौनक फैलिएको छ । कहाँसम्म छ ? असङ्ख्य मान्छे यसै कौतुहलको सतहमा तैरिएका छन् ।
प्रकृतिको रहस्य बुझ्ने कसले ? बुझाउने कसलाई र कसरी ? ज्ञानले कोसिस गर्यो-ऋग्वेदतिर, सामवेदतिर, यजुर, अथर्ववेदतिर । विज्ञानले चकाचौध मर्करी प्रकाश छर्न खोज्यो-लियोनार्दो दा भिञ्चीमा, चाल्स डार्बिनमा, विल्भर ओर्भिलमा, आइन्स्टाइन ग्यालिलियोमा । तैपनि प्राकृतिक रहस्यका खातहरू चाङ् लागेर बसेका छन् । यसको सर्वाङ्ग रहस्य सायद नखुल्ला । खुलेको दिन सांसारिक स्वाद पनि सकिएला, जिज्ञासाको पनि अन्त्य होला । मान्छे हुनुको अर्थ पनि समाप्त हुन सक्छ । सबै समाप्त हुन्नन् र नै प्राकृतिक रहस्यका सर्वपक्ष उदाङ्ग बन्ने सम्भावना क्षीण हुन्छ, समाप्त छ नै ।
यस तालको चारैतिरको पहिलो घेरामा रङ्गीचङ्गी बगैँचा, कुन देशका कस्ता खालका पर्यटकका आँखा कस्ता फूलमा रमाउँछन् त्यस्तै खालका पुष्पगुच्छाहरू हावामा तैरिएका छन् । भिन्न भिन्न रङ्ले रङ्ग्याएर अत्याकर्षक बनाएका फलैँचाहरू सर्वत्र लहर लागेका छन् तर खाली छैनन् कुनै पनि ।
यी चर्मचक्षु जति नै विस्फारित गरे पनि, पाउहरू जति नै चलायमान गराए पनि, अनुमित खाकाको जत्रोसुकै भारी कसे पनि न्यूजिल्याण्डस्थित यस टाउपो तलाउको न आगमनको मूल भेटिन्छ, न गमनको भुल्भुल । न दृश्यको अर्थ लाग्छ, न अदृश्यको रहस्य । यति सबै भनिसकेपछि बुझ्नै पर्ने कुरा–नेपाल पनि प्राकृतिक सौन्दर्यका हिसाबले, अनुपम पर्यटकीय आकर्षणका हिसाबले, अनुपमेय मनमुग्धताका हिसाबले यसभन्दा थोरै होला तर कम छैन । एकाध बन्नबनाउन खोजेका स्थल-राराफेवा त लठ्ठी नछिर्ने झारले भरिएका छन् भने अन्य कैयन् रहस्यमय स्थलहरू विस्मृतिका गर्भमै छन्, गर्तमा नै छन् ।
उच्चरित हुने त नेताका नौटङ्की ओठबाट जनताका कानसम्म चुनावका समय भोटका गोठमा मात्र छरिन्छन् । स्वार्र्थी, चण्डाल, चाकडबाज मनोलोकको बस्ती फिजिउञ्जेल पर्यटकीय आकर्षणको केन्द्र बनेर त्यसबाट अर्जित अर्थतन्त्रले परिवेशको उज्यालो मुहार हुने सम्भावना स्यालको सिङ खोजेजस्तै हो । गहिरोसँग बुझ्दा यस टाउपो तालको बाहिरी आयतन सिङ्गो देश सिङ्गापुरभन्दा निकै ठूलो भएको, निकै फराक रहेको तथ्यसिद्घ हुन्छ । अन्तरङ्ग यसको आयतन नाप्ने विचारको ज्ञान र तथ्यको नौलो विज्ञान आविष्कृत भएको आधिकारिक खाका अहिलेसम्म कतै पाइन्न । कतै भेटिन्न । यो हाम्रो समयाभावको कारण पनि हुन सक्छ र सत्य यही नै पनि हुन सक्छ ।
यसका दुई किनारामा एकै खाले उस्तै, छुट्टिनै नसक्ने सहरहरू आँखामा आँखा जुधाएर लुकामारी गरेका छन् । हाम्रो उपत्यकाको परिधि जति त यस तालका चारै किनारामा पर्यटकले गाडी पार्किङ गर्न आँखाका नानीका खाकाजस्तै सजाइएका छन् । यिनीहरूका सम्पूर्ण भौतिक चाहनाका स्वप्निल महल साकार गराउने पहिलो शक्ति यही ताल हो । हावाका तेजिला झोक्कामा ताल दौडन्छ, मन्द झोक्कामा तरङ्ग तैरन्छन् । हाँस र बकुल्लाका जोडीहरू आँखामा प्रेम भर्छन्, चुचामा प्रणय उफ्रन्छन् र तैराइमा सांसारिक मायाजालका पखेटा फिँजाउँछन् ।
विश्वपरीहरू किनारामा बसेर हेर्छन् । उत्तेजनाका सास फेर्छन् । मुस्कानका ओठ फर्फराउँदै चरम यौन आनन्दका हातमा हात मिलाएर खुला मधुमासमा गोपनीयताका निम्तापत्र परेलीले बाँड्छन् । अब भन्नोस् ऋग्वेददेखि रामायण महाभारत हुँदै देवीभागवत र गरुड पुराणलेसम्म फिँजाएका कल्पित स्वर्गभन्दा यो कतै कम छ र ? यस तालको चारैतिरको पहिलो घेरामा रङ्गीचङ्गी बगैँचा, कुन देशका कस्ता खालका पर्यटकका आँखा कस्ता फूलमा रमाउँछन् त्यस्तै खालका पुष्पगुच्छाहरू हावामा तैरिएका छन् । भिन्न भिन्न रङ्ले रङ्ग्याएर अत्याकर्षक बनाएका फलैँचाहरू सर्वत्र लहर लागेका छन् तर खाली छैनन् कुनै पनि । कति सङ्ख्या होला पर्यटकको ? असङ्ख्य, अनुमानभन्दा टाढा । कुनै देश त्यस्तो विरलै होला जहाँका मान्छे यस ठाउँमा नदेखिऊन् ।
तेस्रो घेरा पर्यटक गाडीका पार्किङ्स्थल वा विश्वका अत्याधुनिक वैज्ञानिक विकास र आविष्कारले सज्जित विरलै देश होला जुन देशका गाडी यता देख्न नपाइयोस् । थेप्चे, नेप्टे, चुच्चे, होचा, अग्ला, अजङ्मोटा, पिलन्धरे सुसुपाल कुन देह त्यस्तो होला जुन देशका मानिसको अनुहार त्यहाँ देख्न नपाइयोस् । चौथो घेरा पर्यटक बस्ने होटललजहरूका । उनीहरूले खाने परिकाहरूका । यो मत्स्यालयको देश । मांसाहारी मुटुको देश तर सम्पूर्ण परिकार । साकाहारीलाई साकाहारी । फलफूलमात्रलाई फलफूल । दूध, दही, मोही जे चाहन्छ पर्यटक उही उस्तै ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच