काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि नेदरल्याण्ड्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हजारौँ दर्शकलाई निःशब्द बनाउँदै नेदरल्याण्ड्सले चार विकेटको रोमाञ्चक जित निकाल्यो । नेपालले प्रस्तुत गरेको १८५ रनको लक्ष्य नेदरल्याण्ड्सले १९ दशमलब तीन ओभरमा छ विकेटको क्षतिमा पूरा गर्यो ।
नेदरल्याण्ड्सको जितमा माइकल लेभिटले अर्धशतकीय पारी खेल्नुभयो । विस्फोटक ब्याटिङ गर्नुभएका उहाँले २९ बलमा तीन छक्का र छ चौकाको सहयोगमा ५४ रन बनाउनुभयो । म्याक्स ओ डाउडले २३ बलमा एक छक्का र दुई चौकाको सहयोगमा २२ रन बनाउनुभयो ।
उत्कृष्ट सुरुवात गरेको नेदरल्याण्ड्सका लागि ओपनरद्वय लेभिट र ओ डाउडले पहिलो विकेटका लागि ८३ रनको साझेदारी गर्नुभयो । नवौँ ओभरमा बलिङका लागि आउनुभएका कुशल मल्लले आफ्नो पहिलो ओभरमा दुई विकेट लिँदै नेपाललाई राहत दिलाउनुभए पनि त्यो जितका लागि पर्याप्त भएन ।
उहाँले नवौँ ओभरको पहिलो बलमा म्याक्स ओ डाउडलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराउनुभयो भने सोही ओभरको पाँचौँ बलमा माइकल लेभिटलाई कप्तान रोहित पौडेलबाट क्याच आउट गराउँदै पवेलियन फर्काउनुभयो ।
नेदरल्याण्ड्सले १३४ रन छँदा तेस्रो विकेटका रूपमा विक्रमजित सिंहलाई गुमायो । सिंहले २३ बलमा तीन छक्कासहित २९ रन बनाउनुभयो । साथै १४१ रन छँदा नेदरल्याण्ड्सले कप्तान स्कट एडवार्डलाई गुमायो । एडवार्डले जम्मा दुई रन बनाउनुभयो ।
नेदरल्याण्ड्सले १६६ रन बनाउँदा पाँचौँ विकेटका रूपमा साइब्राण्ड एंगलब्रेक्टलाई गुमायो । एंगलब्रेक्टले २९ बलमा तीन छक्का र चार चौकाको सहयोगमा ४८ रनको योगदान दिनुभयो । साथै छैटौँ विकेटका रूपमा १७३ रन छँदा तेजा निदामानुरु दुई रनमा आउट हुनुभयो ।
नेदरल्याण्ड्सको जितमा बलर टिम भान डेर गुग्टेनले पाँच बलमा दुई छक्का र दुई चौकाको सहयोगमा २१ रनको योगदान दिनुभयो भने रोलफ भान डर पर्वले दुई रन बनाउनुभयो । यी दुवै खेलाडी अविजित रहनुभयो । नेदरल्याण्ड्सका लागि ५४ रन र दुई विकेट लिनुभएका लेभिट प्लेयर अफ दी म्याच घोषित हुनुभयो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । नेपालका लागि ओपनर आशिफ सेखले ३७ बलमा तीन छक्का र एक चौकाको सहयोगमा ४७ रनको योगदान दिनुभयो भने अर्का ओपनर कुशल भुर्तेलले २० रन बनाउनुभयो । कप्तान रोहित पौडेलले २५ बनाउनुभयो भने गुलशन झाले ३४ रनको योगदान दिनुभयो ।
दीपेन्द्रसिंह ऐरी एक रनमा आउट हुँदा कुशल मल्लले ११ बलमा तीन छक्काको सहयोगमा २६ रन बनाउनुभयो । साथै करण केसीले नौ रन बनाउँदा आरिफ शेखले खाता खोल्न सक्नुभएन । पुछारका ब्याटरद्वय सोमपाल कामी र प्रतिश जिसीले समान छ/छ रन बनाउनुभयो ।
नेदरल्याण्ड्सका लागि फ्रेड काल्सेन, टिम भान डेर गुग्टेन, माइकल लेभिट र साइब्राण्ड एंगलब्रेक्टले समान दुई/दुई विकेट लिनुभयो ।
नेदरल्याण्ड्स पाँच अंकका साथ तालिकाको शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने नेपाल चार अंकका साथ फाइनलमा प्रवेश गरेको हो । चार खेलमा एक जित, दुई हार र एक ड्र गरी तीन अंक जोडेको नामिबिया तालिकाको पुछारमा रहृयो । विजेता नेदरल्याण्ड्सलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ट्रफी प्रदान गर्नुभयो ।
‘दबाब थेग्न सकेनौँ’
पराजित भएपछि नेपालका कप्तान र प्रशिक्षकले दबाबमा खेल्न चुक्दाको परिणाम भएको प्रतिक्रिया दिनुभएको छ । खेलपछि पत्रकारसँग कुरा गर्दै कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय सामूहिक भएको बताउनुभयो । ‘टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय सामूहिक थियो,’ उहाँले भन्नुभयो, ‘पहिलो पारीमा विकेट राम्रो देखिएको थियो भने दोस्रो पारीमा विकेट ‘स्लो’ थियो ।’
कप्तान पौडेलले सुरुवात राम्रो भए पनि योजनाअनुसार ‘फिनिसिङ’ गर्नबाट चुकेको बताउनुभयो । ‘जुन तरिकाले हामीले सुरुवात पाएका थियौँ, त्यसअनुसार दुई सय रन बनाउने योजना थियो तर हामीले १०/१५ रन कम बनायौँ,’ उहाँले भन्नुभयो, ‘मध्यम ओभरमा रनको गति कम भयो भने विकेट पतन पनि चाँडो भयो ।’
प्रशिक्षक मोन्टी देसाईले प्रतियोगिताले आगामी दिनमा योजना कार्यान्वयन गर्नका लागि धेरै कुरा सिकाएको बताउनुभयो । ‘नेदरल्याण्ड्स पनि ठूला टोलीलाई हराएको टिम हो, हामीले दबाबमा राम्रो प्रदर्शन गर्नबाट चुक्यौँ,’ उहाँले भन्नुभयो, ‘यसअघि पनि धेरै ‘क्लोज गेम’हरू खेलेका छौँ । प्रतियोगिताले विश्वकपको तयारीका लागि फाइदा पुगेको छ ।’
उहाँले यही मार्च ९ देखि सुरु हुने हङकङविरुद्धको खेल ‘बेञ्च’ बलियो बनाउनका लागि सहयोगी हुने बताउनुभयो । ‘विश्वकपको तयारीका लागि अहिले धेरै प्रयोग भइरहेका छन् । यसले हामीलाई आगामी दिनमा राम्रो नतिजा दिन सहयोग पु¥याउनेछ,’ उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच