काठमाडौं । थुप्रै कालजयी गीतका धनी भजन शिरोमणि विशिष्ट गायक तथा संगीतकार भक्तराज आचार्य सधैँका लागि हामीबाट बिदा हुनुभएको छ । सोमबार अपराहृन ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा उहाँको बाटोमै निधन भएको हो । भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध उहाँको ८२ वर्षको उमेरमा निधन भएको हो । अपराहृन साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि छोरा स्वरूपराजले उहाँलाई मेडिसिटी अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको हो । समयमै अस्पताल पुर्याए पनि चिकित्सकले ‘ब्रेन डेथ’ घोषणा गरेको संगीतकार हरि लम्सालले जानकारी गराउनुभयो ।
आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उहाँको बिदाइ गर्ने तयारी छ । आचार्यको निधनमा यतिबेला सांगीतिक क्षेत्र शोकाकुल बनेको छ ।
उहाँ स्वरसम्राट् नारायण गोपालका समकालीन गायक हुनुहुन्थ्यो । आचार्यका ‘मुटु जलिरहेछ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने, जीवन भनूँ त घात छ, यो मन गलिरहेछ, जति चोट दिन्छौ देऊ मायालु, सबै बेहोसी नशा पिएर’ लगायत थुप्रै गीत लोकप्रिय छन् । यस्तै, उहाँका ‘एकदिन मैले प्रभुसँग सोधेँ, तन मन वचनले प्रभु नाम गाऊँ, सब निदाए प्रभु, लौन अब मेरो प्रभुलगायत दजनौँ भजन लोकप्रिय छन् ।
आचार्यले आफ्नो जीवन कालमा चार सयभन्दा बढी गीतमा स्वर तथा संगीत दिनुभएको छ । उहाँको जन्म वि.सं. १९९९ साल अजोज १६ मा धनकुटामा भएको थियो । २०४६ साल मंसिर १९ गते दुर्घटनामा परेपछि आचार्यले आफ्नो स्वर गुमाउनुभएको थियो । २०५० मा उहाँको जिब्रो काट्नुपरेको थियो र त्यो घटनापछि उहाँको गायन यात्रामा पूर्णविराम नै लागेको थियो ।
स्वर्गीय आचार्यले भजन शिरोमणि, पद्मश्री पुरस्कार, गोरखा दक्षिणबाहु, त्रिशक्ति पट्ट (पहिलो), वीरेन्द्र-ऐश्वर्य सेवा पदक, राष्ट्रिय प्रतिभा पुरस्कार, छिन्नलता पुरस्कार, राष्ट्रिय संगीत सम्मान २०७५ लगायत थुप्रै दीर्घ साधना सम्मान, पुरस्कार र अवार्ड प्राप्त गर्नुभएको छ । आचार्यको जीवनीमाथि ‘आचार्य’ नामक नेपाली चलचित्र पनि बनेको छ, जसमा भक्तराज आचार्यको जीवनका हरेक उतार-चढावको बारेमा देखाइएको छ । उक्त चलचित्रमा उहाँका छोरा सत्यराज आचार्यले नै भक्तराज आचार्यको भूमिका निर्वाह गर्नुभएको छ ।
आचार्यको निधनप्रति संगीतकर्मी, सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरूले श्रद्धाञ्जलि व्यक्त गरिरहेका छन् । आचार्यको नेपाली सुगम संगीतमा विशिष्ट स्थान छ । आचार्यका श्रीमती, दुई छोरा-बुहारी र दुई नाति हुनुहुन्छ । गीत गाउन असमर्थ भएको ३४ वर्षपछि भजन शिरोमणि आचार्य सधैँका लागि हामीबाट बिदा हुनुभएको छ । उहाँ यो संसारमा नरहे पनि उहाँका कालजयी गीत-संगीतहरू सदा–सदाका लागि गुञ्जिरहने छन् । भजन शिरोमणिप्रति हिमालय टाइम्स परिवार हार्दिक श्रद्धासुमन अर्पण गर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच