पश्चिम बागलुङमा बन्ने भयो प्रदेश स्तरीय अस्पताल

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 13 mins

बागलुङ । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि करिब सय किलोमिटर पश्चिममा छ बुर्तिबाङ । पश्चिम बागलुङको व्यापारीक केन्द्रका रुपमा रहेको बुर्तिबाङ बजारमा हालसम्म सुविधायुक्त अस्पताल संचालन हुन सकेको छैन । सुविधा सम्पन्न अस्पताल नहुँदा पश्चिम बागलुङका हजारौँ नागरिक पाल्पा, पोखरा र काठमाडौं पुगेर उपचार गराउँदै आएका छन् । पछिल्लो समय बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि विशेषज्ञ सेवा प्रदान हुँदै आएको छ । पश्चिम क्षेत्रका नागरिका लागि लक्षित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला स्तरीय अस्पतालमा स्तरोन्नती गर्नका लागि वि.सं. २०६४ साउन १५ गते स्वास्थ्य मन्त्रलायले निर्णय गरे पनि हालसम्म कार्यान्वन हुन सकेको छैन । तर अब बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र जिल्ला स्तरीय अस्पताल होइन, प्रदेश स्तरीयनै बन्ने भएको छ ।

गण्डकी प्रदेश सरकारको सिफारिसमा संघीय सरकारले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश स्तरीय ५० शैयाको अस्पताल बनाउने निर्णय गरेको छ । गत फागुन ६ गते मन्त्री परिषद्को बैठकको निर्णयले यस क्षेत्रका नागरिकमा खुसी छाएको छ । बर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र वि.सं. २०५२ सालमा स्थापना भएको थियो । यस क्षेत्रका जनतालाई सहज स्वास्थ्य सेवा दिनका लागि १६ वर्ष अगाडि स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल बनाउने निर्णय गरि ३२ करोड लागतमा संरचना निर्माण गरेको थियो । करोडौँको संरचना निर्माण गरे पनि जिल्ला अस्पताल बन्न नकेको प्राथमिक स्वास्थ्य केन्द्रमा हाल २५ शैयाको सेवा भने प्रवाह भइरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रका लागि स्वीकृत दरबन्दीमा व्यवस्थापन समिति र विभिन्न निकायले जनशक्ति थप गरि २५ शैयाको सेवा दिइदै आएका हुन् ।

हाल बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा १० शैयाको आकस्मिक र १५ शैयाको प्रसुति विभाग संचालनमा छ । स्थानीय र सरोकारवाला निकायको लामो समयको प्रयासपछि अहिले प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश स्तरीय अस्पताल बनाउन थालिएको हो । प्राथमिक स्वास्थ्य केन्द्रका लागि स्वीकृत११ जनाको स्थायी दरबन्दी रहेकोमा हाल ४८ जना कार्यरत रहेका छन् । ढोरपाटन नगरपालिकाले करार सेवामा २० जना, स्वास्थ्य केन्द्र व्यवस्थापन समितिबाट सात जना र निकसाइमन इनिस्टिच्युड संस्थाबाट ६ जना कर्मचारी व्यवस्थापन गरेर २५ शैयाको सेवा संचालन गरेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर नविन्द्र ढकालले बताउनुभयो ।

उहाँकाअनुसार हाल एक जना बालरोग विशेषज्ञ, एक जना एमडीजिपी विशेषज्ञ, दुई जना मेडिकल अधिकृत, एक ल्याबको बीएमलटी, दुई जना स्टाफ नर्स, चार हेल्थ असिस्टेन्ट, चार जना अहेव, पाँच जना अनमी र ९ जना कार्यालय सहयोगी लगायतका कर्मचारी रहेका छन् । हाल स्वास्थ्य केन्द्रबाट चौबिसै घण्टा आकस्मिक, बहिरङ्ग, सल्यक्रियाद्वारा प्रसुति सेवा, सामान्य सल्यक्रिया, बालरोग विशेषज्ञ सेवा, जनरल फिजिसियन विशेषज्ञ सेवा, अत्याधुनिक प्रयोगशाला सेवा, जिनएक्पट सेवा, दन्त, आँखा उपचार सेवालगायतको सेवा दिँदै आएको उहाँको भनाइ छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरि ५० शैयाको प्रदेश स्तरीय अस्पताल संचालन गर्न समस्या नभएको डाक्टर ढकाल बताउनुहुन्छ । हालको संरचना अस्पताल संचालनका लागि पर्याप्त रहेको हुँदा सरकारले आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरे तत्काल प्रदेश स्तरीय अस्पताल संचालन गर्न सकिने उहाँको भनाइ छ ।

“बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश स्तरीय अस्पताल बनाउनका सामाजिक विकास मन्त्रालयले समिति गठन गरि पटक-पटक आए अनुगमन भएको छ, संघीय सरकारले घोषणा गरेको निर्णयलाई कार्यान्वयन गर्न समस्या छैन, अहिले पर्याप्त संरचना छ, आवश्यक पछि थप्दै गए हुन्छ” डाक्टर ढकालले भन्नुभयो - “हामीहरुले अहिले प्राथमिक स्वास्थ्य केन्द्रले दिने सेवा होइन, २५ शैयाको ठूलो अस्पतालले दिन विशेषज्ञ सेवा प्रदान गरेका छौँ, दक्ष जनशक्ति अभाव हुँदा हुँदै पनि सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै गएका छौँ, जनशक्ति र उपकरण थप्ना साथ सरकारको निर्णय कार्यान्वय गर्न कुनै समस्या छैन, छिटै प्रदेश स्तरीय अस्पतालको सेवा दिन सकिन्छ ।”

बुर्तिबाङ स्वास्थ्य केन्द्रमा वार्षिक करिब ६०० महिला प्रसुति हुने गरेका छन् । दैनिक ३०० जनलाई बहिरङ्ग र ३० जनालाई आकस्मिक सेवा दिँदै आएइएको छ । अस्पताल व्यवस्थापनका अनुसार १४ रोपनी ९ आना जग्गामा तीन ब्लगसहित ४८ कोठासहितका भवन र एक आवासीय भवन रहेका छन् । जुन संरचना अस्पताल संचालनको लागि पर्याप्त हो । ५० शैयाको अस्पताल संचालन गर्न १४९ जना जनशक्ति आवश्यक पर्ने गर्छ । जसमा एक जना एघारौँ तहको मेडिकल सुपरिटेन्डेण्ट, वरिस्ठ कन्सल्टेन्ट मेडिकल जनरलिस्ट एक जना चाहिन्छ ।

त्यस्तै कन्सल्टेन्ट सर्जन एक जना, बाल रोग विशेषज्ञ एक जना, फिजिसिएन एक जना, स्त्रीरोग विशेषज्ञ एक जना, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ एक जना, एनेस्थेसिया विशेषज्ञ एक जना, रेडियोलोजिस्ट विशेषज्ञ एक जना, दन्त चिकित्सक एक जना, मेडिकल अधिकृत १२ जना, आयुर्वेदीक चिकित्सक दुई जना, स्टाफ नर्स ४० जना, मिडवाइफ चार जना, हेल्थ असिस्टेन्ट ९ जना आवश्यक पर्ने गर्छ । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरि ५० शैयाको प्रदेश स्तरको अस्पताल संचालनका लागि २० करोग ८२ लाख लागत लाग्ने अनुमान गरिएको छ ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा नगरपालिकाले हरेक वर्ष लाखौँ लगानी गर्दै आएको बताउनुभयो । पश्चिम बागलुङका अधिकांश नागरिकलाई यो स्वास्थ्य केन्द्र नजिक पर्ने हुँदा बिरामी चाप बढ्ने गरेको उहाँको भनाइ छ । माथिल्लो निकायबाट खास्सै सहयोग हुन नसकेको र डाक्टरहरु पनि आएको एक/दुई महिनामा जाने गर्दा बिरामीले सास्ती खेप्नु परेको उपप्रमुख कायतले बताउनुभयो । पछिल्लो केही समय यता डाक्टर टिकाउनका लागि नगरपालिकाले उहाँहरुका लागि सेवा सुविधा थप गरेर राखेको उहाँ बताउनुहुन्छ ।

उपप्रमुख कायतले भन्नुभयो - “नगरपालिकाले निरन्तर बुर्तिबाङ स्वास्थ्य केन्द्रमा लगानी गर्दै आएको छ, आवश्यक स्वास्थ्य सामग्रीदेखि डाक्टरलाई थप सेवा सुविधा दिएर टिकाउने कामसम्म गरेको छ, अहिलेसम्म केन्द्र र प्रदेश सरकारबाट सहयोग छैन, गाउँ-गाउँका स्वास्थ्य चौकीमा काम नहुँदा त्यहाँबाट स्वास्थ्यकर्मीसमेत लिएर यहाँ आउने बिरामीलाई सेवा दिने गरेका छन्, पहिले विहान १० देखि ५ बजेसम्म मात्रै प्रवाह हुने सेवालाई अहिले २४ घण्टा दिने व्यवस्था गरेका छौँ, सरकारको प्रदेश स्तरीय अस्पताल बनाउने निर्णय स्वागत योग्य छ ।”

गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुँवरले लामो समयको प्रयासपछि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती हुने भएको बताउनुभयो । करिब दुई दशकदेखि पश्चिम बागलुङमा विशेषज्ञ स्वास्थ्य सेवा दिनका लागि जिल्ला अस्पताल बनाउनु पर्ने माग राख्दै आएकोमा अहिले बल्ल पूरा भएको उहाँको भनाइ छ । प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रवाह हुने सेवा गुणस्तरीय बन्दै गएको भन्दै अब थप स्तरोन्नतीपछि यस क्षेत्रका नागरिक हजारौँ खर्च गरेर पोखरा, काठमाडौंलगायतका ठाउँमा जानु नपर्ने कुँवरले बताउनुभयो ।

“पहिले यस क्षेत्रमा स्वास्थ्य सेवा निकै कमजोर थियो, धेरै नागरिकले समयमा राम्रो उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु परेको थियो, अब त्यो अवस्था नदोहोरियोस भनेर हामी निरन्तर लागि परेका छौँ” कुँवरले भन्नुभयो - “अहिले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको सेवा पनि राम्रो हुँदै गएको छ, सरकारलाई तत्काल निर्णय कार्यान्वयन गर्नका लागि हामीहरुले जकजकाई रहने छौँ, छिट्टै ५० शैयाको अस्पतालको सेवा सुरु हुनेछ ।”

मध्यपहाडी लोकमार्ग छेउमै रहेको बुर्तिबाङमा प्रदेश स्तरीय अस्पताल संचालन भए पश्चिम बागलुङ छ पालिकासहित गुल्मी, प्यठान, रोल्पा र पूर्वी रुकुमका हजारौँ नागरिकले स्वास्थ्य सेवा लिन सहज हुने थियो । अहिले पनि गुल्मीसहितका छिमेकी जिल्लाका नागरिकले सेवा लिन आउने गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?