बैंक तथा वित्तीय संस्थाले ब्याजदर नघटाए सरकार नीतिगत हस्तक्षेप गर्न बाध्य हुन्छ : गृहमन्त्री खाण

Read Time = 2 mins

बुटवल । गृहमन्त्री बालकृष्ण खाणले बैंक तथा वित्तीय संस्थालाई ब्याजदर घटाउन आग्रह गर्नुभएको छ। उहाँले ब्याजदर नघटाए सरकारले नीतिगत हस्तक्षेप गर्ने चेतावनीसमेत दिनुभयो ।

बिहीबार बुटवलमा रुपन्देही उद्योग संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उदघाटन समारोहमा बोल्दै गृहमन्त्री खाणले बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याजदर घटाउन आग्रह गर्नुभयो। 'ब्याजदर नघटाए सरकार नीतिगत हस्तक्षेप गर्न बाध्य हुन्छ,' उहाँले भन्नुभयो ।

उद्योग क्षेत्र थला पर्दा त्यसको असर बैंक तथा वित्तीय क्षेत्रमा समेत पर्ने भन्दै गृहमन्त्री खाणले यसतर्फ संवेदनशील बन्न आग्रह गर्नुभयो । 'बैंक तथा वित्तीय क्षेत्र माथि उठ्नका लागि पनि उद्योग क्षेत्रको विकास हुनुपर्छ । यसका लागि व्याजदर घटाउनु जरुरी छ,' उहाँले भन्नुभयो ।

कोभिडपछि कमजोर बनेका उद्योगी व्यवसायी बैंकको चर्को ब्याजदरका कारण झनै कमजोर बनेको गृहमन्त्रीको टिप्पणी छ । उहाँले उद्योगी व्यवसायीहरुको संरक्षण र संवर्द्धन सरकार तथा सबै जनप्रतिनिधिहरुको साझा दायित्व भएको समेत बताउनु भयाे । 'सरकार एउटा पक्ष र उद्योगी व्यवसायी अर्को पक्ष होइनन्, समस्या समाधान गर्ने सबैको साझा दायित्व हो,' उहाँले भन्नुभयो ।

अब छिटै नयाँ सरकार बन्ने भन्दै उहाँले अवको सरकारको पहिलो प्राथमिकता र दायित्व आर्थिक गतिशीलता हुने बताउनु भयो । उद्योगको विकास र अर्थतन्त्रलाई माथि उकास्ने काममा आगामी सरकार लाग्ने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो । बुटवलमा आयोजित प्रदर्शनीले उद्योगीलाई नयाँ ऊर्जा र शक्ति प्रदान गरेको पनि बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?