जीर्ण अवस्थामा राजधानीका आकाशे पुलहरू, यात्रु भन्छन्- जोखिम बढ्यो, सम्बन्धित निकाय मौन

Read Time = 7 mins

भावना अवस्थी/हिटा
काठमाडौं । अस्तव्यस्त सडक पार गर्न पैदलयात्रीको सुविधाका लागि बनाइएका काठमाडौंका अधिकांश आकाशे पुलहरू जीर्ण बन्दै गएका छन् । वर्षौं पुराना आकाशे पुलहरू मर्मतमा ध्यान नदिँदा पैदलयात्रुहरू जोखिम मोलेरै हिँड्नुपर्ने बाध्यता बढ्दै गएको हो । आकाशे पुलहरू जीर्ण हुँदै गएपछि ओहोरदोहोर गर्न जोखिम बढेको छ भने भिडभाड सडकबाटै बाटो काट्नेको संख्या बढ्न थालेको छ । जसले यात्रुहरूमा जोखिम निम्त्याएको छ ।

पैदल यात्रीको सहजीकरणका लागि ठाउँ-ठाउँमा आकाशे पुल निर्माण गरिएका छन् । आकाशे पुलहरूले शहरको व्यस्त सडक तथा सवारीसाधन व्यवस्थापनमा पनि सहयोग पुर्‍याएका छन् । तर, पैदल यात्रुका लागि भनेर निर्माण गरिएका कतिपय ठाउँका आकाशे पुलको अवस्था हेर्दा भने पुलको प्रयोग गर्दा झन् जोखिमपूर्ण हुने देखिन्छ ।

भृकुटीमण्डप नजिकै रहेको दैनिक हजारौँ पैदलयात्री हिँड्ने आकाशे पुल खिया लागेर उप्किएको फलामको पातामा अडिएको छ । पैदलयात्रुको सुरक्षाका लागि आवश्यक मानिएको र भासिन लागेको पुलबाट बाटो काट्न डराउनुपरेको पैदलयात्रु नै बताउँछन् । राष्ट्रले ठूलो लगानी गरेका यस्ता पूर्वाधारप्रति सम्बन्धित निकायको लापरबाहीले गर्दा आकाशे पुल प्रयोग नगरी जथाभावी बाटो काट्नुपरेको र आवतजावत गर्न असहज भएको तर यस्तो कुरामा महानगरले ध्यान नदिएको उनीहरूको गुनासो छ ।

दैनिक नेता, मन्त्रीदेखि विशिष्ट व्यक्तित्वहरू ओहोरदोहोर गर्ने सडकमा बनेको यो पुल आकर्षक विज्ञापनले सजाइएको छ । तर, भित्र भने थोत्रिएर जोखिम हुँदासमेत कसैको ध्यान जान सकेको छैन । काठमाडौं महानगरपालिकाले २२ वर्षअघि यो पुल निर्माण गरेको थियो । दिनहुँ सयौँ पैदलयात्री ओहोर-दोहोर गर्ने यो आकाशे पुलका सिँढीमै भ्वाङ परेको छ भने अन्य संरचनाको अवस्था पनि उस्तै जीर्ण भइसकेको छ । यो पुलमा पैदलयात्रुहरू सिँढीमा अल्झिएर लड्नु सामान्य जस्तै भएको छ ।

काठमाडौं बसोबास गर्ने झापाका सुवास गुरुङ सडकबाट बाटो काट्दा जरिवाना तिनुपर्ने र आकाशे पुलबाट बाटो काट्न डर लाग्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘आकाशे पुलमा हिँड्दा पुल भत्किन्छ कि भन्ने डर लाग्छ सडकबाटै बाटो क्रस गर्दा जरिवाना तिनुपर्ने हुन्छ ।’
भृकुटीमण्डपको आकाशे पुलमा भेटिनुभएकी ममता ऐरको गुनासो पनि उस्तै छ । उहाँ भन्नुहुन्छ, ‘पुलबाट बाटो काट्दा छिटोछिटो पाइला चालेर हिँड्नुपरेको छ, यति धेरै मान्छे हिँडेको बेला पुल भासिए कसले जिम्मा लिन्छ ?’ ममतासँगै भेटिनुभएका लोकेशबहादुर बुढाथोकीले पनि आकाशे पुल भासिने डर रहेको र यात्रुले जथाभावी सडक काट्नुपरेको गुनासो गर्नुभयो ।

राजधानीकै वीर अस्पतालनजिक रहेको पैदलयात्री सहजीकरणका लागि बनाइएको आकाशे पुलको अवस्था पनि उस्तै छ । आकाशे पुलमा राखिने फुटपाते बजारसँगै पुलमा भएको फोहोरले पनि आवतजावतमा असहज हुने पैदलयात्रु बताउँछन् । पैदलयात्री सहज पहुँच हुने गरी पुलको निर्माण र मर्मत सम्भारमा काठमाडौं महानगरपालिकाले ध्यान दिन आवश्यक देखिन्छ ।

काठमाडौंको मुटुमा रहेको यी दुई पुल त उदाहरण मात्र हुन् । यस्तै अवस्था काठमाडौं र भक्तपुरका अन्य पुल र ललितपुर महानगरपालिकाभित्र रहेका पुलहरूको पनि छ । अधिकांश आकाशे पुलका दायाँ बायाँका बारहरू पुराना भएर खिइँदै गएको छ । पुलका स्ल्याबहरू उक्किएको र कतिपय स्ल्याबमा राखिएका फलामे डण्डीहरू समेत पुराना भइसकेको कारण पैदल यात्रुलाई आउजाउमा समेत समस्या भइरहेको छ । तर, पुलका जोखिम बढे पनि यसको मर्मत सम्भारमा महानगरपालिका लगायतका निकाय उदासीन रहेको पैदल यात्रुहरूको गुनासो छ । महानगरपालिकाभित्र सञ्चालित रत्नपार्क, जमल, भोटाहिटी, एनएसी अगाडि, सुन्धारा वीर अस्पताल छेउका साथै जडीबुटी, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा रहेका पुराना आकाशे पुलहरू अहिलेपनि जोखिममै छन् । यिनको मर्मतमा समेत कसैको ध्यान जान सकेको छैन ।

करोडौँ लगानी गरेर बनाइएका यी पुलहरूको मर्मत तथा सञ्चालनको जिम्मा लिएका सम्बन्धित निकायले पनि निगरानी, अनुगमनमा गैरजिम्मेवार बन्दा आकाशे पुल थप जोखिमपूर्ण देखिएका छन् । काठमाडौं महानगरपालिकाले २०५५/०५६ सालमा सुन्धारादेखि जमलसम्म ६ वटा पुल निर्माण गरेको थियो । पछि महानगरलाई रोयल्टी दिने गरी इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिलाई मर्मत तथा सञ्चालनको जिम्मेवारी दिइए पनि अनुगमन तथा निगरानी नगर्दा पुल जोखिमपूर्ण बनेको हो । अर्कोतर्फ पैदलयात्रुले जथाभावी बाटो काट्दा सवारी जामको अवस्था बढ्दै गएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?