शैक्षिक योग्यताहरूमा अहिलेसम्म सबैभन्दा मर्यादित र प्रतिष्ठित योग्यताको नाम हो विद्यावारिधि । यस्तो योग्यता हुनेहरूको संख्या हिजो अत्यन्तै दुर्लभ भएकाले सम्मानित र प्रतिष्ठित थियो । जगतले नै आदर गर्ने विद्यावारिधिको विशिष्ट पहिचान थियो । कुनै योग्यता, कार्यक्षमता, विशिष्टता, आविष्कार, अनुसन्धान आदि आफैं सम्मानित हुने विषय हुँदाहुँदै पनि त्यसलाई समाजले हृदयतः स्वीकार नगरिकन क्षमता, विशिष्टता, योग्यता आफैं सम्मानित हुँदैनन् । लोकले सम्मानित र आदर गर्न उनीहरूको अध्ययन, अनुसन्धानबाट जनता लाभान्वित हुनै पर्छ । यो अनुसन्धानको निचोडले राज्याका, समाजका तपसिलका समस्याहरूको समाधान गर्न यस्ता उपाय अवलम्बन गर्नुपर्छ भन्ने ठोस निष्कर्ष सार्वजनिक गर्नैपर्छ । त्यसो गर्न अक्षमहरूका लागि विद्यावारिधिमा भएको लगानी घाटा हो ।
विद्यावारिधिमा भएको लगानी निरर्थक भएको विषयको व्याख्या, विश्लेषण, छलफल र बहस अबको सन्दर्भमा आवश्यक छ । विद्यावारिधिका लागि देशले, समाजले लगानी गरेका सम्बन्धित व्यक्तिले डिग्री पाउने, उनीहरूको जागिरका अवसर, सम्भावनामा वृद्धि हुने, पदोन्नति हुने तर त्यसबाट राज्य र समाज लाभान्वित नहुने हो भने त्यस्तो विद्यावारिधिका लागि लगानी किन गर्ने ? देशले उनीहरूलाई अवसर, सम्मान दिने तर तिनै विद्वानहरूले विश्वविद्यालयजस्तो पवित्र संस्थालाई नियमित, व्यवस्थित गर्ने जिम्मेवारी पूरा गर्न सक्दैनन् भने तिनीहरू कसरी सम्मानित हुने ? विश्वविद्यालयलाई लथालिंग पार्नु भनेको देश र जनतालाई धोका दिनु हो । यो प्रश्न सधैं निरुत्तरित हुनुहुँदैन ।
विद्यावारिधि गर्नेहरूले देशका, समाजका सबै समस्याहरूको पहिचान र समाधानका विषयमा नियमित कलम चलाउनुपर्छ तर हाम्रा विद्यावारिधि धारकहरू शोधपत्र बुझएर डिग्री पाएपछि एक अक्षर पनि लेख्दैनन् भने तिनीहरूको योग्यतामा र डिग्रीमा समाजले आशंका गर्नु स्वाभाविक हो ।
विद्यावारिधिको डिग्रीले व्यक्तिको व्यक्तित्व विकास त्यतिबेला गर्छ जतिबेला उसले प्राप्त गरेको ज्ञान, डिग्री, क्षमता, कार्यकुशलता, अनुसन्धान तथा विशिष्टताले समाज लाभान्वित हुन्छ । व्यक्तिले प्राप्त गरेको विद्यावारिधिले व्यक्तिमात्रै लाभान्वित हुने अवस्थामा समाजले र देशले विद्यावारिधि गर्दैमा किन सम्मान गर्ने भन्ने यक्ष प्रश्न उपस्थित हुन्छ । उसको विशिष्ट अध्ययन र अनुसन्धानको निष्कर्षले जनता र देशलाई के नयाँ कुरा दियो ? विद्यावारिधि गर्ने जोकोहीसँग समाजले प्रश्न गर्छ । अपेक्षा अनुसारको उपलब्धि समाजले अनुभव गरेन भने उनीहरूसँग तिमीहरूले देश र समाजलाई के दियौ भन्ने प्रश्न गर्ने हक हुन्छ ।
त्यो प्रश्नको उत्तर देश, समाजलाई विद्यावारिधिको योग्यताले कार्यक्षमतामा भएको वृद्धिका माध्यमले उत्तर दिने हैसियत नहुने विद्यावारिधि गर्नेहरूमा भएको लगानी देशले सरकारी बाँकीसरह उठाउने कानुन र व्यवस्थाबिना विद्यावारिधिको अध्ययन र अनुसन्धान गुणस्तरीय हँुदैन । विद्यावारिधिको अध्ययन गुणस्तरीय हुनुभनेको उसको अनुसन्धानको निष्कर्षले यो यो समस्याको समाधान यसरी हुन्छ भनेर किटानी साथ भन्नसक्ने क्षमता हो । त्यो क्षमता आर्जन गर्न नसक्नेहरूको विद्यावारिधि फगत व्यक्तिका लागि लाभ दिने विद्यावारिधिभित्र पर्छ । विद्यावारिधि गर्नेहरूले देशका, समाजका सबै समस्याको पहिचान, समाधानका विषयमा नियमित कलम चलाउनुपर्छ तर हाम्रा विद्यावारिधि धारकहरू शोधपत्र बुझएर डिग्री पाएपछि एक अक्षर पनि लेख्दैनन् भने तिनीहरूको योग्यतामा र डिग्रीमा समाजले आशंका गर्नु स्वाभाविक हो ।
त्यस्ता विद्यावारिधिको अध्ययन, अनुसन्धान, खोजमा भएको लगानी वास्तवमा दुरूपयोग हो । विद्यावारिधिको शिक्षा गुणस्तरीय भएन अर्थात् देशका जल्दाबल्दा समस्यहरूको सामाधानका सन्दर्भमा अनुसन्धानले स्पष्ट बोल्न सक्दैन भने त्यो साधनस्रोतको लगानी दुरुपयोग र समयको बर्बादीसमेत हो । अबका दिनहरूमा राज्यले र यस्तो बर्बादी गर्न हँुदैन । त्यसैले विद्यावारिधिको संख्यात्मक वृद्धिसँगै उनीहरूको अध्ययनको अनुसन्धानको गुणात्मक पक्षको मूल्यांकन, समीक्षाजस्ता विषय छलफल, चर्चा र टीकाटिप्पणीका विषय बन्नुपर्छ । लगानीले प्रतिफल दिनुपर्छ जुन लगानीले प्रतिफल दिँदैन त्यो लगानी वास्तवमा साधनस्रोतको दुरूपयोग हो । साधनस्रोत दुरुपयोग गर्ने राष्ट्र, समाज र व्यक्तिले किमार्थ प्रगति गर्दैन । हाम्रो देश विकासमा पछि पर्नुको कारणहरूको खोजी र समाधानका उपायको अध्ययन यो कोणबाट गर्नुपर्छ ।
समस्याको पहिचान र समस्याको निदानसँग विद्यावारिधिलाई जवाफदेही बनाउने संयन्त्रबिना यस क्षेत्रमा भएको लगानी दुरुपयोग हो । राज्यको लगानीलाई दुरुपयोग गर्ने छुट कसैलाई छैन । अब यस विषयमा छलफल, समीक्षा, विश्लेषण र बहस प्रारम्भ गर्नुपर्छ । पाँच-पाँच वर्ष तलबी बिदाको सुविधा, अध्ययन खर्चमा राज्य, समाजले अनगिन्ती रकम लगानी गरेको छ । त्यसको प्रतिफलको अवस्था के छ ? के यसको सदुपयोग भएको छ भन्ने वस्तुगत समीक्षा, विश्लेषण, मूल्यांकन नगरिकन यसमा अन्धाधुन्ध खर्च किन गर्ने ? राज्यकोषको दुरुपयोग रोक्ने जिम्मेवारी राज्यले निर्वाह गरेन भने राज्य गैरजिम्मेवार हुन्छ । राज्य र समाजलाई गैरजिम्मेवार हुने छुट किमार्थ हुँदैन ।
विद्यावारिधिसँग सम्बन्धित लगानीमा प्रतिफलको समीक्षा, विश्लेषण र मूल्यांकनको प्रश्न समयक्रममा आवश्यक र स्वयं विद्यावारिधि गर्नेहरूका लागि पनि पेचिलो बनेको छ । विद्यावारिधिको गुणात्मक पक्ष कमजोर भयो भने संख्यात्मक पक्षको कुनै अर्थ छैन । तसर्थ सम्बन्धित पक्षले यसको समग्रमा विश्लेषण, समीक्षा, छलफल, यो उच्चतम अध्ययन, अनुसन्धानबाट सम्बन्धित व्यक्तिले देश र जनतालाई के दियो भन्ने प्रश्नलाई सान्दर्भिक भन्नुपर्छ । विद्यावारिधि फगत विद्यावारिधि गर्नेहरूका लागि मात्र फलदायी हुनुहुँदैन । विद्यावारिधि गर्नेहरू देश र जनताका लागि लाभकारी भएको प्रमाणित गर्न सक्नुपर्छ । व्यक्तिगत सन्तुष्टि, व्यक्तिगत लाभका लागि प्राप्त विद्यावारिधिको शैक्षिक योग्यता, क्षमताको आदर, कदर र सम्मान समाजले किन गर्ने ?
समाजले वास्तवमा समाजलाई हित गर्ने क्षमता, योग्यता, विशिष्टतालाई मात्रै मर्यादा र आदर गर्छ । यो स्वाभाविक पनि हो । व्यक्तिले प्राप्त गरेको योग्यता, ज्ञान, अनुभव तथा विशिष्टताले समाज जुन अनुपातमा लाभान्वित भएको अनुभूति गर्छ त्यही अनुपातमा आदर, सम्मान र मर्यादा दिन्छ । विद्यावारिधि गर्ने विद्वान उत्पादन गर्न ठूलो लगानी गर्नुपर्छ । जति धेरै लगानी हुन्छ त्यस लगानीबाट त्यति नै बढी लाभको अपेक्षा हुन्छ । योग्यताको दृष्टिकोणले विशिष्ट योग्यता प्राप्त गर्नेहरूले राष्ट्र, समाजलाई विशिष्ट योगदान गरेको अनुभूति समाज र देशले गरेन भने त्यस्तो लगानी व्यर्थ मानिन्छ । विद्यावारिधिका लागि देश र समाजले गरेको लगानीबाट देश र समाज लाभान्वित यदि भएन भने ती विद्यावारिधि र तिनीहरूमा भएको सम्पूर्ण लगानी राज्यका लागि हानी हो ।
राज्यले विद्यावारिधिमा गरेको लगानीबाट राज्यका विविध समस्या समाधान गर्ने विषयमा उनीहरूको अनुसन्धानले ठोस योगदान दिन सकेन भने त्यो लगानीले देशमा, समाजमा असन्तुष्टि र कुण्ठा उत्पन्न हुन्छ । शिक्षाको जुनसुकै तहमा भएको लगानीले देश र समाजले गुणस्तरीय जनशक्ति उत्पादन गर्ने अपेक्षा संसारका सबै सरकारले र नागरिकले राखेका हुन्छन् । विद्वानहरूले प्राप्त गरेको शैक्षिक योग्यता र ज्ञानको, गुणको र योगदानको मूल्यांकन, विश्लेषण समीक्षा, आलोचना, समालोचना, चर्चा, छलफलजस्ता विषय सबै देशहरूमा र समाजमा हुन्छ । हिजो कम शिक्षा प्राप्त गर्नेहरूले सम्पादन गर्दै आएको जिम्मेवारीमा विशिष्ट योग्यता हुने अर्थात विद्यावारिधिजस्तो विशिष्ट ज्ञान प्राप्त गरेको व्यक्तिले विशिष्ट ढंगले काम सम्पन्न गर्छ भन्ने अपेक्षा, आशा र विश्वास आमनागरिक र सरकारमा हुने विषय स्वाभाविकै मान्नुपर्छ ।
त्रिभुवन विश्वविद्यालयमा विद्यावारिधिहरूको संख्यात्मक वृद्धिसँगै शिक्षाको अनुसन्धानको गुणस्तरीयता बढ्नुपर्नेमा किन खस्कियो ? शिक्षा तथा व्यवस्थापन विषयमै विद्यावारिधि गर्ने उपकुलपतिहरूको कार्यकालमै त्रिभुवन विश्वविद्यालयको शैक्षिक, व्यवस्थापकीय स्थिति र अवस्था किन भताभुंग र लथालिंग भयो ?
राज्यका पदमा रहनेहरूको मूल्यांकन र तुलना अनपढ नागरिकसमेतले गर्ने गर्छन् । हिजो स्नातक गरेका, स्नातकोत्तर गरेका जनशक्तिले भन्दा फरक शैलीमा त्यो काम सम्पन्न गरेर देश र समाजलाई लाभ र सन्तुष्टि दिने विशेष क्षमता, दक्षता यदि प्रदर्शन गर्न सक्दैन भने त्यस विद्यावारिधिको के अर्थ ? यदि फरक क्षमता, योग्यता प्रदर्शन नै गर्न नसक्ने हो भने विद्यावारिधिका लागि राज्यले, समाजले, व्यक्तिले साधन र समय किन खर्च गर्ने भन्ने प्रश्न किमार्थ असान्दर्भिक मानिँदैन । हिजो त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको हैसियतले विद्यावारिधिको उपाधि नलिएका प्राध्यापकको पगरी पनि नझुण्ड्याएका उपकुलपतिहरू उपप्राध्यापक रामचन्द्रबहादुर सिंह, महेशकुमार उपाध्याय र केदारभक्त माथेमाहरूले त्रिभुवन विश्वविद्यालयलाई जुन उचाइमा पुर्याएका थिए त्यो उचाइ र गुणस्तरीयतालाई अझ बढाउनुपर्ने समयको आवश्यकता र युगको चाहनालाई प्राध्यापक र विद्यावारिधि धारकहरूले उल्टै लथालिंग र भताभुंग पारे ।
त्यसैले कतै यी विद्यावारिधिहरूको नेतृत्व विश्वविद्यालयको गुणस्तरीयतालाई कायम राख्न असफल हुँदा यिनीहरूको प्राध्यापकको पद र विद्यावारिधिको डिग्रीमा समेत आशंका उत्पन्न हुने अवस्थाले सम्पूर्ण प्राध्यापक पदधारीहरू र विद्यावारिधि गर्नेहरूको एकमुष्ट तेजोबध गरेको छ । समयक्रममा सबै क्षेत्रहरूले गुणस्तरीयतालाई अभिवृद्धि गर्नुपर्छ । गुणस्तरीयताको अभिवृद्धि समयको माग हो । युगको चाहाना र चुनौती हो । त्यो चुनौतीको डटेर सामाना गर्ने प्रशासन, प्रशिक्षण र पठनपाठनमा सुधारको निरन्तरतालाई आत्मसात गर्न त्रिभुवन विश्वविद्यालयका प्रा.डा.उपकुलपतिहरू किन असफल भए ? उनीहरूको असफलताको मूल्य अहिले देश र समाजले चुकाउनु परेको छ ।
अब देश र समाजका लागि ती सबै असफल तर विद्यावारिधि गरेका उपकुलपतिहरूको के अर्थ र के औचित्य र के उपयोगिता भन्ने प्रश्न अहिले जोकोहीको मनमा उब्जने परिस्थितिले सबै विद्यावारिधि गर्नेहरूको योग्यता, कार्यक्षमता र अनुसन्धानका विषयमा प्रश्न उठेको छ । यसको जवाफ विद्यावारिधि गर्नेहरूले राजनीति गर्नेहरूले झैँ फ्याङ्ला भाषणले दिने छुट हुँदैन । उनीहरूले अध्ययनको, अनुभवको, कार्यक्षमताको आधारमा कामबाट परिणाम दिनसक्नुपर्छ । त्यो परिणाम दिन अहिलेसम्मका त्रिभुवन विश्वविद्यालयमा नियुक्त भएका प्राध्यापकको पद झुण्डिएका र विद्यावारिधि गरेका उपकुलपतिहरूले सकेनन् भन्ने कुरा विश्वविद्यालयको खस्केको गुणस्तर र विश्वविद्यालयभित्र मडारिएको अराजकता, हड्ताल र राजनीतिक खिचातानीले प्रमाणित नै गरेका विषयहरू हुन् ।
त्रिभुवन विश्वविद्यालयमा विद्यावारिधिहरूको संख्यात्मक वृद्धिसँगै शिक्षाको अनुसन्धानको गुणस्तरीयता बढ्नुपर्नेमा किन खस्कियो ? शिक्षा तथा व्यवस्थापन विषयमै विद्यावारिधि गर्ने उपकुलपतिहरूको कार्यकालमै त्रिभुवन विश्वविद्यालयको शैक्षिक, व्यवस्थापकीय स्थिति र अवस्था किन भताभुंग र लथालिंग भयो ? देशको प्रगति, उन्नतिको मियो त्रिभुवन विश्वविद्यालय हो । समसामयिक चुनौतीहरूलाई सामना गर्ने र व्यवस्थित गर्ने क्षमता र योग्यता विद्यावारिधि गर्नेहरूबाट हुनसक्छ भन्ने विश्वव्यापी मान्यता किन र कसरी हाम्रो विश्वविद्यालयमा असफल प्रमाणित भयो ? असफलताका कारणहरू खोज्ने जिम्मेवारी पनि फेरि विद्यावारिधि गर्नेहरूको नै हो ।
यसरी विद्यावारिधिजस्तो योग्यतामा प्रश्नचिहृन लाग्नु देशकै दुर्भाग्य हो । सानु संख्यामा अवैध शोधपत्र र डिग्रीधारीहरूले समग्र विद्यावारिधि योग्यता हुनेहरूप्रति आशंका उत्पन्न गर्ने अवस्थाको निवारण गर्ने काम सरकारले अविलम्ब गर्नुपर्छ । विद्यावारिधि विश्वविद्यालयहरूको व्यवस्थापकीय जिम्मेवारीमा असफल हुने अवस्थाले जनमानसले सबै विद्यावारिधि धारकको योग्यता र क्षमताप्रति आशंका गर्नु स्वाभाविक मानिन्छ । विद्यावारिधि गर्नेहरूलाई देशले ठूलाठूला पदको जिम्मेवारी दियो तर विद्यावारिधि गर्नेहरूले जिम्मेवारी लिएका प्रायः सबै ठाउँमा उनीहरूले जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न नसक्दा सबै क्षेत्र लथालिंग भए । अहिले आम नागरिकको मात्रै होइन बुद्धिजीवीहरूको एउटा प्रश्न छ विद्यावारिधि गर्नेलाई देशले सम्मान स्वरूप ठूलाठूला पदहरूको जिम्मेवारी दियो तर उनीहरूले देशलाई र जनतालाई के दिए ? (अष्ट्रेलियाको मेलबर्न शहरबाट)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच