खोरभित्र थुनिएकी फुर्दिकुलाई उपचार गर्न काठमाडौं लगियाे

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 4 mins

खोटाङ । मानसिक सन्तुलन गुमाएपछि खोरभित्र थुनिएकी फुर्दिकु शेर्पालाई उपचार गराउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडाैं लगेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथला गैरीका २९ वर्षीया फुर्दिकुलाई नगरपालिकाले सोमबार एउटा गाडी रिजर्भ गरेर काठमाडाैं लगेको हो । फुर्दिकुसँगै बुवा पेमाछेतर शेर्पा र बहिनी एन्जिना शेर्पा पनि काठमाडाैं जानुभएको छ ।

राष्ट्रिय महिला आयोग काठमाडाैंकी अध्यक्ष कमला पराजुली र उपाध्यक्ष बम बानियाँसँग समन्वय गरी ललितपुरस्थित मानसिक अस्पताल लगनखेलमा पुरै निको भएसम्म निःशुल्क उपचार गर्ने वातावरण मिलाएर फुर्दिकुलाई घरबाट उद्धार गरी काठमाडाैं लगिएकाे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताउनुभयो । फुर्दिकुका लागि लाग्ने अन्य सबै खर्च नगरपालिकाले व्यहोर्ने भट्टराईले बताउनुभयो ।

फुर्दिकुलाई अस्पतालमा उपचार गरेपछि पनि सहयोगका लागि विभिन्न संघसंस्थासँग सहकार्य भईरहेको र उहाँहरुले २,४ महिनासम्म सहयोग गर्ने आश्वसन दिनुभएको मेयर भट्टराईले बताउनुभयो । मेयर भट्टराई बिरामीलाई अस्पताल लान र अन्य व्यवस्थापन गर्न काठमाडाैंमा पर्खेर बस्नुभएको छ । मेयर भट्टराई मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रमको शिलशिलामा राजधानीमै हुनुहुन्छ ।

बिरामीको उपचारमा नगरपालिकाको तर्फबाट पुरै सहयोग हुने उपमेयर विशन राईले बताउनुभयो । उपमेयर राई पनि मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रमका लागि भोली राजधानी जाने र बिरामीलाई अस्पतालमा भेट्ने कार्यक्रम छ । फुर्दिकुको समाचार विभिन्न सञ्चारमाध्यममा फागुन १२ गतेदेखि आएपछि नगरपालिकाले उद्धार गरेको हो ।

मानसिक सन्तुलन गुमाएपछि मान्छे देख्दा झनक्क सिराउने, आक्रमण गर्ने, गालीबेइज्ज बोल्ने, बेठेगान तरिकाले हिँड्नेलगायतका समस्या देखिएपछि फुर्दिकुलाई परिवारले गत माघ १६ गतेदेखि आँगनमा काठको खोर बनाएर राखेको थियो ।

फुर्दिकुका लागि स्वस्फुर्त सहयोग संकलन

फुर्दिकुको समाचार सञ्चारमाध्यममा आएपछि उनको थप उपचारका लागि स्वस्फुर्त रुपमा आर्थिक सहयोग जुट्न थालेको छ । उनका लागि २६ जना सहयोगीदाताहरुले दिनु भएको ३० हजार ५०० रुपैयाँ सहयोग रकम नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङका पूर्वअध्यक्ष दमन राईले गैरी पुगेर फुर्दिकुका बुवा पेमाछेतरलाई हस्तान्तरण गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?