निजी क्षेत्रको मनोबल उकास्ने नीति ल्याउन आग्रह

Read Time = 4 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)ले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेट गरी उद्योगी व्यवसायीको मनोबल उकास्ने नीति ल्याई लगानीमैत्री वातावरण सिर्जना आग्रह गरेको छ । सिएनआईका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले बुधबार उद्योगमन्त्री भण्डारीसँग औद्योगिक समस्याका बारेमा ध्यानाकर्षण गराएको हो । सिएनआई अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानीयोग्य पुँजीको अभावलगायतका कारण उद्योगी व्यवसायीको मनोबल निकै खस्किएका बेला मनोबल बढाउन र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्र पुनर्जीवित गर्ने नीति अवलम्बन गर्न आग्रह गर्नुभयो । उहाँले औद्योगीकरणले मात्रै दिगो विकास प्राप्त गर्न सकिने र पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न सक्ने भन्दै उहाँले नेपालको औद्योगीकरणलाई उच्च प्राथमिकतासाथ अघि बढाउन आग्रह गर्नुभयो ।

साथै सिएनआईले अघि बढाइरहेको मेक इन नेपाल–स्वदेशी अभियानलाई सरकारको न्यूनतम साझा कार्यक्रममा प्रमुखताका साथ राखेकोमा धन्यवाद दिँदै उहाँले सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै आयात प्रतिस्थापन गर्ने उद्योगलाई प्रोत्साहन गर्न, कार्यान्वयनमा नआएका औद्योगिक क्षेत्र भारतको रुद्रपुर औद्योगिक क्षेत्रको मोडलमा सार्वजनिक निजी साझेदारीमा छिटो कार्यान्वयनमा लैजान पनि अग्रवालले आग्रह गर्नुभएको छ ।

उहाँले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिवोटिङ नेप्लिज इकोनोमी’ अवधारणा नवनियुक्त मन्त्रीसमक्ष पेश गर्नुभयो । सिएनआईले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रवद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपायसमेत सुझाएको छ ।

सो अवसरमा मन्त्री भण्डारीले सिएनआईका कार्यान्वयन गर्न सकिने सुझाव कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । रोजगारी अभावमा पलायन भइरहेका जनशक्ति रोक्नु र नेपालमै नयाँ रोजगारीका अवसर बढाउनु आफ्नो महत्वपूर्ण लक्ष्य रहेको र औद्योगिक विकासबाट मात्रै यो सम्भव हुने भन्दै उहाँले सिएनआईसँग सहकार्य गरी अघि बढ्ने आश्वासन दिनुभयो । सो अवसरमा सिएनआई उपाध्यक्षहरू निर्वाण चौधरी, राजेश अग्रवाल, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, रोहित गुप्ता, अमित मोर तथा महानिर्देशक दिपकराज जोशीको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?