बिहानी बिकले पाए यो वर्षको ‘मनास्लु म्युजिक अवार्ड’मा उत्कृष्ट गायकको अवार्ड

सातौ मनास्लु राष्ट्रिय सांस्कृतिक कार्यक्रममा गायक बिकलाई अवार्ड प्रदान गरिदैँ । तस्बिरः मान बहादुर विश्वकर्मा/हिटा

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 11 mins

कालीकोट । गायक तथा बरिष्ठ संगीतकार बिहानी बिकले यस वर्षको ऐतिहासिक मनास्लु अन्तराष्ट्रिय आइकन अर्वाड प्राप्त गर्नुभएको छ ।

कालीकोट जन्मघर भएका गायक बिकलाई काठमाडौंमा रहेको मनास्लु मिडिया प्रालि लिमिटेडले यो वर्षको उत्कृष्ट गायन तर्फको म्युजिक अवार्ड बिकलाई प्रदान गरेको हो ।

विगत लामो समयदेखि काठमाडौंलाई कर्म थलो बनाउँदै गायन पेसालाई अँगालेका बिकले नेपाली गीत संगीत तथा गायन क्षेत्रमा मनास्लु मिडियामा पुर्याएको योगदानलाई उच्च मूल्यांकन गर्दै यो वर्षको उत्कृष्ट गायन तर्फको म्युजिक अवार्ड गायक बिकलाई प्रदान गरिएको मनास्लु मिडिया प्रालिका अध्यक्ष मनबहादुर पुनले बताउनुभयो ।

गायन क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाएका बिकले यो वर्ष मात्रै फिल्म क्षेत्रमा ५ वटा उत्कृष्ट आधुनिक संगीत गरेको भन्दै ग्रेट नटराज फिल्मस प्रालि लिमिटेडले पनि स्टार म्युजिक अवार्ड २०२४ प्रदान गरेको थियो ।

को हुन् बिहानी बिक ?

कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका-१ को कोइरेल गाउँमा जन्मिएका हुन्, जनकलाकार बिहानी बिक । विपन्न दलित परिवारमा गरीबी, अभाव र अशिक्षाको अन्धकारलाई चिर्दै वर्ग संघर्षको भट्टीमा खारिएका मनबहादुर विश्वकर्मा अर्थात बिहानी बिक गीत, संगीत र सिर्जनाका त्रिवेणी हुनुहुन्छ । २०४२ साल असार ७ गते आमा कौशी लुवार र बुवा कर्णबहादुर लुवारको जेष्ठ सुपुत्रका रुपमा जन्मिएका बिहानीले ६ वर्षे बाल्यकालदेखि नै गीत, संगीतमा अनौपचारिक सहभागी हुँदै आफ्नो जीवनलाई संगीत क्षेत्रमा समर्पण गर्दै आउनुभएको छ ।

२०४६ सालको जनआन्दोलनको प्रभावले तातिएको कालीकोट उत्पीडन र पिछडौपनका विरुद्ध २०५२ मा सञ्चालित जनयुद्धले सघन प्रभावित भयो । उहाँ जातीय उत्पीडन मात्र नभई मानव जातिकै मुक्तिको स्वर्णिम सपना सजाउँदै २०५६ माघमा पूर्णकालीन भै बाल छापामारको रुपमा शसस्त्र युद्धमा सहभागी हुुनुभयो । विद्यालयमा पुस्तक बोकेर हिँड्ने कलिलो उमेरमा एक हातमा बन्दुक र अर्को हातमा गिटार बोकेर जुम्ला, कालीकोटका बस्तीहरुमा जागरणका गीत गाउँदै, नाच्दै र लेख्दै जनकलाकार रक्तिम बिहानीको सांगीतिक जीवनमा निखार आएको हो ।

उहाँको परिवारमा पाँच भाई, दुई बहिनीमध्ये साइलो र काइलो भाई बितिसक्नु भएको छ भने माईला भाई नरेन्द्र बिक, कान्छा भाई दीर्घ बिक, बैनि फुटौरा र तारा बिक परिवारका सदस्यमा छन् ।

उहाँ जनयुद्धको एक कुशल जनकलाकार प्रगति हिङमाङसँग विवाह बन्धनमा बाँधिनुभयो । उहाँका एक छोरा, दुई छोरी छन् । छोरी सदिक्षा बिक कक्षा सात र छोरा विपीनुर कक्षा १ मा अध्ययनरत छन् । हाल रक्तिम विहानीको परिवार संघिय राजधानीमा बसोबास गर्छन् ।

सांगीतिक यात्रा

गीत, संगीत सिर्जना एवम् गायनमा सक्रिय जनकालकार रक्तिम विहानी बाल्यकालमा हुड्के, देउडा, ठाडीभाकाजस्ता लोकसंगितबाट प्रभावित भएका हुन् भने उहाँको सांगीतिक क्षमताले जनयुद्धको आँधीवेहरीमा नै प्रष्फुटित हुने अवसर प्राप्त गर्यो ।

२०५६ मा जनयुद्धमा सहभागी भएपछि काञ्जिरोवा साँस्कृतिक परिवारमा उहाँ बाद्यवादक, गायक र नृत्यकारको भूमिका निर्वाह गर्नुभयाे । एक जनकलाकारका रुपमा जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, सुर्खेत, बाँके, बर्दिया, अछाम, रुकुम, रोल्पा, सल्यानमा साँस्कृतिक अभियान लिएर जनचेतना अभिवृद्धि गर्दै निरन्तर यात्रा जारी राख्नुभयो ।

जनयुद्धको अवधिमा २०० भन्दा बढी जनपक्षीय गीतहरु लेख्नुका साथै झन्डै ३०० गीतमा संगीत भर्नुभयो । समयको फेरवदलसँगै शान्तिप्रक्रिया पछि मात्र गीतको रेकर्डिङ् तथा भिडियो निर्माणको सुविधा प्राप्त भयो । हाल जनकलाकार बिहानीका सिर्जना, संगीत र गायन रहेका झन्डै २०० भन्दा बढी गीतहरुले चर्चा कमाई रहेका छन् ।

जनकालकार विहानीले काँडेतार, भाग्यको खेल, यो कस्तो माया जस्ता चलचित्र, ए हो र ?, दिमाग खराब टेलिश्रृंखलामा पनि संगीत गर्नुभएकाे छ । उहाँका दुनियाँ, उषा, क्षितिज, म अधुरो, परेली, मन, गणतन्त्र नामक एल्वमहरु पनि प्रकाशित भएका छन् । १६० भन्दा बढी पूर्वेली, देउडा, लोकगीत तथा आधुनिक गीतहरुको एरेन्ज संयोजनको काम पनि बिहानी गर्नुभएकाे छ ।

सम्मान र दर्जनौं अवार्ड

कलाकार बिहानी बिक समाज रुपान्तरण र परिवर्तनको पक्षमा गीत, संगीत एवम् गायनमा क्रियाशील हुनुहुन्छ । उहाँका सिर्जनाले वर्गीय तथा जातीय मुक्ति मात्र होइन मानव जातिको पक्षमा आवाज मुखरित गरेका छन् । उहाँको सांगितिक क्षेत्रको योगदानको कदर गर्दै विभिन्न संघ संस्थाले उहाँलाई सम्मानित तथा पुरस्कृत गरेका छन् ।

लोकदोहोरी प्रतिष्ठान कदर पत्र २०७०, उत्कृष्ट गीति पुरस्कार नेपाल सरकार राष्ट्रिय नाचघर ०७१, सर्बजित भगत अन्तराष्ट्रिय पुरस्कार ०७२/०७३, नेपाल सरकार रेडियो नेपाल कदर पत्र २०७२, सामुहिक गायन तर्फ २०१८ मा गिनिज बुकमा नाम लेख्न सफल, गणतान्त्रिक सम्मान २०७५ ले सम्मानित भएका बिहानी उत्कृष्ट देउडा गीत नेसनल पावर न्युज अवार्ड २०१८, ईच्छुक साँस्कृतिक सम्मान २०७६, लुम्बिनी भूमिमेकर फिलिम्स प्रा.लि.सम्मान २०७८, सर्बोत्कृष्ट गीतकार छैटौं मनास्लु राष्टिय अवार्ड, सर्बोत्कृष्ट गीतकार तर्फ दोश्रो ग्रेट नटराज राष्टिय म्यूजिक अवार्ड २०७९ बाट पनि सम्मानित भइसक्नुभएको छ ।

भेटिदैनन् मेला र महोत्सवमा

गायन क्षेत्रमा समय दिएको थुप्रै वर्ष भइँसक्दा पनि कलाकार बिहानी बिक भने कुनै पनि मेला र महोत्सवमा भेटिनुहुँदैन । विभिन्न गीतमा स्वर दिएका बिकका गीत संगीत सुन्ने हो भने जस्को पनि मन छुने गर्छ । तर उहाँ मेला महोत्समा भने कहिल्यै भेटिनुहुँदैन् ।

अहिले सामाजिक सञ्जालको बढ्दो प्रयोग र भाइरल हुने होडबाजीले नयाँ पुस्ताका कलाकार भाइरल हुने क्रम पनि बढदो छ । सोहीँ कारणले पनि चर्चित बनेका गायक तथा कलाकार भाइरल छैनन् । समयको माग र प्रविधिले रोजेका मनपर्ने कलाकार भन्दा दर्शकले रुचाएका गायकलाई अहिले भेटाउन मुस्किल पर्छ ।

दर्शकले चाहेर पनि हराउँदै गएका र गुपचुप बनेका कलाकार कुनै पनि मेला र महोत्सवमा नभेटिने हो भने नेपाली गीत संगीतमा आाफ्नो अमूल्य योगदान दिएका कलाकार अबको समयपछि भेटिन मुस्किल पर्ने देखिन्छ । उहाँ भन्नुहुन्छ, 'विगतदेखि नेपाली गीत/संगीतमा हजारौं गीत संगीतमा स्वर दिएको छु । आफ्नो अवस्था र परिस्थितिका कारणले पनि होला दर्शकले मेरा गीत/संगीततहरु रुचाउँछन् तिनै गीतहरुको भिडियो गर्ने आर्थिक अवस्था पनि नभएका कारण होला । गीत भाइरल छैनन् तर चर्चित छन् दर्शकले मन पराउँछन् । त्यो बेला अहिले जस्तो सामाजिक सञ्जालमा इन्टरभ्यू दिएर एकरातमा युटूवमा भूज कमाएर भाइरल हुने कलाकार हुने भएको भए हाम्रो माग जस्तोसुकै ठाउँमा पनि हुन्थ्यो होला । मेला महोत्सवमा बोलाउथे होला । मैले त्यो समय पार गरेर आइसके त्यसैले पनि होला दर्जनौ गीत गाएर पनि हराउनु परेको छ ।'

उहाँ भन्नुहुन्छ, 'आफ्नै ठाउँमा भएका विभिन्न कार्यक्रम र मेला महोत्सवमा समेत स्थानीय कलाकारलाई बोलाउँदैनन् । अहिले दुईदिन भित्र चलेका कलाकार ल्याएर तीनदिन भित्र हराउने कलाकार ल्याउँछन् । स्थान दिदैनन् । त्यो कारणले पनि हामिजस्ता गायक र कलाकार आझेँलमा पर्नुपरेको छ ।' यी र यस्तै कारणले पनि आफू मेला महोत्सव र कुनैपनि कार्यक्रममा सहभागी नभएको बिकको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?