यू–१९ विश्वकप : भारतको सामना गर्दै नेपाल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा आज नेपालले भारतको सामना गर्ने भएको छ ।खेल दिउँसो १ बजर ४५ मिनेटमा दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिन मैदानमा हुने छ ।

सुपर सिक्सका दुई खेल अगावै विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिएको नेपालका लागि यो अन्तिम खेल हो । सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बुधबार भएको खेलमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित भएको हो ।

दक्षिण अफ्रिका विश्वकपमा नेपाल समूह चरणको पहिलो खेलमा न्युजिल्याण्डसँग ६४ रनले पराजित भयो । दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको हो ।

सनसनीपूर्ण बनेको अफगानिस्तानविरुद्धको खेलमा नेपालले एक विकेटको जित निकालेको थियो ।

भारतसँग नेपालले पछिल्ला कुनै पनि खेलमा सुखद् नतिजा निकाल्न सकेको छैन । दुई महिना अगाडि मात्र एसिया कपमा भारतसँग नेपाल १० विकेटले पराजित भएको थियो । कमजोर ब्याटिङ गरेको नेपाल भारतसँग ५२ रनमै अलआउट भएको थियो ।

विश्वकपमा भने नेपाल भारतसँग आज तेस्रो पटक प्रतिस्पर्धा गर्न लागेको हो । यसअघिका दुवै खेलमा नेपाल पराजित भएको छ ।

सन् २००० मा श्रीलंकाको कोलम्बोमा सम्पन्न यू–१९ विश्वकपमा नेपाल र भारतले खेलेका थिए । पहिला ब्याटिङ गरेको नेपाललाई भारतले १०१ रनमा समेटेको थियो । उक्त खेलमा भारतले आठ विकेटको जित निकालेको थियो ।

नेपाल र भारतको दोस्रो भेट सन् २०१६ को विश्वकपमा भएको थियो । उक्त खेलमा पहिला ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा १६९ रन जोडेको थियो । जवाफमा भारतले सात विकेटको जित निकालेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?