काठमाडौं । प्रतिपक्षी दलहरू सरकारविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका छन् । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलहरू आक्रामक रूपमा प्रस्तुत भएका हुन् । एमालेसहित प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको चर्को आलोचना गरेका हुन् । उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनको चर्को भाषण गरे पनि व्यवहारमा भने उल्टो काम गरिरहेको आरोप लगाए । सरकार संसद्प्रति जवाफदेही नभएको प्रतिपक्षी दलहरूको आरोप छ ।
एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीले सुशासनको भाषण गर्ने तर, विवादित मन्त्रीलाई कारबाही गर्न नसकेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले प्रधानमन्त्रीलाई कायरको संज्ञासमेत दिनुभयो । पन्तपछि रास्वपाका सांसद विराजभक्त श्रेष्ठले पनि विवादित मन्त्रीलाई कारबाही नगरिएको भन्दै आपत्ति जनाउनुभयो । संसद्प्रति नै सरकार जवाफदेही नभएको भन्दै उहाँले यो दण्डहीनताको पराकाष्ठा भएको टिप्पणी गर्नुभयो । प्रतिपक्षीलाई नसुन्ने हो भने संसद् अवरुद्ध गरेर आन्दोलन गर्ने उहाँले चेतावनी दिनुभयो । संसद्मार्फत् सदन मात्रै नभएर सडकसमेत अवरुद्ध गर्ने उहाँले चेतावनी दिनुभयो । ‘सांसदप्रति नै सरकार जवाफदेही हुँदैन भने मुलुकले कस्तो नेतृत्व पाइरहेको छ ? यसरी प्रतिपक्षलाई नसुन्ने हो भने संसद् अवरुद्ध पनि हुन्छ आन्दोलन पनि हुन्छ,’ उहाँले भन्नुभयो ।
राप्रपा सचेतक ज्ञानेन्द्र शाहीले बालकुमारी घटनाका विषयमा प्रधानमन्त्री प्रचण्डले संसद्मा आएर बोलेको विषयप्रति आपत्ति जनाउनुभयो । फागुन ६ गते बसेको संसद् बैठकमा प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनामा हत्या भएको स्वीकार गरेको भन्दै सांसद शाहीले हत्यारा खोजेर कारबाही गर्नुपर्ने माग गर्नुभयो । ‘फागुन ६ गतेको संसद् बैठकमा उहाँले बालकुमारीको घटना हत्या भएको भन्नुभएको थियो,’ उहाँले भन्नुभयोे, ‘हत्या भएको हो भने आदेश दिने गृहमन्त्री, त्यहाँ जाने भौतिकमन्त्री र गोली हान्ने प्रहरीका डिएसपीलाई अहिले जेल किन नहालेको ? प्रधानमन्त्री जस्तो मान्छेले यहाँ आएर जे पायो त्यही बोल्न पाइँदैन ।’
विवादित मन्त्रीलाई बर्खास्त गर्न माग
विपक्षी दलको निशानामा सरकारका चारजना मन्त्री परेका छन् । विवाद र भ्रष्टाचार प्रकरणमा जोडिएका मन्त्रीको राजीनामा र कारबाहीको माग गर्दै प्रमुख प्रतिपक्ष दल एमालेसहित रास्वपा र राप्रपाले सरकारका चार मन्त्रीको राजीनामा मागेका छन् । उनीहरूले रानीनामा नदिए जस्तासुकै आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने उनीहरूले चेतावनी दिएका छन् ।
एमाले सांसद रघुजी पन्तले विभिन्न काण्डहरूमा जोडिएका र मुछिएका सरकारका तीनजना मन्त्रीहरूको राजीनामा माग्नुभयो । पन्तले स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग्नुभयो ।
प्रधानमन्त्रीले सुशासनको भाषण गर्ने तर, लुम्बिनी विकास कोषका ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्त गरेर अवैधानिक काम गर्न प्रधानमन्त्रीलाई उक्साउने काममा पर्यटनमन्त्री किरातीको समेत संलग्नता रहेको पन्तले बताउनुभयो । बालकुमारी घटनामा दोषी देखिएका भौतिकमन्त्री लगायतलाई प्रधानमन्त्रीले कारबाही गरेर देखाउनुपर्ने बताउनुभयो । ‘प्रधानमन्त्री सुशासनको भाषण गर्दै हिँड्नुहुन्छ, अर्कोतिर उहाँको पर्यटनमन्त्रीको सिफारिसमा नियुक्त गरेको ल्हारक्याल लामाले लुम्बिनीको रामग्राममा गरेको कामलाई सम्पूर्ण सरकारी माध्यम र लेखा समितिले समेत नियमविपरीत भन्छ । नैतिक रूपमा पर्यटनमन्त्री र ल्हारक्याल लामालाई हटाउनुपर्छ । सक्नुहुन्छ तुरुन्त कारबाही गरेर देखाउनुस् । एमालेको तर्फबाट अत्यन्त गम्भीरताका साथ भनेको छु,’ उहाँले भन्नुभयो, ‘यस्ता भ्रष्टाचारका घटनाहरूलाई, विवादास्पद गतिविधि गर्ने क्याबिनेटका मन्त्रीहरूलाई नेकपा एमालेले टुलुटुलु हेरेर बस्दैन । कुनै पनि मन्त्री भ्रष्टाचारको मुद्दामा पर्नासाथ अख्तियारले मुद्दा चलाउँछ भन्ने थाहा पाएपछि बोलाउनुभन्दा अघि राजीनामा दिएका मन्त्रीहरू छन् ।’
सांसदहरू हाजिर गरेर टाप, गणपूरक नै पुगेन
प्रतिनिधि सभाको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । बिहीबार बसेको बैठकमा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नेक्रममा एमाले सचेतक महेश बर्तौलाले गणकपूरक संख्या यकिन गर्न माग गर्नुभयो । गणकपूरक संख्या भए÷नभएको यकिन गर्ने क्रममा संख्या नपुगेको पुष्टि भएपछि सभामुख देवराज घिमिरेले आज (शुक्रबार) ११ बजे फेरि बस्नेगरी बैठक स्थगित गर्नुभयो । कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा २७५ मध्ये एक चौथाइ सदस्य अर्थात् ६९ जना सदस्य आवश्यक पर्नेमा ६५ जनामात्र उपस्थित देखिए । त्यसपछि बाँकी कार्यक्रमलाई सूचीबाट हटाउँदै बैठक स्थगित भएको सभामुखले जानकारी गराउनुभयो । केही सांसदहरू सुरुमा हाजिर गरेर बाहिरिएका थिए । कांग्रेस महासमिति बैठक, एमाले केन्द्रीय कमिटी र माओवादी पनि आन्तरिक छलफलमा रहेका कारण प्रतिनिधि सभामा सांसदहरूको न्यून उपस्थिति देखिएको हो ।
बालकुमारी घटनाबारे जवाफ दिन ‘रुलिङ’
सभामुख देवराज घिमिरेले बालकुमारी घटना प्रकरणको बारेमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन रुलिङ गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सरकारले बालकुमारी घटना प्रकरणमा बेवास्ता गरेको आरोप लगाउँदै प्रतिवेदन सार्वजनिक गर्न माग गरेर संसद् अवरोध गरेसँगै सभामुख घिमिरेले सरकारलाई घटनाको बारेमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको हो । पुस १३ गते दुईजना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासमेत दोषी रहेको प्रतिवेदन जाँचबुझ आयोगले बुझाएको भन्दै सांसदहरूले मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग राखेका थिए । संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसद् अवरोध गरेका थिए । संसद् अवरोधपछि सभामुख घिमिरेले भन्नुभयोे, ‘यी विषय यसअघिको बैठकमा पनि उठेको छ, पर्याप्त रुलिङ पनि भएको छ । मैले ६ गतेको बैठकमा यहाँ उठेका विषयलाई लिएर रुलिङ गरेको छु । आज पनि त्यही विषयमा विषय उठाउनुभएको छ । प्रतिनिधिसभाको नियमावली, २०७९ को नियम १५ मा रहेको व्यवस्थातर्फ सरकारको ध्यानाकर्षण गराउँछु । शून्य, आकस्मिक र विशेष समयमा उठेका सवालहरूमा राज्यले उपयुक्त ढंगबाट जवाफ दिनुपर्छ ।’
कायर प्रधानमन्त्री हामीलाई चाहिएको होइन : पन्त
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विवादित मन्त्रीले राजीनामा नदिएसम्म आन्दोलन चर्काउने चेतावनी दिएको छ । भ्रष्टाचार आरोपमा अख्तियारमा बयान दिएका व्यक्तिलाई मन्त्रीबाट हटाउन नसकेको भन्दै एमालेले प्रधानमन्त्री प्रचण्डलाई कायरको संज्ञा दिएको हो । प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा एमाले सांसद रघुजी पन्तले भ्रष्ट मन्त्रीलाई क्याबिनेटमा राखेर प्रचण्डले सुशासनको मजाक उडाइरहेको आरोप लगाउनुभयो । ‘पञ्चायत कालमा पनि यस्तो थिएन, भ्रष्टाचारको आरोप लागेपछि मन्त्रीहरूले राजीनामा दिएका थिए । अहिले त भ्रष्टाचारको आरोप लागेका मन्त्री झण्डा हल्लाउँदै अख्तियारमा बयान दिन जान्छन्,’ उहाँले भन्नुभयो, ‘यस्ता मन्त्रीलाई राजीनामा गर् भन्न नसक्ने कायर प्रधानमन्त्री हामीलाई चाहिएको होइन ।’ अख्तियारमा बयान दिएर आएका मन्त्रीलाई क्याबिनेटमा राखेर सुशासनको गफ नदिन प्रधानमन्त्रीलाई उहाँले चेतावनी दिनुभयो ।
केन्द्रदेखि प्रदेशसम्म यति धेरै मन्त्री चाहिँदैन : भण्डारी
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले उत्कृष्ट संविधान बनाए पनि देशको अर्थतन्त्रले धान्न नसकेको बताउनुभएको छ । संसद् बैठकमा बोल्दै उहाँले प्रदेशदेखि केन्द्रदेखि यतिधेरै मन्त्रीहरू आवश्यक नभएको बताउनुभयो । ‘हामीले उत्कृष्ट संविधान बनाएको छौँ । संविधान राम्रो बनाएपछि हाम्रो अर्थतन्त्रले धान्न सकेन । हामी यति धेरै सांसद, प्रदेश र प्रदेशसभा सदस्य, यति धेरै मन्त्री प्रदेशदेखि केन्द्रसम्म आवश्यक थियो ?,’ प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘के सरकारको काम ठेक्कापट्टा लगाउने मात्रै हो ? आफ्नो स्वार्थ मात्रै हो ?’ ३६ हजार जनप्रतिधि र एकलाख कर्मचारी भए पनि जनताको पक्षमा काम गर्न नसकेको उहाँले गुनासो गर्नुभयो ।
जनआक्रोश पोखियो भने सरकारले थेग्न सक्दैन : सापकोटा
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले दूध उत्पादक किसानको व्यवसाय गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । संसद् बैठकमा बोल्दै उहाँले सहरको पैसा गाउँ-गाउँमा लैजाने र आत्मनिर्भर हुँदै गरेको दूध व्यवसाय अहिले गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । डिडिसीले भदौदेखि हालसम्म भुक्तानी नदिँदा किसानहरू मारमा परेको उहाँको भनाइ छ । ‘किसानले सडकमा दूध मात्रै पोखेका छन् जनआक्रोश पोखियो भने सरकारले थेग्न सक्दैन,’ उहाँले भन्नुभयो ।
किसान आन्दोलनलाई नजरअन्दाज नगरियोस् : लामिछाने
रास्वपा सभापति रवि लामिछानेले किसानको मागलाई नजरअन्दाज नगर्न चेतावनी दिनुभएको छ । संसद् बैठकमा बोल्दै उहाँले दूध र मह किसानको समस्या समाधान गर्न सरकारसँग माग गर्नुभयो । किसानले समेत सरकार ढाल्न सक्ने ल्याकत राख्ने उहाँले चेतावनी दिनुभयो । ‘देशभरका दूध किसान र मह किसान आन्दोलनमा छन्, दूध पोखेका छन्,’ उहाँले भन्नुभयो, ‘अर्कातिर विदेशबाट आउने पाउडर दूध र नक्कली महका कारण किसान मारमा छन् किसानको आन्दोलनलाई नजरअन्दाज गर्यो भने किसानहरूले सरकार ढाल्ने क्षमता राख्छन् । होसियार रहनुहोला ।’ उहाँले मिटरब्याजी पीडितसँग वार्ताको लागि सरकारसँग माग गर्नुभयो । ‘२३ दिन लगाएर काठमाडौं आएका छन् । सिंहदरबारले वार्ताका लागि ढोका खोलोस्,’ उहाँले भन्नुभयो, ‘मिटरब्याजको समस्या समाधान ग¥यौँ भनेर छाती फुलाएको सरकारले कुन छाती राखेर वार्ता गर्छ ।’
गठबन्धनमा सत्ता टिकाउने कुरामा मात्रै छलफल हुन्छ : राउत
जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके) ले गठबन्धनले सत्ता टिकाउने र प्रतिस्पर्धीलाई समाप्त पार्ने कुरामा मात्रै छलफल गर्ने गरेको आरोप लगाउनुभएको छ । संसद् बैठकमा बोल्दै उहाँले देशमा चरम निराशा भए पनि जनसरोकारका मुद्दामा छलफल नै नहुने गरेको आरोप लगाउनुभयो । ‘म पनि गठबन्धनमै छु । गठबन्धनका बैठकमा जनसरोकारका मुद्दामा छलफल नै भइरहेको छैन,’ उहाँले भन्नुभयो, ‘सत्तामा कसरी टिक्ने, गठबन्धनलाई कसरी टिकाउने, कसरी विरोधी र प्रतिस्पर्धीलाई कसरी समाप्त पार्ने भन्नेमा मात्रै ध्यान गएको छ ।’ सरकार, व्यवस्था, देश, राजनीतिक पार्टी र नेताहरूप्रति चर्को उदासीनता सुरु भएको उहाँले बताउनुभयो । व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका पूर्णतः असफल दिशातिर गइरहेको उहाँको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच