काठमाडौं । पाशुपत क्षेत्रमा महाशिवरात्रिको चहलपहल सुरु भएको छ । महाशिवरात्रि आउन एकदिन मात्र बाँकी छँदा पाशुपत क्षेत्रमा भारत तथा नेपालका विभिन्न ठाउँबाट आएका जोगी र साधुसन्तहरूले अखडा जमाएका छन् । यस वर्षको महाशिवरात्रि शुक्रबार (भोलि) रहेको छ । यस वर्षको महाशिवरात्रि पर्व भव्य रूपमा मनाउने तयारी पशुपति क्षेत्र विकास कोषले गरेको छ । यसका लागि विभिन्न तयारी समिति तथा उपसमिति गठन गरेको कोषले जनाएको छ । यसवर्ष पशुपतिनाथमा साढे तीन हजारभन्दा बढी साधुसन्त आउने अनुमान कोषको छ ।
उनीहरूका लागि धुनी, भोजन र बाटो खर्चका लागि पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष बजेट छुट्याउँदै आएको छ । पशुपतिनाथ दर्शनार्थ महाशिवरात्रिका दिन ठूलो संख्यामा आउने भक्तजनको सहजताका लागि कोषले विभिन्न स्थानबाट मन्दिरसम्मको लाइनको प्रबन्ध मिलाउँदै गरेको कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार महाशिवरात्रि पर्व २०८० का अवसरमा प्रचारप्रसार, भोजन तथा भौतिक पूर्वाधार व्यवस्था उपसमितिले भक्तजनका लागि निःशुल्क भोजनको जिम्मा लिइएको छ । यसैगरी, महाशिवरात्रिको समयमा पशुपति क्षेत्रमा निःशुल्क भोजन गराउनेहरूले फोहोर व्यवस्थापन सहितका सामग्री ल्याउनुपर्ने भनिएको छ ।
पशुपति विकास कोष महाशिवरात्रि पर्व व्यवस्था मूल समिति २०८० ले एक कार्यक्रम आयोजना गरी यस वर्षको महाशिवरात्रि पर्वलाई भव्य बनाउने जनाएको छ । यसका लागि सबै क्षेत्र, तह, तप्काबाट सहयोग गर्नसमेत महाशिवरात्रि पर्व व्यवस्था मूल समितिले आग्रह गरेको छ । शिवरात्रिका लागि पशुपति क्षेत्रमा रङरोगन, सरसफाइ तथा स्वागतद्वार निर्माणकार्य सुरु गरिएको पशुपति विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । पशुपतिको मूल गेटसहितका अन्य स्वागतद्वारहरूलाई सजावट गरिएको छ भने आज (बिहीबार)देखि पशुपतिनाथको भित्रपट्टि रहेका तीन गेट तथा बाहिर निर्माण गरिएका पाँचवटा गेटलाई फूलले सजाइने प्रवक्ता अधिकारीले जानकारी गराउनुभयो ।
यस वर्ष पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनको स्वागतका लागि पिंगलास्थान, गौशला, जयबागेश्वरी, उमाकुण्ड तथा तिलगंगा क्षेत्रमा स्वागतद्वार निर्माण गरिएको कोषले जनाएको छ ।
पर्वलाई व्यवस्थित बनाउन सुरक्षाका जनशक्ति परिचालन
महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोष परिसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाका जनशक्ति परिचालन गरी व्यवस्थित गर्ने तयारी गरेको कोषका सदस्यसचिव खत्रीले जानकारी गराउनुभयो ।
महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरी मूल शिविर रहनेछ भने सशस्त्र प्रहरी बलको नेपाल सुरक्षा कमाण्ड पोष्ट पशुपति क्षेत्र नासल चोकमा रहनेछ । मूल शिविरसँगै कमाण्ड पोष्टअन्तर्गत ‘सब-कमाण्ड’ पोष्टहरू खडा गरी समग्र पशुपति क्षेत्रको महाशिवरात्रि पर्वमेला त्रुटिरहित सुरक्षा प्रणाली अपनाइने जनाइएको छ ।
पशुपतिनाथ मन्दिरनजिकै कोर क्षेत्रमा चिकित्सक, नर्स, औषधि र बेडसहितको नेपाली सेनाको मूल स्वास्थ्य शिविर रहनेछ भने सशस्त्र प्रहरी, नेपाल प्रहरीका गरी करिब ५० वटा स्वास्थ्य शिविर रहने कोषले जनाएको छ । आपत्कालीन अवस्थाका लागि एम्बुलेन्स र आगो नियन्त्रक साधन उपलब्ध हुने कोषले जनाइएको छ ।
यस्तै, जुत्ता चप्पल व्यवस्थापन एवं दर्शन लाइनलाई पायक बनाएर भुवनेश्वरीमा दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शनमार्ग, भुवनेश्वरी नजिक शंकराचार्य मठ पछाडि, बज्रघर दक्षिणतर्फ, राममन्दिर नजिक बागमतीपारि गरी पाँच ठाउँमा व्यवस्थापन गरिने कोषले जनाएको छ । यस्तै, चन्दन वितरण दर्शन गरेर निस्किने कोर क्षेत्रभित्र, जयबागेश्वरी, ब्रजघर अगाडि दक्षिण ढोका र तिलगंगामा समेत रहनेछ । पशुपतिनाथको दर्शनका लागि यसपटक नौवटा ¥याम्प (बाटो)को व्यवस्था गरिएको सदस्यसचिव खत्रीले जानकारी गराउनुभयो । उहाँका अनुसार उत्तरपट्टि तीनवटा, पूर्वपट्टि दुईवटा, दक्षिणपट्टि दुई तथा पश्चिमपट्टि दुईवटा ¥याम्पको व्यवस्था गरिएको छ ।
पार्किङ तथा ट्राफिक व्यवस्थापन
पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि तिलगंगा करिडोरको उपलब्ध ठाउँ, पशुपति क्षेत्र विकास कोषको कार्यालय, प्रहरी वृत्त ट्राफिक प्रहरी विभाग गौशाला, सिफल चौरहाको उपलब्ध ठाउँ, गुहृयेश्वरीपारि गरी पाँच स्थानमा व्यवस्थापन गरिएको विकास कोषले जनाएको छ ।
विमानस्थल, गौशाला, चाबहिलको रिङरोडमा यात्रुको चापलाई ध्यानमा राखी सडकको आधा भागमा सार्वजनिक सवारी गुड्न दिने र आवश्यकतानुसार डाइभर्सनको समेत व्यवस्था मिलाइने जनाइएको छ । सडक छेउमा फुटपाथका कुनै पनि पसल राख्न नदिइने कोषले जनाएको छ ।
कोषले मन्दिर परिसरमा मासु, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ गाँजा, भाङजस्ता पदार्थको बिक्री वितरण एवं ओसारपसार र भण्डारण तथा सेवन नगर्न आग्रह गरेको छ । कोषले यस पटकको महाशिवरात्रिमा करिब २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अपेक्षा गरेको छ ।
विशेष पासको व्यवस्था छैन
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको पूजा आराधनाका लागि पुगेका भक्तजनको व्यवस्थापनमा कुनै कमी हुन नदिने जनाएको छ । कोषले यसवर्ष कसैलाई पनि विशेष पासको व्यवस्था नगरिएको जनाएको छ । बत्तीसपुतली, मैतीदेवी, पुरानो बानेश्वरतर्फबाट आउने दर्शनार्थीका लागि गौशाला-पिंगलास्थान गेट, वनकाली हुँदै दक्षिण ढोकाबाट प्रवेशको व्यवस्था गरिएको छ ।
यसैगरी, भक्तपुर, ललितपुर, कोटेश्वर, तीनकुने, विमानस्थल, तिलगंगा क्षेत्रबाट दर्शनार्थीका लागि मन्दिरको पूर्वी ढोकाबाट प्रवेशको व्यवस्था गरिएको छ । साथै जोरपाटी, कपन, महाँकाल, चाबहिल, सिफलतर्फबाट आउने दर्शनार्थीका लागि मन्दिरको उत्तरढोका तथा रातोपुल, कालोपुल, चाबहिल, सिफलबाट आउने दर्शनार्थीका लागि मन्दिरको पश्चिमी बाहिरी सानो ढोकाबाट प्रवेश गराइने व्यवस्था मिलाइएको छ । दर्शनार्थीलाई सहज रूपमा र छिटो भगवान्को दर्शन गराउन आवश्यक सम्पूर्ण कामको व्यवस्था मिलाइएको प्रवक्ता अधिकारीले बताउनुभयो ।
महाशिवरात्रिको महत्व
महाशिवरात्रि हिन्दूको एक विशेष पर्व हो । शिवरात्रिमा श्रद्धालुहरू रातभर जागा रहेर भगवान् शिवको आराधना गर्छन्, भजन गाउँछन् । कतिपय रातभर उपवास गर्छन् । शिवलिंगलाई पानी र बेलपत्र चढाएपछि मात्र आफ्नो उपवास सम्पन्न गर्छन् । महिलाका लागि शिवरात्रिको विशेष महत्व छ । अविवाहित युवती शिवको प्रार्थना गर्छन् र असल पतिको कामना गर्छन् । विवाहित महिला आफ्ना पति र परिवारको मंगल कामना गर्छन् ।
धार्मिक मान्यताअनुसार सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात भगवान् शंकर ब्रम्हाबाट रुद्रको रूपमा अवतरण हुनुभएको थियो । प्रलयको बेलामा यसैदिन भगवान् शिवले ताण्डव नाँच्दै ब्रम्हाण्डलाई तेस्रो नेत्रबाट ज्वाला निकालेर समाप्त गर्नुभएको थियो भनिन्छ । यसैले यस दिनलाई महाशिवरात्रि वा कालरात्रि भनिन्छ ।
शिवरात्रि शिवतत्वसँग घनिष्ठ सम्बन्ध छ । भगवान् शिवको अतिप्रिय रात्रिलाई शिवरात्रि भनिन्छ । शिवरात्रिको दिन शिव आराधनाको विशेष महत्व छ । शिवजीको आराधनामा जति महत्व अभिषेकको हुन्छ, उति नै महत्व महामृत्युंजय मन्त्रको पनि । शिवजीको आराधना महामृत्यंजय मन्त्रबिना अपूर्ण हुने धार्मिक मान्यता छ ।
फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच