पुलको काम थालिएपछि काछवासी खुसी

रासस
Read Time = 7 mins

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका स्थित चुरे काछका बासिन्दा पुल बन्ने आशामा खुसी भएका छन् । बर्दिबास–४ काछकै वरडाँडा बस्तीका श्याम थिङ भन्नुहुन्छ, “हेर्नोस् न, अहिले जङ्घाखोलामा पुल बन्न थालेपछि खोला वारिपारिका काछवासीलाई के–के न हुँदैछ भन्ने परेको छ । मान्छे खुसी हुन धेरै ठूलो काम चाहिने होइनरहेछ, मनले चिताएको कुरा भए पुग्यो ।”

चुरे शृङ्खलाको काछैकाछको आउजाउमा जङ्घाखोलाले दिएको दुःख सम्झँदै यहाँका बासिन्दा पुल निर्माण सम्पन्न भएपछि बर्दिबासचोक, बजार आवत जावत गर्न सजिलो हुने बताउँछन् । “बर्खे भेलको मात्रै कुरा होइन, वारिपारि गर्न करकरे बालुले नै डेग रोक्छ”, बर्दिबास–४ वरडाँडा सिरानबस्तीकी मनमाया तामाङ भन्नुहुन्छ, “खै पुल बन्ने भनेर काम थालेका देख्छम्, अब हाटबजार, ओल्लोपल्लो गाउँ आउजाउ निकै सजिलो हुनेभयो ।” गर्मीयाममा खोेलाको भासिने तातो बालु छिचोल्न पर्ने दुःखका दिन पनि भेल पछिपछिको सास्ती रहेको उहाँको भनाइ छ ।

बर्दिबासका चुरे काछवासीको हाटबजार बर्दिबास, सर्लाहीको लालबन्दी र धनुषाको ढल्केवर रहँदै आएको छ । खासगरी तरकारीखेती गर्ने यहाँका किसान कृषि उपजको थोक किनबेच हुने हुँदा ढल्केबर र लालबन्दी बाक्लै पुग्छन् । हिउँदमा भासिने बालुमा कसैगरी ठेलठाल पारेर मोटरसाइकल र साना भ्यान निकालिए पनि बर्खाभरि भने वारिपारि गर्न पैदल पाँच मिनेट लाग्ने ठाउँमा १० किलोमिटर छिचोल्नुपर्ने दिक्दारी व्यहोर्दै आइएको बर्दिबास–४ र ५ का काछवासी बताउँछन् ।

पुल बन्न थालेको जङ्घाखोलाको यो ठाउँ बर्दिबास–४ र ५ को निकट भए पनि बर्दिबास–११, १० खयरमाराका १० भन्दा बढी बस्ती, बर्दिबास–३ का चार–पाँच र वडा नं १ को सिरान बस्तीका बासिन्दाको बाक्लो आउजाउको अत्यन्त चल्तीको सडकमा पर्छ । बर्खामा ओल्लोपल्लो बस्ती आउजाउ गर्नुपर्ने जरुरी पर्दा पूर्वपश्चिम राजमार्ग पुगेर फेरि सिरान उक्लनुपर्ने स्थिति पुल बनेपछि हट्ने बर्दिबास–५ चेरुका सामाजिक कार्यकर्ता भवानी पोखरेल बताउनुहुन्छ ।

काछवासीको हाटबजार पुग्न, ओल्लोपल्लो बस्ती आउजाउ सहज हुन पुल अब वरदान हुने यहाँका बासिन्दाको सपना छ । “हाम्रो वर्षौँको सपना अब पूरा हुने भयो”, पुल निर्माणको काम थालिदा दङ्ग पर्नुभएकी बर्दिबास–४ नयाँटोलकी तारा मोक्तान भन्नुहुन्छ, “अब पुल बनेपछि वारिपारिका आफन्त प्रत्येक दुःखसुखमा सजिलै सामेल हुन सक्नेछन् ।” विगतमा पाँच–सात मिनेटको दूरीका जङ्घा वारिपारिका बस्तीमा मरनहरन पर्दा बर्खेभेलले छेकेर ठिक समयमा सामेल हुन नसकेको अवस्था पुल बनेपछि हट्ने उहाँको भनाइ छ ।

गत शनिबार पूर्वमन्त्री तथा नेकपा ९माओवादी केन्द्र०का उपमहासचिव गिरिराजमणि पोखरेलले शिलान्यास गर्नु भएसँगै पुल निर्माणको काममा सम्बद्ध निर्माण कम्पनीका कामदार निरन्तर लागेपछि यो निर्माण निश्चित समयमै सकिने चुरे काछवासीले आश सँगालेका छन् ।सरकारको रु १४ करोड ५९ लाख विनियोजित बजेटमा निर्माण थालिएको पुलको काम ठेक्का बन्दोबस्तबाट मेरना कन्स्ट्रक्सनले गर्दैछ । काम थालिएको एक वर्षभित्र निर्माण सम्पन्न गरिने शर्तअनुसार नै काम हुने निर्माण कम्पनीले जनाएको छ ।

पुल निर्माणले कृषि उपज हाटबजार पुर्याउन काछवासीलाई सहज हुनेछ । यसैगरी ओल्लोपल्लो बस्तीबीच जस्तोसुकै भेलमा पनि आउजाउ खुल्ने बर्दिबास–५ चेरुकी सविना थापा बताउनुहुन्छ । पुल बनेपछि वारिपारिका नानीहरूको विद्यालय आउजाउ पनि सजिलो हुँदा पायक विद्यालय पढ्ने थप अवसर बन्ने थापाको भनाइ छ ।

“पुल निर्माण थालिदा एकैचोटी कैयौँ कुराले नयाँ आश जगायो”, बर्दिबास–४ माईस्थानको माथ्लो भब्सीका रामजी पौडेल भन्नुहुन्छ, “हाटबजारको सुगमता, दुःखसुखमा सामेल हुन सहजता र नानीहरूको विद्यालय आउजाउमा अहिलेको डर हट्ने भयो ।” पुलले वन्यजन्तुबाट हुने आक्रमण र तिनको आवागमन पनि सुरक्षित बनाउने काछवासी बताउँछन् ।

पुल निर्माणसँगै चुरेकाछ र राजमार्ग मास्तिरका करिब २५ हजार सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने माओवादी केन्द्रका उपमहासचिव पोखरेलको विश्वास छ । निर्माणकार्य स्टिमेटअनुसार गुणस्तरीय र निश्चित समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई झकझक्याइने र आवश्यक सामाजिक सहयोग गरिने स्थानीय मोहनबहादुर कार्कीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?